काठमाडौं । सत्ता गठबन्धनबाटै एमसीसी अनुमोदन गर्न माओवादी अध्यक्ष प्रचण्डले दौडधूप बढाएपछि प्रमुख विपक्षी नेकपा एमाले र सत्तारुढ नेपाली कांग्रेसका दोस्रो तहका नेताहरुबीचको वार्ता निष्कर्षविहीन भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दुवै पार्टीका दोस्रो तहका नेता छलफलमा थिए ।
प्रतिनिधिसभालाई सुचारु गरेर एमसीसीलाई राष्ट्रिय सहमतिका साथ अनुमोदन गर्ने आफूहरुको प्रस्ताव एमालेले स्वीकार नगरेको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
एमालेले कांग्रेससँग संसदमा आफूहरु उपस्थित भएर छलफलमा भाग लिने वातावरण बनाउने दायित्व सरकारको र सत्ता गठबन्धनको भएको जवाफ दिएको छ ।
वार्तामा सहभागी एमाले महासचिव शंकर पोखरेलले भने एमसीसीका बारेमा गठबन्धनको राय प्रष्ट हुनुपर्ने बताए । जबसम्म सरकारले र सत्ता गठबन्धनको धारणा आउँदैन तबसम्म प्रतिपक्षको धारणाको अर्थ नहुने पोखरेलले बताए ।

Leave a Reply