आईजीपीको लाइनमा रहेका यी एसएसपी, एआईजी सिफारिससँगै बढ्यो ‘धुकधुकी’

काठमाडौं । गृहमन्त्रालयले ३ जना अतिरिक्त महानिरिक्षक (एआईजी) का लागि बढुवा सिफारिस गरेसँगै वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको धुकधुकी बढ्न थालेको छ ।

सिफारिस भएका तीनजना डीआईजीको बढुवापछि रिक्त हुने दरबन्दीका लागि एसएसपीहरू लागि पर्नेछन् । अहिलेका एसएसपीमध्येबाट कम्तीमा एकजना २०७९ चैतमा नेपाल प्रहरीको आईजीपी बन्नेछन् ।

२०५१ सालमा गृह मन्त्रालयले ९८ जनालाई इन्सपेक्टरका लागि छनोट गरेपनि तीन फरक समयमा उनीहरूलाई नियुक्ति दिएको थियो । २०५१ चैत ५ गते ५२ जना, २०५२ साउन १८ गते ६ जना र सोही वर्षको कात्तिक २७ गते ४० जनाले इन्सपेक्टरको नियुक्ति पाएका थिए ।

त्यतिबेला छनोट भएकामध्ये आधाभन्दा बढीले अवकाश पाइसकेका छन् । बाँकी एसपी र एसएसपी छन् । अब उनीहरूमध्येबाट डीआईजी हुनेछन् । २०७५ माघमा एसएसपीमा बढुवा भएका १४ जनामध्ये गणेश रेग्मीले अवकाश पाइसकेका छन् ।

२०७७ वैशाखमा १९ जना एसएसपीमा बढुवा भएका थिए । त्यसको एक वर्षपछि पनि एसएसपी भएका छन् ।

तीन ब्याचबीच रस्सकस्सी

एकैपटक छनोट भएपनि तीन फरक मितिमा नियुक्ति पाएका बीच डीआईजीका लागि प्रतिस्पर्धा देखिएको छ ।

२०७५ माघमा एसएसपी भएकामध्ये सन्दीप भण्डारी पहिलो, टेकप्रसाद राई दोस्रो, उमेशराज जोशी तेस्रो र श्यामलाल ज्ञवाली चौथो नम्बरमा रहेका थिए। उनिहरु सबैले २०५१ चैतमा नियुक्ति पाएका हुन् ।

त्यतिबेला बढुवा भएका १४ मध्ये दीपक थापा, टेक तामाङ र भीम ढकालले २०५२ साउनमा प्रहरी सेवामा नियुक्ति पाएका थिए।
उनीहरु सिनियर एसपीहरूलाई उछिन्दै एसएसपी भएका थिए । आफ्नो इन्सपेक्टर ब्याचमा थापा पहिलो नम्बरमा छन् । २०५२ कात्तिकमा नियुक्ति पाएकामध्ये विष्णुकुमार केसी पहिलो नम्बरमा छन् ।

एसपीमा उनी श्यामलाल ज्ञवालीहरूसँगै बढुवा भए पनि एसएसपी बढुवा हुँदा उनी छुटेका थिए । उनीभन्दा पछि एसपी भएका दीपक थापालगायतले केसीलाई पछाडि पारेका थिए ।

पहिलो लटमा एसएसपी भएकाहरू मध्ये २०५१ चैतका ब्याचीहरू अहिले स्वाभाविक लबिङमा रहेको बताइन्छ । त्यसबाहेक दीपक थापा पनि अघिल्लो ब्याचलाई समेत उछिनेर अगाडि आउने र आईजीपीका लागि बलियो दाबेदार बन्ने प्रयासमा छन् ।

यो ब्याच सँगसँगै बढेर थापा आईजीपी बन्न सके २०५१ चैतमा सेवा सुरु गरेकाहरूमध्येबाट कोही पनि आईजीपी बन्ने छैनन् । थापाको प्रयास बुझेका सन्दीप भण्डारी, श्यामलाल ज्ञवाली, टेकप्रसाद राईलगायत २०५१ चैतका ब्याचीहरू थापादेखि सचेत छन् । यता २०७७ वैशाखमा एसएसपी भएकाहरू तत्काल डीआईजी बढुवा गर्न नहुने अडानमा छन् ।

‘अहिले बढुवा गर्दा तीनजना मात्र अगाडि बढ्नेछन् । वैशाख १८ पछि गर्दा डीआईजीको दरबन्दी धेरै रिक्त हुने हुँदा भावी आईजीपीका लागि धेरै जना प्रतिस्पर्धामा आउन पाउने छन्’, एक एसएसपी भन्छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *