५० करोडको डिल सफल- सुपारी, केराउ र मरिचको तस्करीका लागि आयात खुला

काठमाडौं । सरकारले तस्करी गर्ने व्यापारीको प्रभावमा परेर सुपारी, केराउ र मरिचको आयात खुला गरेको छ । मन्त्रिपरिषदको बैठकले सुपारी र केराउलगायतका वस्तुको आयातमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको निर्णय राजपत्रमा प्रकाशित भएको छ ।

राष्ट्र बैंकले देशको अर्थतन्त्र संकटमा परेको विवरणसहित विदेशी मुद्रा सञ्चिति दयनीय रहेको आँकडा सार्वजनिक गरेकै बेला सरकारले तस्करी प्रयोजनका लागि आयात फुकुवा गरेको हो ।

नेपाल प्रेसले सुपारी तस्करीको लाइन खुलाउन कांग्रेसका पूर्वसांसद समेत रहेका वीरगञ्जका उद्योगपति अनिल रुङटा, डडेलधुराका रामचन्द्र भट्ट र श्रीराम गुट्खा उद्योगका कमलकिशोर मालपानी तथा विराटनगरका उद्योगी दिनेश राठीहरूले मेहनत गरिरहेको समाचार बाहिर ल्याएको थियो ।

यो पनि पढ्नुस् : सुपारी आयात खुलाउन ५० करोडको डिल, यी हुन् खटाइएका विचौलिया

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै मातहत रहेका बेला बालुवाटारबाटै प्रत्यक्ष डिल गरेर आयात खुला गरिएको उद्योगमन्त्रालयका उच्च अधिकारीहरूले बताएका छन् । यसमा करिब ५० करोड रूपैयाँको चलखेल भएको बताइन्छ ।

यो निर्णय गर्न उद्योगमन्त्रालयका उच्च अधिकारीलाई बालुवाटारबाट तीब्र दबाब परेको थियो । पटक-पटक दबाब आएपछि सो प्रस्ताव मन्त्रिपरिषद्‍मा लगिएको थियो । यो आयात खुलाउने निर्णय भएलगत्तै प्रधानमन्त्रीपत्नी आरजु देउवा सिंगापुरतर्फ लागेकी छन् भने व्यवसायीसँग रकमको डिल गर्ने रामचन्द्र भट्ट पनि नेपाल छाडिसकेका छन् । भट्ट अमेरिका गएको बताइएको छ । स्रोतका अनुसार ठूलो रकमको लेनदेन भएकाले बाहिरै सेटलमेन्ट गर्न खोजिएको छ ।

आरजु सिंगापुर हुँदै जापान जान लागेको स्रोतले जनाएको छ । उनी देउवा प्रधानमन्त्री भएपछि दुईपटक जापान गइसकेकी छन् । जापानको राजदूतबाट आमा प्रतिभा फिर्ता भएपछि आरजुले आफूनिकटलाई पठाउन लागेको बताइन्छ । त्यसका लागि परराष्ट्र मन्त्रालयका सहसचिव दुर्गाबहादुर सुवेदीले जोडबल गरिरहेका छन् । जापानको एक कम्पनीसँग सेक्युरिटी प्रिन्टिङप्रेसको डिल भइरहेको छ ।

औद्योगिक प्रयोजनको लागि उद्योग विभागको सिफिारिसमा सम्बन्धित उद्योगले आफैं आयात गर्न सक्ने गरी खुला गरिएको सरकारले जनाएको छ । अघिल्लो सरकारले परिमाणात्मक बन्देज लगाएको सुपारी तथा केराउ केही व्यापारीलाई फाइदा पुग्ने गरी आयात खुलाइएको हो ।

तेस्रो मुलुकबाट आयात गरेर नेपालको उत्पादन भनी बाहिर पठाउने गिरोहले सरकारलाई प्रभावित पारेर यो निर्णय गराएको हो । सुपारी, केराउ र मरिच नेपालमा आवश्यकताभन्दा बढी भए पनि तस्करी प्रयोजनका लागि आयात खुलाइएको हो ।

नेपालमै ७ हजार टन सुपारी उत्पादन हुने गरेकोमा अहिले एकाएक चलखेल गरेर खुलाउनुको मुख्य कारण यसको तस्करीबाट मनग्गे पैसा आउने भएकैले हो ।

मागभन्दा बढी परिणाममा तेस्रो मुलुकबाट सुपारी आयात गरेर ती व्यापारीले भारततिर तस्करी गर्छन् । नेपालको भन्सार दर सस्तो भएकाले तस्करहरूले नेपालमा चलखेल गरेर आयात खुलाउने र सुपारी ल्याएर भारततिर लैजाने गर्छन् ।

यो पनि पढ्नुस् : सुपारी तस्करीको लाइन खुलाउन आर्थिक चलखेल, आयात बन्देज हटाउन मन्त्रिपरिषदमा प्रस्ताव

सुपारी मुख्यतया इन्डोनेसिया, मलेसिया, थाइल्याण्डलगायतका तेस्रो मुलुकबाट नेपाल आयात हुन्छ । आयात भएको सुपारी भारत तस्करी हुने गरेकाले अघिल्लो सरकारले परिमाणात्मक बन्देज लगाएको थियो । पछिल्लो समय केही व्यवसायीले पैसा संकलन गरेर आयात खुलाउन खर्च गरेका हुन् ।

केही वर्षअघि सुपारी तस्करले पूर्वका उच्च सरकारी अधिकारीहरूको सरुवामै दख्खल राख्थे । केही व्यवसायीहरूको सुपारी आयात नै मुख्य धन्दा हो । भारतमा सुपारी आयात बन्देज छ । त्यसैले नेपालका केही व्यापारीले सरकारलाई प्रभावित पारेर आफूलाई फाइदा हुनेगरी आयात खुलाउने र तेस्रो मुलुकबाट आयात गरेर अवैध बाटो हुँदै भारत लैजान्छन् ।

झापा, मोरङतिर सुपारी खेती हुन्छ । केही व्यापारीले तेस्रो मुलुकबाट सुपारी आयात गरी भन्सारका कर्मचारीसँग मिलेमतोमा विदेशी सुपारीलाई नेपाली उत्पतिको प्रमाणपत्रसमेत लिने गरेका थिए । जबकी हाम्रो सुपारी निर्यात भएन, विदेशी सुपारी नेपाली भनेर निर्यात गरियो ।

राजपत्रमा प्रकाशित प्रतिबन्ध फुकुवा गरेको निर्णयको सूचना

Comments

3 responses to “५० करोडको डिल सफल- सुपारी, केराउ र मरिचको तस्करीका लागि आयात खुला”

  1. ksp pyl Avatar
    ksp pyl

    सरकार नै तस्करहरूले बनाईदिएकाे हाे । अनि त दिने नै भयाे नि ।

  2. bhupendra kaarki Avatar
    bhupendra kaarki

    प्रिय सम्पादक्ज्यु
    समाचारको लागी धन्यबाद। भन्सारका कर्मचारीसँग मिलेर नेपालि उत्पतिको प्रमाण लिन्छन भन्ने तपाइको समाचार असत्य भएँको कुरा जानकारी गराउन चाहन्छु। भन्सारले त विधि र प्रकृया पुगेर आएको वस्तु पैठार या निकासिमात्र गर्छ। कुनै वस्तु ऊतपातिको प्रमाण जारी गर्दैन।

  3. दुर्गा अधिकारी Avatar
    दुर्गा अधिकारी

    सरकार नै तस्करी भएको पुष्टि,नेपाल नेताले नराख्ने भए अब हाम्रो गौरब गुम्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *