नासुको अन्तरवार्ता रोकिएपछि परीक्षार्थी धर्नामा

काठमाडौं । लोक सेवा आयोगले नायब सुब्बा पदको आर्थिक वर्ष २०७६/७७ मा प्रकाशित गरेको विज्ञापनमा सबै लिखित परीक्षा उत्तिर्ण गरी अन्तर्वार्ताको चरणमा रोकिएपछि नायब सुब्बाका परीक्षार्थीहरुले धर्ना दिएका छन् ।

नायब सुब्बाको उक्त विज्ञापन सम्बन्धी अन्तर्वार्ताको सूचना प्रकाशित गर्न दबाब दिँदै परीक्षार्थीहरु लोक सेवा आयोगको केन्द्रीय कार्यालयमा धर्नामा बसेका हुन ।

लोक सेवा आयोगले प्रकाशित गरेको आर्थिक वर्ष २०७६/७७ को नायब सुब्बाको विज्ञापनमा परीक्षार्थीहरुले सबै लिखित परीक्षा उत्तिर्ण गरेपछि गत भदौमा उनीहरुको अन्तर्वार्ता स्थगित भएको थियो ।

कर्मचारी समायोजन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा परेपछि लोक सेवा आयोगले सबै परीक्षा र नतिजा प्रकाशित गर्ने काम स्थगित गरेको थियो । अदालको पुर्ण इजलासले यही माघ १२ गते फैसला गर्दै कर्मचारी समायोजन कानूनसम्मत भएको र सम्बन्धित रिट निवेदन खारेज हुने ठहर गरेको समेत गरेपनि आयोगले तालिका सार्वजनिक नगरेको आरोप परीक्षार्थीहरुको छ ।

साथै लोक सेवा आयोग ऐन २०६६ र नियमावली २०६७ बमोजिम परीक्षा पक्रिया सुरु भएपछि विज्ञापन रद्द गर्न नमिल्ने नजिर समेत प्रतिपादन गरेको थियो ।

अदालतको फैसलामा स्थगित गरिएका विज्ञापनहरुको परीक्षाफल प्रकाशन गर्ने समेतका कार्यहरु यथाशिघ्र गर्नु गराउन आयोगको नाममा परमादेश जारी गरेपछि शाखा अधिकृतको नतिजा प्रकाशन मात्र गरेको थियो । तर सोहि वर्षको नायब सुब्बाको रोकिएको अन्तर्वार्ताको सूचना भने आयोगले हालसम्म पनि प्रकाशन गर्न सकेको छैन ।

आयोगका कारण वर्षौदेखि तयारी गरी सबै लिखित परीक्षा उत्तिर्ण गरी अन्तर्वार्ताको चरणमा रहेका विद्यार्थी मारमा परेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *