काठमाडौं । स्थानीय तहको निर्वाचनले राजनीतिक दलहरुलाई करिब चार वर्षपछि पुनः गाउँतिर फर्काएको छ । आगामी बैशाख ३० मा एकैपटक देशभर हुने चुनावमार्फत स्थानीय सरकारको नेतृत्व लिन दलहरु कस्सिएका हुन् ।
प्रायः ठूला दल अभियानकै रुपमा कार्यक्रमसहित गाउँकेन्द्रित भएका छन्। चुनाव स्थानीय भए पनि आफ्नो पक्षमा माहोल बनाउन केन्द्रीय नेताहरु समेत गाउँ–गाउँ पस्न थालेका छन् । घरदैलोमा टेक्न थालेका छन् ।
अभियान
प्रमुख दलहरु नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी लगायतका दलहरुले निर्वाचन केन्द्रित अभियान नै घोषणा गरेका छन् ।
सबैभन्दा पहिले प्रमुख प्रतिपक्ष एमाले चुनाव केन्द्रित अभियानमा गएको थियो । एमालेले गत फागुन १ देखि नै प्रदेशस्तरीय चुनावी प्रशिक्षण अभियान सुरु गरेको थियो ।
फागुन १ र २ गते विराटनगरमा एमालेले प्रदेश १ को प्रशिक्षण कार्यक्रम चलाएको थियो । त्यस्तै मधेश प्रदेशमा ३ र ४ गते, वागमती प्रदेशमा ६ र ७ गते, गण्डकी प्रदेशमा ८ र ९ गते, लुम्बीनमा ११–१२ र कर्णालीमा १४–१५ प्रशिक्षण चलाएको थियो । जिल्ला, पालिका र वडास्तरमा पनि आआफ्नै तरिकाले कार्यक्रमहरु भइरहेका छन् । त्यहाँ आफ्नो वास्तविक अवस्था पत्ता लगाउने, सम्भावित उम्मेदवार अघि सार्ने जस्ता काम भइरहेका छन् ।
सत्ताको नेतृत्व गरिरहेको दोस्रो ठूलो दल नेपाली कांग्रेसले पनि ‘घर–घरमा जाऊ, कांग्रेस जिताऊ’ भन्ने नारासहितको एक महिने अभियान सुरु गर्न गइरहेको छ । यो अभियान फागुन २९ देखि चैत २९ सम्म चल्ने छ ।
यसका लागि कांग्रेसले केन्द्रीय प्रतिनिधि नै घटाएको छ । यो अभियान अन्तर्गत कांग्रेसले जिल्ला, पालिका र वडास्तरमा प्रशिक्षण र भेटघाटका कार्यक्रम संचालन गर्ने छ । वडा र पालिका स्तरमा आफ्नो वास्तविक शक्ति जाँच गर्ने प्रयास कांग्रेसले यो अभियानका बेला गर्नेछ ।
त्यस्तै माओवादी केन्द्र केन्द्रीय समिति बैठक सकिए लगत्तै स्थानीय चुनाव केन्द्रित भएको छ। केन्द्रीय समिति बैठकबाट माओवादीले चुनावी कमाण्ड बनाउने निर्णय गरेको थियो । सबै प्रदेशमा इन्चार्ज तोक्दै माओवादीले प्रदेशभित्रका पार्टी केन्द्रीय सदस्यहरुको बैठक राखेर ती प्रदेशभित्रका जिल्लाहरूलाई विभिन्न समूहमा विभाजन गरेर कमाण्ड बनाउने भएको छ।
त्यस्तै प्रदेश स्तरीय प्रशिक्षण पनि सुरु गरेको छ । बुधबार बागमती प्रदेशमा प्रशिक्षण दिएका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार कणार्ली पुगेर प्रशिक्षण दिए । त्यस्तै फागुन २९ गते प्रदेश १, ३० गते सुदूरपश्चिम, चैत ३ गते – लुम्बिनी, चैत ६ गते गण्डकी र चैत ८ गते मधेस प्रदेशमा माओवादीले प्रशिक्षण चलाउने छ । यी सबैमा प्रचण्डल लगायतका नेताहरुले प्रशिक्षण दिने छन् ।
केन्द्रीय तहबाट ढिला अभियान सुरु गरेको भए पनि माओवादीले ४ फागुनमै आन्तरिक सर्कुलर जारी गरेर पालिका र जिल्ला समन्वय समितिका बैठक राखेर चुनावी रणनीति तय गर्न, केन्द्रीय सदस्यको नेतृत्वमा पालिकामा मुल परिचालन समिति बनाउन स्थानीय तहमा आफ्नो अवस्थाबारे रिपोर्ट बनाउन निर्देशन दिएको थियो ।
त्यस्तै एकीकृत समाजवादीले भने आफ्नो संगठन विस्तार नै बाँकी रहेको भन्दै स्थानीय कमिटी गठन नै चुनावी अभियान हुने बताएको छ । दुई दिन (२५–२६) चलेर सकिएको केन्द्रीय समितिले चैत १५ भित्र सबै कमिटीलाई पूर्णता दिने गरि अभियान चलाउने निर्णय गरेको छ ।
‘स्थानीय तहको निर्वाचन गाउँ तथा नगरपालिका र तिनका वडाहरूमा हुन्छ,’ अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘जहाँ निर्वाचन हुने हो त्यहाँ पार्टी कमिटी भएन भने निर्वाचनमा प्रतिस्पर्धा गर्ने आधार नै हुँदैन। हामीले सबै वडामा त के सबै पालिकामा समेत पार्टी कमिटी निर्माण गरिसकेका छैनौं। कतिपय कमिटीहरूलाई यहाँसम्म कि प्रदेश कमिटीहरूलाई समेत पूर्णता दिएका छैनौं। यस्तो स्थिति अब रहिरहनु हुँदैन। गठन भैसकेका कमिटीहरूलाई यथाशीघ्र पूर्णता दिने र आगामी चैत १५ गतेभित्र सम्पूर्ण पालिका र वडाहरूमा पार्टी कमिटी गठन गरिसक्ने गरी जानु पर्दछ।’
एजेन्डा
स्थानीय चुनाव भएकाले केन्द्रीय नारा र एजेन्डा जितमा धेरै निर्णायक हुँदैनन् । स्थानीय परिवेश नै स्थानीय चुनावमा हाबी हुन्छ । यद्यपि राजनीतिक दलको विचार र एजेन्डाको प्रभाव रहँदैन भन्ने चाहिँ हुँदैन । त्यसैले प्रमुख राजनीतिक दलहरुले आआफ्ना एजेन्डा तय गरेकै छन् ।
एमालेले त्यस्तो कुनै लिखित एजेन्डा तय नगरेको भए पनि आफू सरकारमा छँदा पुर्वाधार विकास गरेको, र अब पुनः मौका दिएर त्यसलाई अगाडि बढाउन अबसर दिन मतदातासँग आग्रह गर्ने छ । उसले उसले नेपालको नक्सामा कालापानी लगायतका भूमी समेटेको, धरहरा सहितका सम्पदा पुर्ननिर्माण गरेको लगायतका विषयलाई प्रचार गर्ने छ ।
त्यस्तै विरोधीले राम्रो काम गरिरहेको देख्न नसकेर आफ्नो सरकार ढालिदिएको भन्दै एजेन्डा बनाउने छ। एमालेले कोभिडविरुद्धको खोप आफ्नै पालामा सबैलाई पुग्नेगरि भण्डारण गरेको तथा जनादेशलाई परमादेशले विस्थापित गरेको कुरालाई मुख्य एजेण्डा बनाउनेछ ।
कांग्रेसले त स्थानीय चुनावका लिखित एजेन्डा नै तय गरेको छ । नेपाली कांग्रेले मुख्यगरि दुई एजेन्डा तय गरेको छ। एउटा अमेरिकी सहयता परियोजना आफ्नै पहलमा पारित गरेको भन्दै जस लिने र यसविरुद्ध फैलाइएको भ्रम चिर्ने । अर्को हो, तत्कालीन नेकपा सरकारले असंवैधानिक कदम चालेको र भ्रष्टाचार गरेको भन्दै प्रचार गर्ने ।
कांग्रेसले आफ्नो एक महिने अभियानमा एजेन्डा उल्लेख गर्दै भनेको छ, ‘नेपाली कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने । नेकपाको सरकारको गत ३ बर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र श्रष्टाचार प्रकरण जनता समक्ष व्यापक रूपमा राख्ने । प्रतिपक्षमा रहनु पर्ने जिम्मेवारीका वावजुद संविधान रक्षाका लागि वाध्यात्मक रुपमा सरकारमा जान परेको यथार्थ जनसमक्ष राख्ने ।’
सरकारकारले खोपमा प्रगति गरेको भन्दै त्यसलाई पनि एजेन्डा बनाउने भएको छ। भनिएको छ, ‘नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि जनताको जीवन रक्षालाई प्रधान कार्यभार बनाएर सरकारले छोटो समयमा ७० प्रशित नागरिकलाई खोप लगाइसकेको र निर्वाचनसम्म पुग्दा प्रायःलाई लगाइसक्ने योजना थप स्मरण गराउँदै जनतालाई कोरोना महामारीसंग अझै सतर्कताका लागि अपील गर्ने।’
त्यस्तै एमसीसीबारे कांग्रेको एजेन्डा छ–‘करिब–करिब राष्ट्रिय सहमतिको स्थिति निर्माण गरेर हालसम्मकै सबैभन्दा ठूलो सहयोग परियोजना एमसीसी कांग्रेस नेतृत्वको वर्तमान सरकारको नेतृत्वमा संसदबाट पारित भएको हुँदा त्यसबारेमा जनस्तरमा छरिएका भ्रम बँदागत रुपमा चिर्दै वास्तविकता प्रष्टसँग राख्ने ।’
त्यस्तै माओवादी केन्द्रले पनि आफ्नो विरोध र पहलका कारण एमसीसी जस्ताको त्यस्तै पारित हुनबाट रोकेको भन्दै १२ बुँदे व्याख्यात्मक घोषणाको प्रचार गर्ने रणनीति बनाएको छ। माओवादीले हालसम्मका राजनीतिक उपलब्धीहरु आफ्नै कारणले आएको भन्दै त्यसको जस आफैले पाउनुपर्ने गरि प्रचार गर्ने नीति तय गरेको छ। ‘माओवादीको नीति र नेतृत्व संघीय व्यवस्था र समानुपातिक प्रतिनिधित्व,’ नाराका रुपमा एजेन्डालाई प्रस्तुत गर्दै माओवादीले भनेको छ, ‘नेपाली जनक्रान्तिको अमूल्य उपहार, संघ प्रदेश र स्थानीय जनसरकार।’
चर्चा तालमेलको, तयारी एक्लाएक्लै तयारी
स्थानीय चुनावका लागि गठबन्धन गर्ने प्रयास र चर्चा छन् । भइरहेका छन् । अहिले सत्ता गठबन्धन आवद्ध दलहरुले चुनावमा पनि गठबन्धन बनाउने बताइरहेका छन् ।
प्रमुख प्रतिपक्षी एमालेले देशव्यापी गठबन्धन नभएपनि स्थानीय स्तरमा विभिन्न पार्टीसँग तालमेल हुन सक्ने बताएको छ। एमालेले विशेष गरि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी र सिके राउत नेतृत्वको जनमत पार्टीसँग तालमेल गर्ने देखिन्छ ।
यद्यपि अहिले सबै दलले आआफ्नै तरिकाले स्थानीय चुनावको तयारी गरिरहेका छन् । सत्ता गठबन्धनमा भने एक महिना गाउँ–गाउँमा गएर आफ्नो शक्ति आँकलन गरेपछि मात्रै तालमेलको ठोस कुरा चल्ने देखिएको छ । कांग्रेस नेता प्रकाशमान सिंहले एक महिने चुनावी अभियानको ‘रिपोर्ट कार्ड’ हेरेर मात्रै चुनावी तालमेलबारे निर्णय हुने बताएका छन् ।
आलोकनगर कांग्रेसको बुथ समितिले शुक्रबार आयोजना गरेको कार्यक्रममा सिंहले भने ‘अहिले पार्टीमा चुनावी तालमेल गर्ने, नगर्ने र स्थानीय कार्यसमितिलाई नै निर्णय गर्न दिने भनी ३ थरी विचार आएको छ ।
अब १ महिने अभियान कस्तो हुन्छ, केन्द्रीय प्रतिनिधिहरुले कस्तो रिपोर्ट ल्याउनुहुन्छ ? त्यसका आधारमा मात्रै पार्टीले निर्णय लिन्छ ।’ सिंहले भने जस्तै आआफ्नो शक्ति बुझेर आएपछि मात्रै गठबन्धनमा भागबन्डाका लागि ‘बार्गेनिङ’ गर्न गठबन्धन आवद्ध दलका लागि सजिलो हुनेछ ।
आफ्नो शक्ति आँकलन गर्ने र तालमेलका लागि योजना पेस गर्ने भन्दै माओवादी केन्द्रले पनि कार्यदल बनाउने निर्णय गरेको छ । हालै सकिएको केन्द्रीय समिति बैठकले सम्भव भएसम्म गठबन्धन नभए एक्लै भए पनि चुनाव लड्ने भन्दै आफ्नो शक्ति थाहा पाउन कार्यदल बनाउने निर्णय गरेको थियो ।

Leave a Reply