काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिवसम्बन्धी विवाद यथास्थितिमै रहने भएको छ ।
आफूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिवबाट गैर कानुनी रूपमा हटाइएको भन्दै रमेश सिलवालले दायर गरेको रिटमा सर्वोच्च अदालतले आइतबार पुरानै आदेशलाई निरन्तरता दिँदै पूर्ण सुनुवाइमार्फत टुंगो लगाउने आदेश गरेको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सुस्मलता माथेमाको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्नेमा केही नबोलेको हो । यसअघि सिलवालको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले सिलवाललाई हटाउने र घिसिङलाई नियुक्त गर्ने दुवै निर्णयलाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका सिलवाललाई वर्तमान देउवा सरकारले हटाएर टंकलाल घिसिङलाई सदस्यसचिव नियुक्त गरेको थियो । त्यसपछि सिलवाल अदालत पुगेका हुन् । सिलवालले कात्तिक २७ गते रिट दर्ता गरेका थिए ।
पुस २९ गते हरि फुयाँलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

Leave a Reply