बुटवल र दाङबाट ११ बन्दकर्ता पक्राउ

रुपन्देही । एमसीसी विरोध गर्दैै विप्लव नेतृत्वको नेकपासहित पाँच दलीय मोर्चाद्वारा आह्वान गरिएको नेपाल बन्दका क्रममा रुपन्देहीमा ९ जना पक्राउ परेका छन् । भने दाङमा २ जना पक्राउ परेका छन् ।

प्रहरीले बुटवल बसपार्कबाट विप्लव नेतृत्वको नेकपा रुपन्देहीका जिल्ला सदस्य नवीन थारु, नेकपा (क्रान्तिकारी माओवादी) का नेता प्रेम सुवेदीसहित ९ जनालाई गिरफ्तार गरेको हो ।

प्रहरीले विप्लव समूहको युवा संगठन नेपालका केन्द्रीय सदस्य एवम् रुपन्देही जिल्ला इन्चार्ज सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारु, नेकपा क्रान्तिकारी माओवादीका प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शशी विक,तुलराज विकलगायत नेता कार्यकर्तालाई पनि पक्राउ गरेको छ ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । एमसीसीको विरोध गर्दै नेकपासहितका पाँच दलीय मोर्चाले गरेको बन्दको प्रभाव रुपन्देही र आसपासका जिल्लामा आंशिकरुपमा परेको छ । बन्दका कारण निजी र सरकारी विद्यालयहरू बन्द छन् ।

सिद्धार्थ राजमार्ग र पूर्व–पश्चिम राजमार्गमा छिटफुटरुपमा सवारी साधन चलेका छन् । बजार तथा पसलहरू बन्द रहेका छन् ।

उता दाङका मुख्य बजारहरू घोराही, तुलसीपुर, लमही, भालुबाङ, सिसहनियाँ, गढवा क्षेत्र सुनसान छन् । बन्दमा अप्रिय घटना हुन नदिन बजारका चोक–चोकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

सदरमुकाम घोराही बजारमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरु राष्ट्रिय झण्डा लिएर सडकमा उभिएका छन् ।

बन्द गराउँदै हिंडेको आरोपमा प्रहरीले विप्लव निकट अखिल क्रान्तिकारीका दाङ जिल्ला अध्यक्ष मनोज थापा र थारु मुक्ती मोर्चाका जिल्ला सदस्य अशोक चौधरीलाई भालुवाङबाट नियन्त्रणमा लिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *