युक्रेन संकट देखाउँदै भारतले नेपाललाई बिजुली दिएन, प्राधिकरणलाई लोडसेडिङ टार्ने चुनौती

काठमाडौं । रुस र युक्रेनबीच जारी युद्ध प्रभाव नेपालसम्म आइपुगेको छ । छिमेकी देश भारतले युक्रेन संकटको बहानामा नेपाललाई दिने बिजुलीको अस्वभाविक मूल्य बढाएको छ ।

नेपालले भारतसँग प्रतियुनिट ४ देखि ८ रुपैयाँमा विजुली किन्ने गर्थ्यो । तर, अहिले एकैपटक २० रुपैयाँ पुर्याएको प्राधिकरणको भनाइ छ । नेपालले महंगो मूल्य तिर्न तयार भए पनि भारतले हिजो बिजुली दिएन ।

नेपालले हिजो १० रुपैयाँ भारु थपेर ९४ वटा ब्लकमा विद्युत खरिद गर्न आवेदन दिएको थियो । तर मागेका ब्लकहरु मध्ये केही थोरै ब्लक मात्रै भारतले दियो । महंगोमा खरिद गर्न खोज्दा पनि भारतले विद्युत् नदिएको नेपाल विद्युत प्राधिकरणले बताएको छ ।

भारतसँग पर्याप्त विद्युत् खरिद गर्न नसक्दा नेपालको उद्योगहरुलाई दिइने विद्युत पनि कटौती गरिएको छ । हिजो राती १२ बजेदेखि उद्योगलाई दिइएको विद्युतको लोड कम गरिएको प्राधिकरणले बताएको छ ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा ९४ वटा ब्लकबाट विद्युत आउने गरेको बताए ।

उनले भने, ‘युक्रेन र रुसको युद्धको कारण विश्व बजारमा नै हिजोबाट एक्कासी विजुलीको मूल्यवृद्धि भएको हो । हामीले प्रतियुनिट ३ भारुदेखि धेरैमा २० भारुमा विद्युत खरिद गर्ने गरेका छौं । त्योभन्दा धेरै पैसा तिरेर विद्युत किनेको छैन ।’

भोलिसम्ममा भारतसँग विद्युत खरिद हुने उनले आशा व्यक्त गरे ।

‘विहान र दिउँसो अहिले पनि केही समस्या छैन । साँझको बेला पनि उद्योगलाई आलोपालो दिएर पनि सर्वसाधरणलाई निरन्तर आपूर्ति गरिरहेका छौं,’ उनले भने ।

पिक आवरमा कुलेखानी लगायतका आयोजनाहरु पनि पूर्ण क्षमतामा सञ्चालन गरेर विद्युतको माग पुरा गर्न सकिने घिसिङको भनाइ छ ।

‘हामीले विहारबाट विद्युत खरिद गर्ने गरेका थियौं । तर हिजो मूल्य धेरै बढाइएकाले त्यहाँबाट पनि किन्न सकिएन,’ उनले भने ।

विद्युतको मूल्यमा उतारचढाव आएपनि नेपालमा उपभोक्तालाई मूल्य नबढाउने उनले बताए । प्राधिकरणले उपभोक्तालाई १० रुपैयाँमा विद्युत विक्री गर्दै आइरहेको छ ।

प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार आज १२ भारुमा विजुली किन्न आवेदन दिइएको छ । आज भारतले विजुली दियो भने उद्योगहरुलाई पुरानै लोड अनुसार वितराण गरिने उनले बताए ।

विश्व बजारमा पेट्रोलियम पदार्थ र कोइलाको मूल्यवृद्धिपछि भारतीय बजारमा बिजुलीको मूल्यवृद्धि भएको हो । तर भारु २० रुपैयाँ अर्थात नेपाली ३२ रुपैयाँ प्रतियुनिटमा बिजुली किनेर प्राधिकरणले धान्न सक्दैन ।

स्थानीय निर्वाचन नजिकिदै गएको कारणले पनि तत्कालै विद्युतको मूल्य वृद्धि गर्न सक्ने अवस्था पनि छैन । भारतबाट नेपालले करिब ४ सय मेगावाट विद्युत खरिद गरिरहेको छ ।

Comments

One response to “युक्रेन संकट देखाउँदै भारतले नेपाललाई बिजुली दिएन, प्राधिकरणलाई लोडसेडिङ टार्ने चुनौती”

  1. Shyam sundar Kuinkel Avatar
    Shyam sundar Kuinkel

    Nepal showed unmatured deplomacy about Russia Ukraine war
    Nepal must stand neutral and neither fevour of ukraine nor Russia !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *