दुई दिनअघि एक मित्रले युक्रेन–रसिया युद्धबारे सोध्नुभयो । मैले भनें– हो, यसबारे केही त लेख्नु पर्ने हो तर खै अचेल कलम चलेकै छैन । लडाइँ भनौं वा युद्ध ! यो एकातर्फीको गल्ती वा बदमासीले मात्र हुने होइन, दुवैतर्फको लोभ, लालच, दम्भ, डर र आतंकका कारण हुने हो ।
अमेरिकाले सन् २०१४ मा नै रसिया र युक्रेनबीच युद्ध गराउन चाहन्थ्यो । तर त्यतिबेला रसियाका पुटिनले टालेका थिए । उनले चारतर्फी सम्झौता गरेर त्यतिबेला युद्ध टारेका हुन् । उनले नेटो, युरोपियन युनियन र अमेरिकासँग एक प्रस्ताव राखे– रसियको सुरक्षाका कारण युक्रेनलाई नेटोको सदस्यता नदिइ स्वतन्त्र राज्यको रुपमा रहन दिएमा हामीले युक्रेनलाई चलाउने छैनौं ।
युक्रेन, बेलारुस रुसको सुरक्षाको विरुद्धमा प्रयोगमा नआउन् भन्ने रुसको माग थियो । अनि सन् २०१५ मा चौतर्फी सम्झौता भयो । सम्झौतमा लेखियो कि– युक्रेनले नेटोको सदस्यताका लागि दरखास्त दिने छैन र नेटोले पनि युक्रेनलाई स्वतन्त्र राज्यका रुपमा रहन दिनेछ र नेटो, युरोपियन युनियन र अमेरिकाले रुस र बेलारुसको सुरक्षामा कुनै आँच आउन दिने छैनन् ।
उक्त सम्झौतापछि रुसले युक्रेनलाई कुनै किसिमको धक्का दिएको थिएन । अहिले आएर युक्रेनका राष्ट्रपतिले नेटोसंग सदस्यताको निम्ति दरखास्त हाले र नेटोले पनि सदस्यता दिने निर्णय गर्यो । अनि रुसले बेलारुसको सीमाहुँदै आफ्ना सैनिक तैनाथ गर्यो र भन्यो– युक्रेनलाई नेटोको सदस्यता नदेऊ र हामीबीच भएका चौतर्फी सम्झौताको पालना गर ।
युरोपियन युनियन यो कुरामा लचिलो थियो । तर अमेरिका, नेटो र युक्रेनले मानेनन् ।
अमेरिकाको चाहना खासमा जसरी हुन्छ युरोपलाई कमजोर बनाउने र आफू सर्वसत्तावादी बन्ने हो । त्यसैले उसले थुप्रै ठाउँमा झुटको खेती गरेर विश्व तहसनहस पारिरहेको छ । झुटको खेती गरेरै इराकलाई खतम गर्यो, राष्ट्रप्रमुख सद्दाम हुसेनलाई झुण्ड्यायो । अमेरिकाकै उक्साहटमा फ्रान्सेली सेनाले लिबियाका राष्ट्रपति मार्यो ।
अमेरिकाकै उक्साहटमा साउदी अरबले यमनलाई त्यसै गरिरहेको छ । अमेरिका र रुसको उपस्थितिले कुनै जमानाको एक बहुतै सुसँस्कृत र शक्तिशाली देश सिरियालाई उठ्नै नसक्ने गरी खतम पारे । हाम्रो आफ्नै दैलोको अफगानिस्तानलाई यहाँको खानी देखेर ध्वस्त पारे । अहिले तेल र ग्यासको व्यापारमा एकाधिकार जमाउन कुनै पनि हालतमा सम्पूर्ण युरोप र रसियाविरुद्ध युद्ध गराएपछि यी स्वतः कमजोर हुने भए । समग्रमा रस्सा र युक्रेनबीच युद्ध भएको देखिए पनि अमेरिकाले समग्र विश्वविरुद्ध गरेको युद्ध हो । अमेरिका संसारभरका खानी (तेल, ग्यास वा वा अन्य धातु) आफ्नो कब्जामा पार्न चाहन्छ ।
मैले यहाँ ४ मे २०१४ मा लेखेको ‘युक्रेन प्रोपागान्डाको भुमरीमा कसको झुट पत्यारलाग्दो’ शीर्षकको आलेख पनि समावेश गरेको छु । जसले यो युद्धको सुरुवात कसरी भएको थियो भन्ने बुझ्न सजिलो हुन्छ ।
वासिङटन र किभले पूर्वी युक्रेनमा सरकारी भवनहरु र स्लोभाजान्सोक नामक शहरु रसियन सेना र सुराकीहरुले कब्जा गरेको भनी प्रचारबाजी गरिरहेका छन् । तर उनीहरु आफैंले उत्पादन गरेका प्रमाणहरुप्रति भने आफैंले विश्वास गरिरहेका छैनन् । क्रेमेल अर्थात् रुसले विश्वास गर्ने झन् कुरै भएन । उता क्रेमेल पनि प्रोपोगाण्डा गर्न पछि परेको छैन । रुसको प्रोपोगाण्डा भने अलि सिंगार–पटार गरेको देख्न असहज छैन ।
ह्वाइट हाउसले युक्रेनमा रसियन सेना र सुराकीहरु भएको प्रमाणका रुपमा भन्दै गत मंगलबार २२ अप्रिलका दिनदेखि एउटा सैनिक पोसाकधारी व्यक्तिको तस्वीर छापेर प्रचार गरिरहेको छ । ह्वाइट हाउसद्वारा उक्त तस्वीर प्रचारमा ल्याएलगत्तै वासिंटनले प्रश्न उठाएको कुरा न्यूयोर्क टाइम्सले खुलासा गरेको छ ।
न्यूयोर्क टाइम्सका अनुसार ‘पूर्वी युक्रेनमा रसियन पोसाकधारी सैनिक भनी खिचिएको तस्वीर के साँच्चै रसियन सेनाको हो त ?’ प्रश्न उठेको छ । यो प्रश्नपछि ह्वाइट हाउसलाइ उक्त प्रमाण भनी प्रचार प्रसारमा ल्याइएको तस्वीको सत्यता बिश्वसामू ल्याउन हम्मे–हम्मे परेको छ ।
हप्तौं देखि वासिंगटन र किभको अडान रस्साविरुद्ध रहेको छ । त्यस्तै उनीहरु भन्छन्– पूर्वी युक्रेनमा रसियन सेना र सुराकीहरुले कब्जा गरिरहेका छन् र त्यहाँको समस्या रुसले युक्रेनलाई छोडेको खण्डमा मात्र समाधान हुन सक्नेछ ।
तर कठिन भए पनि सत्यता अलि फरक भएको अनुमान गर्न भने कठिन छैन । ‘हो रसियन सेनाहरु युक्रेनको पूर्वी र उत्तरपूर्वी सीमा क्षेत्रको रस्साको भूभागमा तैनाथ रहेका छन्’ भन्दै अमेरिकाबाट प्रकाशित हुने एउटा अर्को प्रशिद्ध म्यागाजिन टाइमले एउटा लामो रिपोर्ट छापेको छ । म्यागाजिन टाइमको एउटा पत्रकार समूह केही हप्तादेखि युक्रेनमा कार्यरत थियो ।
उनीहरुले त्यस क्षेत्रको भ्रमण गरेपछिको रिपोर्टमा लेख्छन्– अमेरिकाले जुन ठाँउहरुमा रसियन सेना र सुराकी रहेको दाबी गर्दै आइरहेको छ, त्यस क्षेत्रमा रसियन सेना र सुराकीहरु रहेको पत्ता लगाउन हामीलाई कठिन पर्यो । त्यतिमात्र नभएर रसियन सेनाहरु सैनिक पोसाकमा त्यसतर्फ तैनाथ रहेको भन्ने कुरा पत्याउन पनि गाह्रो पर्यो । किनकि यदि त्यहाँ रसियन सेना र सुराकीहरु रहेको भए युक्रेनका जनता र ती रसियन सेनाबीच दुस्मनीपूर्ण व्यवहार हुने थियो । एउटा साथी र अर्को दुस्मन संगै रहने–बस्ने कुरा पत्याउन अलि कठिन छ । बरु के कुरा अलि पत्यार लाग्दो हुनसक्छ भने, रसियाले मस्कोबाटै युक्रेनमा हलचल मच्चाएको हुनसक्छ । हामीले ती व्यक्ति जसको तस्वीर ह्वाइट हाउसले रसियन सैनिक भनेर प्रचार प्रसारमा ल्याएको छ ती ब्यक्तिसंग कुराकानी गर्न पुग्यौं । उनले हाँस्दै भने ‘केही पत्रकारहरुले मेरो फोटो खिच्न जबरजस्ती गरे । म अहिलेसम्म जर्जिया गएकै छैन । हो, मोसाजेश रसियन हुन् र उनले दक्षिणी रुसको सिमाक्षेत्रमा राष्ट्रिय रक्षकका रुपमा आउन आफैंले रसियन सरकारसंग अनुरोध गरेका थिए ।
रस्साको सहयोगबिना युक्रेन बाँच्न सक्तैन भन्दै आन्दोलनमा उत्रिएका (जसलाई अमेरिकी र पश्चिमेलीहरुले रसियन पृथकतावादी भन्ने गर्दछन्) नेता बाटसेलोम पानोमाजोभले टाइमसंग अन्तरवार्ता दिँदै अहिलेसम्म एउटा पनि रसियन सेना युक्रेनको स्लोभाजान्सोकमा नआएको दाबी गरेका छन् ।
रसियन सेना युक्रेनमा आएको प्रमाण भन्दै एउटा फोटो प्रचारमा ल्याएको तीन दिनपछि अमेरिकाले रुसी सैनिक हवाइजहाज युक्रेन माथि उडेको दाबी गरेको छ ।
क्रेमेल पनि कम छैन प्रोपागाण्डाका लागि
एक समाचारका अनुसार माक्सिम डोनोयुक नामक एक फोटो ग्राफर युक्रेन समस्या सुरु भएदेखिनै फोटो खिच्दै र आफ्ना फोटोहरु विभिन्न संचार माध्यमहरुलाई दिने मात्र नभएर आफैंले पनि इन्टरनेटमा अपलोड गरेको बताउँछन् । उनले केही दिनअघि इन्टरनेटमार्फत प्रकाशित गरेको एउटा फोटोलाई युक्रेनी मिडियाले अटारबटार गरी पुनः प्रसारण गरेपछि रुसले आफ्ना सेना वा सुराकी स्लोमोजान्सकमा नभएको तर रसियनहरु आफ्नो खुसीले सिमाक्षेत्रमा गएको प्रतिकृया दिएको थियो ।
डोनोयुकले युक्रेनमा आन्दोलनको सुरुदेखिनै घटनास्थलका फोटोहरु खिच्ने र प्रकाशनका लागि दिने गरेको बताउँछन् । तीमध्ये एउटा फोटो रसियन सैनिकको भुवादारी टोपी लगाएको थियो । उनका फोटो ‘युक्राइनिस प्राभ्दा’ भन्ने वेबसाइटमा आउने गर्दछ ।
वासिंगटन र किभले प्रोपागान्डा गरेजस्तै मस्कोले पनि युक्रेनको आन्दोलनबारे प्रोपागान्डा गर्ने गरेको छ । जस्तै सिआइए निर्देशक जोन ब्रेनेन् व्यक्तिगतरुपमै युक्रेनको राजधानी किभ आएको र युक्रेनका सेनालाई पूर्वी युक्रेनमा आन्दोलनरत ‘रसियन पृथकतावादी’विरुद्ध उक्साएको दाबी गरेको छ । अमेरिकी पक्षले भने सिआइएका निर्देशक जोन ब्रेनेनको नियमित भ्रमणमध्ये युक्रेनमा संयोगले त्यो भ्रमण परेको तर युक्रेनका सेनालाई पूर्वी युक्रेनमा अहिले भैरहेको पृथकतावादीहरुको आन्दोलनविरुद्ध नउक्साएको प्रतिकृया दिएको छ । तर अमेरिकी पक्षबाट भने यो प्रतिकृया निकै ढिलो आयो । त्यसैले संसारका अरबौं सर्वसाधारण जनतामा एउटा प्रश्न निरुत्तर भएर उभिएको छ–सिआइएका निर्देशक यहं बेला किन किभ आए ?
जर्मनीमा प्रकाशित हुने जर्मनी भाषाको प्रसिद्ध साप्ताहिक पत्रिका ‘डि छाइट’संग कुरा गर्दै शितयुद्ध ताका ७० को दशकका जर्मनीका पूर्वचान्सलर, रक्षा एवं अर्थमन्त्रीसमेत रहेका ९४ वर्षीय हेल्मुट स्मिथको भने युक्रेनको समस्याबारे अलि फरक तर्क रहेको छ ।
जर्मनीको इतिहासमै एक सफल चान्सलर एवं चतुर राजनीतिज्ञका रुपमा लिइने पूर्व चान्सलरका अनुसार युक्रेन यसअघि पनि कहिल्यै स्वतन्त्र थिएन । युक्रेन कहिले पोलेण्डको त कहिले अष्ट्रिया वा कहिले रुसलैण्डको अन्तर्गत रहँदै आएको छ । यसअर्थमा रुसको चाहना बुझ्नुपर्ने उनको तर्क छ । उनका अनुसार युरोपियन युनियन यस सवालमा किन रुसविरोधीको रुपमा उभिएको छ, बुझ्न कठिन छ ।
उनी भन्छन्– अमेरिका र रुसबीच कुनै किसिमको बन्द व्यापार, सामाजिक सम्बन्ध वा साँस्कृतिक सम्बन्ध शून्यप्रायः छ । तर युरोपको सवालमा त्यसो होइन । युरोपको रुससंग थुप्रै कुराहरु जेलिएका छन् । सामाजिक, साँस्कृतिक र आर्थिक सम्बन्धका कुरा गर्ने हो भने अहिलेको अवस्थामा रुस र युरोपियन युनियनको सम्बन्ध निकै गाढा हुनुपर्ने हो । यदि रुसले गलत गरेको छ भने ‘गलत भयो यसमा सुधार गर’ भनेर सल्लाहा र सम्झौताबाट समाधानको बाटो खोज्नुपर्नेमा आर्थिक नाकाबन्दी गर्नु वा सैनिक परिचालन गर्ने धम्की दिनु र एकतर्फी दोषी ठहर्याउनु सायद बुद्धीमानी होइन । कुनै पनि काम त्यसको प्रतिकूल असर के पर्छ भन्ने नसोचिकन र अरु कसैको लहलहैमा लागेर गर्दा कहिलेकाहीँ ठूलै नोक्सानी बेहोर्नुपर्ने हुनसक्छ ।’
उनी अगाडि भन्छन्– राजनीतिमा मुलुकको उत्पति र जरा कहाँबाट आएको हो ? र यसको विकाश कसरी हुँदै आइरहेको छ भन्ने बुझ्नु जरुरी हुन्छ । यदि ‘फुटाउ र राज गर’ भन्नेतिर मात्र लाग्यो भने त्यसले कालान्तरमा आफैंलाई नोक्सान गर्नेछ । युक्रेनको सवालमा अमेरिका र हामी पश्चिमेलीहरु सयौं वर्षको इतिहासलाई बिर्सेर बीस वर्षदेखिको इतिहासलाई मात्र बोकेर उफ्रिरहेका छौं ।
मैले कहिलेकाहीँ आफैंलाई प्रश्न गर्दछु कि– सोभियत संघको विघटनपछि युक्रेनले आफूलाइ एक रिपब्लिक राज्य भन्यो तर यहाँ प्रश्न उठ्छ त्यसको सामाजिक, राजनैतिक, साँस्कृतिक र आर्थिक सम्बन्ध यसबीच पनि कहाँ जोडिएको थियो वा छ ? के यस कुरालाई हामी नजरअन्दाज गर्न सक्छौं ? चाहे हामी बेलारुस, युक्रेन वा अन्य मुलुक जुन सोभियत संघको विघटनपछि रिपब्लिक भनिएका छन्, के ती मुलुकहरु यसअघि कहिल्यै स्वतन्त्र राज्यका रुपमा देख्यौं ? त्यसैले युरोपियन युनियनको यो गलत बुझाइले, हामी आफैले रुखको टुप्पोमा बसेर फेद काटिरहेका छौ ।
हाम्रो आफ्नै बुझाइले हामी आफ्नो शक्तिलाई क्षीण गराइरहेका छौं । हुनसक्छ अहिलेका युवा राजनीतिज्ञको सोचाइमा यतिखेर रुसविरुद्ध जाइलाग्दा रुसलाई कमजोर वा सानो बनाउन सकिन्छ भन्ने होला । सायद त्यो सोचाइ शीतयुद्धपछि पलायो होला तर यतिखेर युक्रेनको सवालमा सयौं वर्षको इतिहासलाई बिर्सनु भनेको राजनीतिमा विषवमन गर्नु जस्तै हो ।’

Leave a Reply