देशमा कहिले लोकतन्त्र हुने स्थिरता नहुने, कहिले स्थिरताका नाममा निरङ्कुशता हुने र लोकतन्त्र नहुने यो प्रक्रियाबाट गएको ७० वर्ष हाम्रो मुलुक गुज्रिसकेको छ ।
२००७ सालमा लोकतन्त्र ल्यायौँ त्यसलाई स्थिर बनाउन सकेनौँ । ०१७ सालमा तथाकथित स्थिरता आयो तर, लोकतन्त्र हरायो । २०४७ मा हामीले लोकतन्त्र ल्यायौँ हामी फेरी अस्थिर भयौँ र त्यो लोकतन्त्र अस्थिर भयो ।
अस्थिरताका शक्तिहरू सलबलाए र देश गृहयुद्धको नजिक नजिक पुगेर संविधानसभाको निर्वाचन हुँदै ०७२ को संविधानसम्म पुग्यौँ । यसले नेपाली राजनीतिमा राजनीतिक र संवैधानिक हिसाबमा जनता र राज्यबिचको अधिकार र कर्तव्यको बाँडफाँडका कुरा टुङ्ग्याएको थियो ।
यो धरै महत्त्वपूर्ण रहेको थियो । हाम्रो ७० वर्षको आन्दोलनले टुङ्ग्याएको मुख्य कुरा के हो भने राज्य र नागरिककाबीचको सम्बन्धलाई हाम्रो संविधानले आधारभुतरुपले लोकतान्त्रिक हिसाबले संस्थागत गरिदियो ।
त्यो धेरै ठुलो उपलब्धि हो । त्यसले त्यो अस्थिरताबाट जोगाउनका लागि ठुलो आधार दियो । त्यसलाई बोक्ने एउटा शक्ति चाहिन्थ्यो । त्यो संविधान बोक्ने राजनीतिक पार्टीले हो । ०७४ को निर्वाचनले कम्युनिस्ट पार्टीको पक्षमा ठुलो जनमत दिएर त्यसले संविधान कार्यान्वयनको अभ्यास राजनीतिक रूपमा ग्यारेन्टी गर्यो ।
तर, अहिलेको अवस्थामा ०७२ र ०७४ का उपलब्धिलाई हामीले रक्षा गर्न नसकिएको यथार्थ हो । खास गरी कम्युनिस्ट पार्टीको विभाजनले । यसले गर्दा नेपालमा लोकतन्त्र वा वामपन्थ यो चैँ नेपालको अस्थिरता र स्थिरतासँग जोडिएको प्रश्न हो । नेकपा एमाले, माओवादी केन्द्र,अर्को कांग्रेस हाम्रा बिचका झगडा, आग्रह पूर्वाग्रह र आपसमा खुट्टा तानातानमा मात्रै सीमित छैन । यो प्रश्न लोकतान्त्रिक स्थिरतासँग छ । यसर्थ हाम्रै लोकतन्त्र र वामपन्थको भविष्यसँग सम्बन्धित छ ।
दोस्रो कुरा वाम एकता किन आवश्यकता छ भन्दा बृहत् सन्दर्भमा आवश्यक छ । त्यसबाहेक पार्टीका रूपमा नेकपा एमालेको हिसाबले एकताको पक्षमा हामीले किन जान पर्छ ? हामीले किन पहलकदमी गर्नु पर्छ ? हामीले किन लिड गर्नु पर्छ भन्छु मैले त । किनकि हामीले लिड नगरी नेकपा एमालेले लिड नगरीकन यो एकता हुँदैन । किनभने हामी ठुलो पार्टी हाैं । त्यति मात्र हैन हामी स्वयम् नेकपा एमाले नेपालको कम्युनिस्ट आन्दोलनको एकताको प्रतिनिधि हो । एकताको नेता हो र एकताको मूल प्रवाह हो ।
यसले गर्दा आज पनि उसको दायित्व हो । नेपालको कम्युनिष्ट आन्दोलनको यथोचित प्रतिनिधित्व गर्नु सानदार प्रतिनिधित्व गर्नु स्वयम नेकपा एमालेको दायित्व हो भन्ने अर्थमा मैले मेरो पार्टीको इतिहासलाई यसरी बुझेको छु ।
वाम एकताको लागि चुनौती र दायित्व नेकपा एमालेको काँधमा छ र एकताको नेतृत्व एमालेले गर्नु पर्छ भन्ने मलाइ लाग्छ ।
विभाजनको सैद्धान्तिक र वैचारिक आधार छैन । कम्तीमा तीन वटा पार्टी,अरू पनि चुनावमा जान्छु भन्ने कम्युनिस्ट पार्टीहरूबिचमा पनि वैचारिक र सैद्धान्तिक रूपमा समस्याहरू छैनन् र विभाजनको औचित्य नै छैन ।
यदि तपाईँहरू जानुहुन्छ भने के भनेर जानु हुन्छ ? समाजवाद ल्याउने भनेर जानु हुन्छ । आजै समाजवादी उत्पादन सम्बन्ध कायम गर्न सक्नुहुन्छ भन्दा सक्नु हुन्न । त्यसको तयारी गर्न पर्छ त्यसका लागि के गर्न पर्छ भन्दा मुलुकलाई समृद्धितर्फ धकेल्न पर्छ ।
सैद्धान्तिक रूपमा हामी हिँड्ने बाटो पनि लोकतान्त्रिक हिसाबले जाने हो । यसमा पनि केही फरक छैन । हामीले मार्क्सवाद, लेनिनवाद जे भने पनि जाने बाटोका कुरा गरे पनि,तरिकाको कुरा गरे पनि सङ्गठनात्मक कुरा जे गरे पनि एउटै कुरा गर्छौ । त्यो नेकपा एमालेले गर्ने कुरा पनि त्यही हो । नेकपा माओवादी केन्द्रले गर्ने कुरा पनि त्यही हो । नेकपा एकीकृत समाजवादीले गर्ने कुरा पनि त्यही हो ।
वैचारिक र सैद्धान्तिक रूपमा एउटै कुरा गरेर तीन वटा पार्टी किन जरुरी छ? यो भन्दा हास्यास्पद कुरा के हुन्छ ? त्यसो गर्दा सिद्धान्त र बिचारको यो राम समता किन गर्नु ?
पार्टी विभाजनका केही राजनीतिक कारण पनि छन् । खागसरि पुस ५ मा गरिएको विघटन त्यो एउटा राजनीतिक मुद्दा हो जहाँ हामी विभाजित छौँ । यो कुरा स्वयं अदालतले,,संवैधानिक बेन्चले यसलाई निर्णय गरिसकेको छ । अब यो संविधान रहेसम्म यो संविधान अनुसार संसद् विघटन गर्नु हुन्थ्यो कि हुँदैनथ्यो भन्ने कुरा निश्चित भइसकेको छ । यो संविधान रहेसम्म यो उल्टिँदैन र कथम अर्को चुनौती के छ भने यदि सर्वोच्च अदालतको त्यो निर्णय गलत छ भनेर हामीले जाने हो भने यो संविधान भत्किन सक्छ ।
अव पनि यस खालका संसद् विघटनका निर्णयहरू ठिक छन् भनेर जानुको अर्थ के हुन्छ भने हामी सोझा सोझी अस्थिरताको पक्षमा हिँड्नु हुन्छ । जुन काम नेकपा एमालेको तर्फबाट यति जिम्मेवार पार्टीको तर्फबाट गर्नु हुँदैन र गर्दैनौ ।
दोस्रो कुरा त्यो टुंगो लागि सकेको छ । एउटा राजनीतिक मामला थियो,जहाँबाट हामी विभाजित भयौँ । पुस ५ को विभाजन त्यो अदालतले टुंगो लगाइसकेको छ भने यो इतिहासको घटना भइसकेको छ । राजनीतिक रूपमा एउटा घटना भयो । संसद्को विघटन ठिक थियो कि बेठीक थियो भन्ने । राजनीतिक विवाद हो यो । जसको टुंगो लागि सकेको छ । वैचारिक र सैद्धान्तिक रूपमा कुनै भिन्नता छैन भने यिनीहरू अलग अलग पार्टीका मान्छेका रूपमा रहनु कुनै औचित्य छैन भन्ने मलाइ लागेको हो ।
तेस्रो, चुनाव त सुरु भई सक्यो । स्थानीय तहको चुनाव त अव आई नै सकेको छ । यो चुनावलाई वामहरूको पक्षमा यसको परिणामलाई ग्यारेन्टी गर्नका लागि नेकपा एमाले ठुलो पार्टी हो यसले आफ्नो साइज अनुसार जितिहाल्छ । आफ्नै साइज अनुसार माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि जित्ला तर वामहरूले एक ठाउँमा भएर जित्ने जीत धेरै परिणाममुखी र धेरै प्रभावकारी हुन्छ ।
जोसुकै गणितज्ञले पनि यही कुरा भन्छ होला । त्यसो गर्दा चैँ वामहरूको पक्षमा कम्युनिस्ट पार्टीको पक्षमा, कम्युनिस्ट आन्दोलनको पक्षमा यो परिमलाई सुनिश्चित गर्नका लागि पनि हामीले अहिले एकता गर्नुबाहेक अन्य विकल्प रहेको छैन ।
जो एकताको पक्ष र विपक्षमा छन्
चौथो कुरा, कम्युनिस्ट पार्टीका जो सुकै पनि जसले कम्युनिस्ट पार्टीको निर्माणमा भूमिका खेलेका छन्,ती सबै नेता तथा कार्यकर्ता एकताको पक्षमा उभिएका छन् । त्यसको पनि खास अर्थ छन् । यसको इतिहास छ । तीनले चुनौती देखेका छन् । भविष्य र चुनौतीलाई राम्रोसँग विश्लेषण गर्ने नेता कार्यकर्ता समर्थक शुभचिन्तक हरुको पङ्क्ति एकताको पक्षमा रहेको छ ।
केही मान्छेहरू यसको विरोधमा रहन सक्छन् । किनभने हाम्रो जस्तो सामाजिक संस्थाहरूमा,संंघ सङ्गठनमा त्यो संस्था भएका कारणले आफ्नो खाइपाइ सुरक्षित राख्ने अर्थात् कम्युनिस्ट आन्दोलनको विभाजनमा आफ्नो हैसियत देख्ने केही मान्छेहरू हुन सक्छन् । ती मान्छेहरूले यसको विरोध गर्नेछन् । त्यसमा कुनै शङ्का भएन ।
एकताको विरोधमा ईमान्दार कार्यकर्ता पनि छन् । जसले क्रान्ति समाजवाद पार्टी सबै भनेकै आफू उभिएको ठाउँ मात्रै देखेका छन् । ती इमानदार न हुन् । उनीहरूलाई शिक्षादीक्षा प्रशिक्षणको कमी छ । जसका कारणले गर्दा क्रान्तिलाई बृहत् अर्थमा बुझ्दैनन् उनीहरूले बुझ्न बाँकी रहेको छ । ती कार्यवाहकता पनि हिजो फुटिसक्यो आज के मिल्ला र ? भन्ने केही साना मसिना तर्कहरूका आधारमा उनीहरूले विभाजनको पक्षमै बोल्छन् । उनीहरूलाई पनि कम्युनिस्ट आन्दोलन प्रति माया नै छ ।
एमालेमा रहेर एमालेकै श्रीवृद्धिमा मात्र कम्युनिस्ट पार्टी बाँच्न सक्छ र समाजवाद आउन सक्छ भन्ने । माओवादीमा रहेर माओवादीकै श्रीवृद्धिमा समाजवाद आउन सक्छ यावत सबैमा रहेर आफू रहेका पार्टीबाटमात्रै समाजवाद आउँछ भन्न सक्ने कुराहरू हुन सक्छन् । म ती सबै कार्यकताहरुलाई ईमान्दार भन्ने गर्छु ।
तेस्रो,हाम्रो जस्तो भूराजनीतिमा कम्युनिस्ट पार्टीको विरुद्धमा कतिपय गतिविधि हुनु एकदमै जोसुकै राजनीति शास्त्रीले, जो सुकै हाम्रो जस्तो समाजको समाजशास्त्रीले हाम्रो जस्तो मुलुकको अर्थशास्त्रीले समेत बुझ्ने कुरा हो ।
यसमा भूराजनीतिक दबाबहरू किनकि हिजो पनि परेर आएको हो । हाम्रो मुलुकको माइक्रो म्यानेजमेन्ट भन्दै आएका हांै हामीले । अरूले त्यस्तो माइक्रो म्यानेजमेन्ट गर्दै आएका हुन् । त्यस कारण कम्युनिस्ट पार्टीको मात्र कुरा हैन यहाँ कांग्रेस पार्टी नै पनि स्वाधीनताका लागि दृढतापूर्वक आफ्नो मुद्दामा आफू उभिन्छु भन्न लाग्यो भने त्यसलाई पनि फोर्न लाग्छ ती शक्ति । ती अस्थिरताका शक्ति हुन् । ती हामीलाई अस्थिर पार्ने शक्ति हुन् ।
अन्तर्राष्ट्रिय देखिने संस्था र नदेखिने संस्था हुन सक्छ । तिनीहरूले हामीलाई विभाजित नै राखी राख्नका लागि प्रयत्न गरिरहन्छन् । यी तीन खालका बाहेक अरू आम कार्यकर्ता,कम्युनिस्ट भनेर चिनिने आम कार्यकर्ता , तिम्रो सुख नै मेरो सुख हो, यो संसारको दुःख मेरो दुःख हो भनेर कसम खाएर हिँडेको यति बुझेको जो सुकै मान्छे आज एकताको पक्षमा रहेको छ । त्यस आधारमा यसको औचित्य छ भन्ने लागेको हो ।
कमजोरी स्वीकार गर्नासाथ एकता भइहाल्छ
माधव प्रचण्डको आँखाबाट हेर्दा ओलीजी नेपाली कम्युनिस्ट आन्दोलनको खतरनाक तत्त्व हो भन्ने अर्थमा व्यक्त हुने । ओलीजीले माधव र प्रचण्ड खतरनाक तत्त्व हुन् भनेर भन्दिने । बाहिरकाले हेर्दा यी दुवै खतरनाक तत्त्व हुन् भनिरहेका छन् । अनि कम्युनिस्ट कम्युनिस्ट नै लडेका छन् । एकले अर्कोलाई खतरनाक देख्छ । सैद्धान्तिकता केही पनि फरक छैन भने बाहिर बाटोमा हिँड्ने मान्छेले के बुझ्ने भो यी दुवै खतरनाक हन् ।
यसो गर्दा पनि हामी यी सबै कुराभन्दा माथि उठेर हामीले हेर्न पर्छ र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउनु पर्छ । नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध पार्ने भनेको नेपालको लोकतान्त्रिक स्थिरतालाई बलियो बनाउने हो । हाम्रो लोकतन्त्रलाई बलियो बनाउने हो । वामपन्थलाई बलियो बनाउने हो । सपाट कुरा यति नै हो ।
अब अहिले उठेको प्रश्न, चुनाव आइसक्यो कसरी एकता हुन्छ ? यो नहुने कुरा भन्ने छ । पहिला पनि के भएको थियो भने ०७४ सालमा हामीले जति बेला गठबन्धन गर्ने घोषणा गर्यौ । एक खालले त्यसलाई छापामार शैलीमा मैले पनि भन्ने गरेको थिएँ । किने त्यो भन्दा डेढ दुई वर्ष अघिदेखि नेकपा एमाले र माओवादी केन्द्रको सिद्धान्तमा फरक छैन । सैद्धान्तिक रूपमा यिनीहरू अलग रहनु पर्दैन भनेर हामीले गर्दाखेरि मेरै समेत विरोध भएको थियो ।
मार्क्सवादका नाममा यसरी पार्टी विरोधी गतिविधि चलाउने ? भनेर ०७४को भदौ सम्म भएको थियो । यो कुरा हाम्रो स्थायी कमिटीमा समेत उठेको थियो । तर, असोजमा अचानक एकता गर्यांै । कसरी भयो कसरी बोलाइयो त्यता नजाऔँ । यो सबै कुरा बाहिर आइसकेको छ ।
नेताहरूको बिचमा भनाभन चलिरहो अवस्थामा त्यो कुरा आएको थियो । किनकि मङ्सिरमा चुनाव थियो । मङ्सिरको चुनावका लागि असोजको मध्यमा त्यो गर्न सक्छौँ भने, अहिले पनि समय कमी छैन । यसर्थ समय छैन भन्ने कुरा बेकारको कुरा हो । पर्याप्त समय छ, बरु हिजोका अभ्यासहरूले के के गर्दा कमी रहँदा रहेछन् । कसरी एकतालाई झन् राम्रो बनाउन सकिन्छ भनेर सिक्नका लागि हामीसँग झन् उदाहरण पनि भई सकेका छन् । त्यसले गर्दा हामीलाई हिजो भन्दा आज एकतालाई सजिलो भएको छ ।
व्यवहारिक कुरा के हुन्छ भने आज तीन वटा पार्टी एकै ठाउँमा उभिई हाल्ला ? तत्काल आजको एक खालको कृत्रिम रूपले बनाइएको दुरी, जुन विभाजन छ र गालीगलौज छ यसमा एकै पटक त्यहाँ जान सकिदैैन । तर, के चाहिँ भन्न सकिन्छ भने कम्युनिस्ट आन्दोलनमा गएको एक वर्षमा जे समस्या आए ती समस्याहरूका कारणले जसरी कम्युनिस्ट आन्दोलन आज जस्तो ठाउँमा विभाजित भएर गाएको छ ।
यो विभाजनमा हामी सबै जिम्मेवार छौँ भन्ने मात्रै महसुस भयो भने सम्भव छ । नेताहरू जो यसका मुख्य प्लेयरहरू, सहायक हामीहरू पनि हौँ । यसमा १, २, ३ जनाको हैन धेरै थोरै कसको के कति हो पद र भूमिका अनुसार यो विभाजनमा तिनीहरूको योगदान छ । विभाजनका लागि तिनीहरूले खुब मेहनत गरेका छन्, योगदान गरेका छन्, पसिना बगाएका छन् यो सानो दुःखले विभाजन भएको छैन । सानो मेहनतले विभाजन गरेको हैन कम्युनिस्ट आन्दोलनलाई साना दुःखले हामीले बर्वाद पारेको हैन ।
यसका लागि हामी सबैले हामी सब जिम्मेवार छौँ भनेर महसुस गर्नु पर्छ र हामी सबै जिम्मेवार छौँ । कसको कति भूमिका छ पछि विचार गरौँला भन्ने एउटा मात्रै स्टेटमेन्ट आयो भने अहिले गठबन्धन चाहिँ बन्न सक्छ । यो चुनावमा गठबन्धन चाहिँ बन्न सक्छ । हामीले गल्ती गरेका छौँ । हामीले गल्ती नगरीकन अर्कैले आएर फोडी दिएको हैन । यसको जिम्मेवार हामी हौँ, यति मात्रै भन्ने हो भने एउटा प्रक्रिया सुरु भई हाल्छ । यसले चुनावमा हाम्रो गठबन्धन बन्छ ।त्यसपछि पार्टी एकताको प्रक्रिया अगाडि बढाउन सकिन्छ ।
-एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले मंगलवार पत्रकारसँगको अन्तरक्रियामा व्यक्त विचार

Leave a Reply