उच्च शिक्षा अध्ययनकालागि पाकिस्तान गएका नेपाली विद्यार्थीहरूलाई दूतावासद्वारा सम्मान

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि पाकिस्तान गएका नेपाली विद्यार्थीहरूलाई नेपालमा रहेको पाकिस्तानी राजदूतावासले सम्मान गरेको छ ।

एमबीबीएस, बीडीएस, फार्मेसी, बीएस इन्जिनियरिङ लगायतका विषयमा स्नातक गर्न गएका विद्यार्थीहरूलाई सम्मान गर्दै छात्रवृत्ति प्रदान गरिएको हो ।

कार्यक्रममा नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री प्रमुख अतिथिको रूपमा उपस्थित थिए ।

सो अवसरमा क्षेत्रीले नेपाल–पाकिस्तान मैत्री सम्बन्धको गहिराइ र न्यानोपनको स्मरण गर्दै नेपालको विकास र विशेष गरी प्राविधिक शिक्षाको क्षेत्रमा पाकिस्तानले गरेको सहयोगको प्रशंसा गरे ।

उनले नेपाली विद्यार्थीहरूलाई नेपालका प्रख्यात शैक्षिक संस्थाहरूमा गुणस्तरीय शिक्षा प्रदान गरेकोमा पाकिस्तान सरकारलाई धन्यवाद समेत दिए ।

उनले पाकिस्तानबाट योग्यता हासिल गरेका विद्यार्थीले आफ्नो समृद्ध शैक्षिक अनुभवले नेपालको प्रगतिमा योगदान पुर्‍याइरहेको बताए ।

आगामी दिनमा पनि पाकिस्तानको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे ।

नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले नेपाली विद्यार्थीलाई पाकिस्तानले दिएको शैक्षिक छात्रवृत्तिले नेपाल र पाकिस्तानबिचको जनस्तरको सम्बन्धको निकटता झल्काएको बताए ।

उनले पाकिस्तानमा रहँदा नेपाली विद्यार्थीले सकारात्मक सम्झना लिएर गएको बताए ।

उनले भविष्यमा पनि नेपाली विद्यार्थीलाई शैक्षिक छात्रवृत्तिमा पाकिस्तानको निरन्तर सहयोग रहने आश्वासन दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *