एमसीसीमा हस्ताक्षर गर्नेलाई जनताले कारवाही गर्नेछन् : वामदेव

काठमाडौं । पूर्व एमाले नेता एवं राष्ट्रियसभाका सदस्य वामदेव गौतमले अमेरिकी सहायता परियोजना एमसीसी आउँदा नेपालको अभूतपूर्व विकास हुने भनेर हल्ला मच्चाइएको आरोप लगाएका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै गौमतले यसले नेपालको पराराष्ट्र नीतिमा समेत असर गर्ने दावी गरेका छन् ।

‘अहिले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्वाधिनतामै गम्भीर आँच पुग्ने गरी एकीकृत नेपालको उदयदेखि आजसम्म अवलम्बन गर्दै आएको असंलग्न पराराष्ट्र नीतिको समेत धज्जी उडाउने गरी अमेरिकी सहयोगमा नेपालको अभूतपूर्व विकास गर्ने हल्ला मच्चाउँदै एमसीसी परियोजना ल्याइएको छ,’ गौतमको प्रश्न छ, ‘के विकासको नाममा नेपालको राष्ट्रिय प्रतिष्ठा, स्वतन्त्रता, स्वाधिनता र सार्वभौमिकता माथि खेलवाड गर्न पाइन्छ रु सरकारले यसको जवाफ नेपाली जनतालाई स्पष्ट बुझने गरी दिनुपर्छ ।’

गौतमले एमसीसीमा हस्ताक्षर गर्नेलाई जनताले कारवाही गर्ने समेत चेतावनी दिएका छन् । ‘परियोजनाको मूल दस्तावेज र त्यसका अन्य सहायक दस्तावेजलाई अध्ययन गर्दा इतिहासमा कहिल्यै कसैको उपनिवेश हुन नपरेको शान्तिप्रिय देश नेपाल अब कुनै महाशक्ति राष्ट्रको अधिनस्थ हुनुपर्ने हो कि भन्ने खतरा उत्पन्न गराइएको छ,’ उनको भनाइ छ, ‘यस्तो खतरनाक विषयलाई आँखा चिम्लेर नेपालको संविधानलाई वेवास्ता गर्दै हस्ताक्षर गर्ने व्यक्तिहरुलाई अहिले नसकिए पनि कुनै दिन नेपाली जनताले कारबाही गरेर छोड्ने छन् ।’

एमसीसी सदनमा टेबल गर्नुले यो सकार जनताप्रति इमान्दार नरहेको स्पष्ट हुने उनको भनाइ छ । गौतमले भनेका छन्, ‘यो सम्झौतालाई परिभाषित गर्ने संघीय कानून नबनिरहेको र देशव्यापी रुपमा जनताले विरोध गरिरहेको अवस्थामा संसद्बाट अनुमोदन गराउन प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्नाले पनि यो सरकार नेपाल र नेपाली जनताप्रति इमान्दार छैन भन्ने कुरा स्पष्ट भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *