पोखरा । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने बताएका छन् ।
चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेसँगै शनिबार सो विमानस्थल निर्माण कम्पनीलाई कदरपत्र प्रदान गर्दै उनले भने, ‘नेपाली पर्यटन क्षेत्रको गहना पोखरा विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो, अब यो अन्तर्राष्ट्रिय पर्यटन बजारसँग सिधै जोडिएको छ, यो विमानस्थलले पोखरालाई विश्वमाझ पुर्याउने छ ।’
मन्त्री आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि अब नेपालको पर्यटन प्रवद्र्धन गर्न तथा नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउन थप टेवा पुग्ने बताए । उनले पोखराका पर्यटन व्यवसायीलाई ठूला होटल निर्माण गर्न र पर्यटन प्रवद्र्धनका प्याकेज कार्यक्रम ल्याउन पनि आग्रह समेत गरे ।
मन्त्री आलेले पोखरामा अब विश्वका पर्यटक आउने भएकाले पाँचतारे मात्र नभएर साततारेसम्मका होटल खोल्न पनि आग्रह गरे । ठूला होटल तथा क्यासिनो खोल्नका लागि पर्यटन मन्त्रालयले आवश्यक सहयोग गर्नेसमेत मन्त्री आलेले जानकारी दिए ।
पर्यटकहरूलाई आवश्यक पर्ने पूर्वाधार निर्माण गर्न पर्यटन व्यवसायीलाई आग्रह गरेका छन् । उनले पोखराको पर्यटन प्रवद्र्धनका लागि नेपाल सरकार र आफू व्यक्तिगतरूपमा पनि सधैँ तत्पर रहेको बताए ।
मन्त्री आलेले हामी यहाँबाट अन्तर्राष्ट्रिय क्षेत्रमा उडान गर्दा टनकपुर हुँदै दिल्ली जाने र फर्किँदा उक्त रुट हाम्रा जहाजले नपाउने भएकाले आफूले भारतको हैदरावादमा गएर त्यहाँका आफ्ना समकक्षी आदित्यनारायण सिन्धियासँग लिमा सिक्स टु सिक्स एकतर्फी नभइ दुइतर्फी बनाउन आग्रह गरेको जानकारी दिए ।
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले नेपालको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा ठूलो टेवा पुर्याउने बताए।
उनले भने, ‘कोरोना महामारीका कारण विश्वकै पर्यटन बजार गएको कम्तीमा तीन वर्षदेखि ठूलो मारमा परेको छ र हामी पनि महामारीको चपेटामा परेका छौँ, तर अब महामारी सकिएसँगै हिजोको घाटा पूर्ति गर्ने गरी काम गर्नुपर्छ, मुलुकको पर्यटन क्षेत्रलाई जुरुक्क उठाउनुपर्छ, त्यसका लागि म पनि लाग्छु, यहाँहरू पनि लाग्नुहोस् ।’

Leave a Reply