काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले सत्तारुढ दलहरु भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा लागि परेको आरोप लगाएका छन् ।
संविधानसभाका अध्यक्षसमेत रहेका उपाध्यक्ष नेम्वाङले विगतमा पनि निर्वाचनमा जाने भन्दा डराउने गरेका केही साथीहरुले तोकिएको स्थानीय तहको निर्वाचन पछि सार्ने खेल खेलिरहेको बताएका हुन् ।
प्रेस चौतारी नेपाल, बागमती प्रदेश, प्रतिष्ठान र एसोसिएटले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीको जोडबलमा घोषणा गरिएको स्थानीय तहको निर्वाचन पनि सत्तारुढ दलहरुले सार्ने प्रयास गरिरहेको भन्दै आपत्ति जनाए ।
उपाध्यक्ष नेम्वाङले प्रचण्ड, माधव नेपालहरुप्रति संकेत गर्दै केही साथीहरु निर्वाचन भनेपछि किन डराउँछन् ? भनि प्रश्न गरे ।
उनले भने, ‘केही साथीहरु किन जनतामा जाने भन्दा डराउँछन ? प्रतिगमन भन्छन । भरसक जनतामा जाने मिति पर सार्छन । बल्लबल्ल तपाईं–हामीले लडेर स्थानीय तहको निर्वाचनको मिति तोकेका छौं । तर अहिले पनि भित्रभित्र खेल भईरहेको छ । तपाईहरुलाई आग्रह गर्न चाहन्छु, निवेदन गर्न चाहन्छु–किन केही साथीहरु जनतामा जान डराउँछन् ?
उनले अगाडि भने, ‘यो देशको राष्ट्रियताको सन्दर्भमा लडाई लड्ने सिलसिलामा लिपुलेक, लिम्पियाधुराको चुच्चेनक्शा हामीले बनायौं । यो कम ठूलो कुरा थियो ? कम्ति चुनौति थियो यसमा ? एउटै कुराबाट थाहा हुन्छ–यो पछिल्लो सरकारले हामीले त्यतिबेला सरकारको १०० दिनको काम सार्वजनिक गर्ने बेलामा हामीले चुच्चे नक्शा छापेका थियौं । तर यो सरकारले सय दिनको काम सार्वजनिक गर्ने बेलामा हेर्नुस्त ? त्यहाँ नेपालको लागो छ । तर लिपुलेक, लिम्पियाधुरा सहितको चुच्चे नक्शा गायक छ । नेपालको नक्शा छ । तर चुच्चे नक्सा छैन । अव हाम्रो लागि र नेपाली जनताको लागि त्यो चुच्चे नक्सा कतिप्रिय छ ? तर प्रधानमन्त्री शेरबहादुर देउवाले सो नक्सा नै गायव पार्नु भयो ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीले ठूलो चुनौति मोलेर बनाएको नेपालको चुच्चे नक्सा आफैले सार्वजनिक गरेको सय दिनको कार्यक्रमबाट समेत गायब बनाएको भन्दै उपाध्यक्ष नेम्वाङले आक्रोश व्यक्त गरे ।
नेपाली जनताको निम्ति नेपालको भूमि समेटेर आफ्नो पार्टी नेतृत्वको सरकारले बनाएको सो चुच्चे नक्सा प्रिय भएको तर वर्तमान सरकारले गायव बनाउने गरेको उनको भनाई थियो ।

Leave a Reply