काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले काठमाडौं महानगरपालिकाले ल्याएको नीतिलाई क्रमिक रुपमा कार्यान्वयन गर्ने चरणमा अघि बढेको र त्यसमा सफलता प्राप्त भएको बताएका छन् ।
आज वडा–२२ को वडा भवन उद्घाटन गर्ने सिलसिलामा उनले यस्तो बताएका हुन् । ‘हामी नीति, कार्यक्रम र बजेटको क्रमिक रुपमा कार्यान्वयन गर्ने चरणमा अघि बढेका छौँ र त्यसमा हामी सफल पनि भएका छौँ,’ प्रमुख शाक्यले भने, ‘कहिँ–कतै विवाद भएका ठाउँमा हामीले गर्न सकेनौँ । जहाँ अख्तियार र अदालतले रोक्ने काम भयो त्यहाँ बाहेक सबै काम सम्पन्न गर्न सफल भयौँ ।’
प्रमुख शाक्यले २०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा विजयी भएर आएपछिको पहिलो बैठकबाटै महानगरपालिकाको केन्द्रीय भवन र सबै वडा कार्यालय भवन बनाउँछौँ भनेर घोषणा गरेको स्मरण गराउँदै यो पूरा हुँदै गएको पनि बताए।
‘नगरसभाले त्यही नीति अनुसार बजेट पनि व्यवस्थापन गरेको थियो,’ शाक्यले भने, ‘महानगरपालिकाको केन्द्रीय भवन र सबै वडा कार्यालय भवन हाम्रै कार्यकालमा बनाउँछौँ भनेर हामीले सपना देखेका थियौँ । लामो समयको प्रतिक्षापछि यो वडा–२२ को भवनको निर्माण कार्य सम्पन्न भई आज उद्घाटन भएको छ । म धेरै खुशी छु ।’
उनले महानगरपालिकाको नीति अनुसार सबैतिर भवन बनाउन खोज्दाखोज्दै पनि धेरै ठाउँमा बनेको र केही ठाउँमा भने अधुरो रहेको जानकारी दिए । ‘कतिपय अवस्थामा हामीले जहाँ–जहाँ राम्रो काम गर्न खोज्छौँ त्यहाँ–त्यहाँँ काम रोक्न अदालत र अख्तियारको साहरा लिने गरेकाले समस्या भएको छ,’ उनले भने, ‘स्थानीयको अवरोध कतै छैन । स्थानीयहरु बनाउनुपर्छ भन्नेमा छन् । तर, त्यहाँ च्वास्स एउटा उजुरी हालेपछि काम रोकिन्छ ।’
उनले मेयरलाई अवरोध गर्न काम रोके पनि त्यो लामो समय नरोकिने दाबी गरे । ‘रोकेर कति दिन रोकिने हो र रु महानगरपालिका संस्था हो,’ उहाँले भन्नुभयो, ‘संस्थाले गरेका संस्थागत निर्णय रोकिए पनि केही दिन वा महिनापछि सुरु भैहाल्छन् । ढिलो होला तर काम रोकिन्न । हामी रोकिएका काम पनि अघि बढाउने गरी लागेका छौँ ।’
सम्पदा निर्माण–पुनर्निर्माणको अभियान कोकोकोलाको व्यापार होइन
प्रमुख शाक्यले मेयरले जस लिन्छ भनेर रोक्ने प्रवृत्तिका कारण समस्या भएको पनि गुनासो गरे। ‘हामी सबैसँग सहकार्य गरेर सम्पदा निर्माण–पुनर्निर्माण र विकास निर्माणका काम गर्न चाहन्छौँ,’ उनले भने, ‘म गौरवका साथ भन्छु । मेरो कार्यकालयमा सबै नीतिगत निर्णय सर्वसम्मत रुपमा भएका छन् । तर, मेयरले जस लिन्छ भनेर रोक्ने प्रवृत्तिका कारण केही ठाउँमा समस्या भएको छ ।’
उनले राम्रो काममा प्रतिस्पर्धा गर्न आग्रह पनि गरे । ‘पेप्सी, फेण्टा, कोकोकोला व्यापारीहरुले अरुको बस्तु राम्रो भनेर कहिल्यै प्रचार गर्दैन,’ उनले भने, ‘हाम्रो पनि अवस्था त्यस्तै–त्यस्तै भएको छ । यो सम्पदा निर्माण–पुनर्निर्माण र विकास निर्माणको अभियान पेप्सी, फेण्टा, कोकोकोलाको व्यापार जस्तो होइन । त्यसैले राम्रा काममा अवरोध होइन सहयोग गरौँ ।’
उनले काममा अवरोध होइन सम्पदा निर्माण–पुनर्निर्माण र विकास निर्माणका कामका योजना लिएर आउन आग्रह गरे। ‘सम्पदा निर्माण–पुनर्निर्माण र विकास निर्माणका काममा कार्यपालिका र नगरसभाका सबै बैठकमा सर्वसम्तत निर्णय गरेर अघि बढेका छौँ,’ उनले भने, ‘यद्यपि, जीर्ण बनेको दमकल भवन पुनर्निर्माण गर्ने, लगंपार्क निर्माण गर्नेलगायतका काममा अवरोध गरेकाले रोकिएका छन् ।’
प्रमुख शाक्यले वडा नम्बर २२ को भवन उद्घाटनपछि सम्वोधन गर्ने सिलसिलामा ३, ४, ९, १४, १८ र २६ ले नयाँ भवनबाट सेवाग्रहीलाई सेवा सुरु गरेको जानकारी दिए । ‘वडा–२, ६, १२, १६, २०, २१, २७ र ३१ को निर्माण कार्य भैरहेको छ,’ उहाँले भन्नुभयो, ‘५, ६, ७, १०, १५, १७, ३२ को तला थपेर सञ्चालनमा छन् ।’ वडा ८ र ११ को खरिद प्रक्रिया अघि बढेको उनले जानकारी दिए ।
उनले वडा–२७ को भवन केही महिना अघि शिलान्यास भएको र त्यो निर्माण चरणमा रहेको बताए । महानगरपालिकाका अनुसार २९ र ३० को जग्गा खरिद प्रक्रिया अघि बढेको छ । वडा–१९ को जग्गा खरिद प्रक्रियामा केही समस्या भएकाले ढिलाई भैरहेको छ भने वडा–१३, २४ र २५ बन्न बाँकी छन् ।
महानगरपालिकाले दिएको जानकारी अनुसार २८ को भवन निर्माणका लागि जग्गा खोजिरहेको छ भने वडा–२३ भाडामा सञ्चालित छ । काठमाडौं महानगरपालिकाले सबै वडा भवन निर्माण गर्दा भित्री स्वरुप आधुनिक र बाहिरी स्वरुप परम्परागत शैलीमा मौलिकता झल्किने गरी एकै खालको निर्माण गरिरहेको छ ।
कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले सम्पदा निर्माण–पुनर्निर्माणको काममा सबैको साझा सहयोग आवश्यक हुने बताए । वडाध्यक्ष चिनिकाजी महर्जनले आफ्नै वडा भवन बनाउने सपना पूरा भएको भन्दै प्रमुख शाक्यलाई धन्यवाद व्यक्त गरे ।

Leave a Reply