राजसंस्थाले एउटा गुट बोकेपछि राप्रपा नेपाल ब्यूँताउनु पर्यो : कमल थापा

काठमाडौं । राप्रपा नेपाल पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले राजसंस्थाले राप्रपाभित्रको एउटा गुटलाई समाउने र एउटालाई पाखा लगाउने काम गरेकाले पुरानै पार्टी ब्यूँताउनु परेको बताएका छन् ।

राजसंस्थाप्रति आक्रोशित मुद्रामा प्रस्तुत भएका थापाले भने- राज संस्थाले एउटा पार्टीको पनि गुट बोक्न थालेपछि त्यो संस्थाको मर्यादामाथि नै प्रश्न उठ्यो पार्टीभित्र समस्या भयो । त्यसकारण बाध्य भएर राप्रपा नेपाल ब्यूँताउनु पर्यो ।

‘योजनाबद्ध रुपमा धकेल्ने प्रयास भयो र सैद्धान्तिकरुपमा राप्रपामा विचलन आएपछि यो निर्णय लिन बाध्य भएँ’, उनले भने, ‘पतन भएर टुलुटुलु आफैंलाई गरेको अपमान सहन सकिनँ ।’ पाँच वर्षपछि आफ्नै घरमा फर्कन पाएको भन्दै उनले खुसी व्यक्त गरे ।

‘राजनीतिबाटै विश्राम लिन पनि खोजेको थिएँ, तर साथीहरुको आग्रहलाई नकार्न सकिनँ’, पार्टी घोषणासभामा थापाले भने, ‘विगतमा जे भयो, भयो, अब म कहिल्यै कार्यकर्तालाई धोका दिने छैन ।’

राप्रपाको केही समयअघि सम्पन्न महाधिवेशनमा अध्यक्षका उम्मेदवार थापा पराजित भएका थिए । प्रतिस्पर्धी राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले नयाँ पार्टी खोल्ने घोषणा गरेका थिए । यद्यपि, थापाले पार्टी फुटाएको नभइ पुरानै घरमा फर्किएको बताएका छन् ।

पाँच वर्षअघि राप्रपा नेपाल र राप्रपाबीच एकता भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *