घर कुरुवा आफ्नै ‘जेलमेट’ कुटाएर जिल्ला इञ्चार्ज काठमाडौं हिँडेपछि माओवादीमा खैलाबैला

झापा । आफ्नो घर स्याहार्न राखिएका जेल जीवनका सहकर्मी दम्पत्तीलाई मरणासन्न हुनेगरि कुटपिट गराएर पूर्व राज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद धर्मशीला चापागाईँ सुटुक्क काठमाडौंतिर लागेपछि झापा माओवादी पंक्तिमा खैलाबैला मच्चिएको छ ।

घटना सोमबार बिहानको हो। माओवादी केन्द्रको झापा जिल्ला इन्चार्ज तथा सांसद धर्मशिला चापागाईँको अर्जुनधारा नगरपालिका वडा न. १, साधुटार–सिस्नेस्थित घरमा काम गर्न राखिएका एक दम्पती मरणासन्न अवस्थामा पुग्ने गरी कुटिए ।

कुटपिट गर्ने व्यक्ति थिए, सांसद चापागाईँका सौतेनी भाइ बुहारी र सौतेनी बहिनी । अनि कुटाई खाने दम्पती हुन्, धर्मशिलासँगै जेल जीवन बिताएका माओवादी कार्यकर्ता चन्द्र सापकोटा र जमुना सापकोटा ।

अहिले धर्मशिलाको आदेशमा उनकै सौतेनी बुहारी र बहिनीबाट कुटाई खाएर घाइते भई बिर्ता सिटी अस्पताल, बिर्तामोडमा उपचाररत जमुनाले नै धर्मशिलाको प्रहरीको कुटाइबाट थिलथिलो भएको शरीरको जेलमा स्याहार गरेकी थिइन् ।

पारिवारिक स्रोतका अनुसार जमुना र चन्द्रसँग धर्मशिलाका जेल जीवनका ती सूचना र जानकारी छन् जसलाई उनी सधैँ लुकाउन चाहन्छिन्। त्यसैले आफ्ना ती पुराना सहकर्मी आफ्नो छेउछाउ रहेको उनलाई निको लाग्दैन ।

तर, साइनोले भान्जा र भान्जे बुहारी समेत पर्ने भएकाले धर्मशिलाकी आमाले चन्द्र दम्पतिको दुख देख्न नसकेर उनीहरूलाई साथ दिने निर्णय गरिन्। भएको जग्गा जमिन जोतभोग गर्न दिइन् ।

आमाको सो कदम ठिक नलागेको भए पनि सिधै विरोध गर्ने कुनै तर्क धर्मशिलासंग थिएन। त्यसैले आफ्नो मृत्यु पछि मात्र छोरीहरूले भोग गर्न पाउने सर्तमा धर्मशिला र अन्य चार बहिनी छोरीको नाममा अंश पास गरिदिएको जग्गामध्ये आफ्नो नाममा रहेको जग्गाको भोग धर्मशिलाले खोसिन्। र, तिनै सौतेनी बुहारीलाई भोग गर्न दिइन् ।

यसरी लाक्षणिक रूपमा चन्द्रको परिवारलाई लखेट्ने प्रयास सफल नभएपछि उनी ४ दिन अगाडी सिस्ने गएर सौतेनी बुहारी र बैनीलाई ‘चन्द्रको परिबार कुटेर लखेट्नु, परेको म बेहोर्छु’ भन्ने आदेश दिएर फर्किएको स्थानीयवासीको भनाई छ ।

उनीहरूको त्यो भनाइलाई प्रमाणित गर्ने भिडियो र अडियो अहिले त्यो भेगमा सबैको मोबाइलमा व्याप्त छ। चन्द्र र जमुनालाई हातपात गर्दै गर्दा र त्यसपछि समेत पीडकहरूले ‘दिदीले भकुर्नु म त्यसपछि हेरौला भन्नुभएको छ’ भनेको स्थानीयवासी बताउँछन् ।

आफ्नै घरमा काम गर्न राखिएका पुर्वसहकर्मीलाई हातपात गर्न लगाएर आफू पानी माथि ओभानो बन्न धर्मशीला भने छोरी लिएर काठमाडौँतर्फ लागेकी छिन्। पार्टीले स्थानीय स्तरमा नै खट्न निर्देशन दिएको भए पनि उनी भने बिना कुनै काम काठमाडौँ गएको झापा माओवादीका एक जिम्मेवार नेता बताउँछन् ।

आफ्नो नेताले चुनाएको मुखमा यस्तो उपद्रो गरेको भन्दै माओवादीका स्थानीय नेता÷कार्यकर्ता भने उनीसँग रुष्ट बनेका छन् ।

एक स्थानीय नेताले भने, ’हामीलाई गाह्रो छ, उहाँ अरूको कुरा सुन्नु नै हुन्न। सम्हाल्नु पर्ने बेला सबै लथालिङ्ग पारिदिनु भो ।’

धर्मशिलाले चुनाएको मुखमा यसरी आफ्नै खुट्टामा बन्चरो हानेको भन्दै एमाले, कांग्रेस लगायत दलका स्थानीय नेता भने मक्ख छन् । उता धर्मशिलाले भने स्थानीय प्रहरीलाई घटना अघि नबढाउन र सामसुम पार्न दबाब दिएको बताइन्छ ।

शनिश्चरे प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक रवि राईले भने सांसद चापागाईँले घटनाको बारेमा राम्रोसँग छानबिन गर्न भनेको बताए ।

उनले बुधवार दुवै पक्षलाई बोलाएर छलफल गर्ने र दुवै पक्ष पारिवारिक नातेदार भएकाले उपचार खर्च दिलाएर मिलाउने प्रयास भइरहेको बताए । घटनाबारे जानकारी लिन पटक पटक फोन गर्दा सांसद चापागाईँ भने सम्पर्कमा आउन चाहिनन् ।

Comments

2 responses to “घर कुरुवा आफ्नै ‘जेलमेट’ कुटाएर जिल्ला इञ्चार्ज काठमाडौं हिँडेपछि माओवादीमा खैलाबैला”

  1. ksp pyl Avatar
    ksp pyl

    बन्दुके मानसिकता भएका यस्तालाई कानून बमाेजिम कडा कारवाही गरेर देखाउनु पर्छ । तर के गर्नु गृहमन्त्री गठबन्धन कै परे । कारवाही गर्दा सरकारै जाला । तर जनताले धर्मशिला जस्तालाई राजनीतिबाट सधैंकाे लागि बिदा गरिदिनुपर्छ ।

  2. Dhama Paudyal Avatar
    Dhama Paudyal

    माउबादि सांसद भनेपछि कुरै सक्क्योयो नि। माओबादि गु भनेपछि गन्हाउछ् कि गन्हाउन्न भनेर सुघ्नु पर्छ र? पिट्ने, मार्ने, लुट्ने डाँका डाल्ने भन्दा माओबादिले के नै जानेका छन् र?

Leave a Reply

Your email address will not be published. Required fields are marked *