२७ वर्षपछि पनि सेलिन पर्खिरहेका जेस्सी

तपाईं अविवाहित हुनुहुन्छ र एकदिने यात्रामा एक्लै निस्कनुभएको छ । तपाईंलाई थाहा छ, विवाहित भइसकेपछि यस्तो यात्रा सम्भव हुनेछैन । अथवा, एक्लै मनमौजी यात्रामा निस्कने छुट हुनेछैन ।

तपाईंसँग तपाईंको जीवनसाथी हुनेछन्, बालबच्चा हुनेछन् । जिम्मेवारी हुनेछ । तपाईंले चालेका प्रत्येक पाइलाले जवाफदेहिता माग्नेछ । जवाफ दिँदै हिँड्नुको अर्कै झ्याउलो, जवाफ नदिइ बेपर्वाह हिँड्नुको अर्कै मज्जा !

मानौं, तपाई युवक हो र एक्लै यात्रामा एकजना युवती भेटियो । जो तपार्इं जस्तै यात्रामा निस्किएकी छे । तपाईं जीवनलाई जसरी बुझ्नुहुन्छ, ऊ पनि त्यसरी नै बुझ्छे । तपाईंको सोच मात्रै होइन, चाहना, रहर र बुझाइ पनि मिल्छ । भलै सपना र गन्तव्य मात्रै फरक छ ।

त्यो एकदिने यात्रामा तपाईंहरु एकदमै नजिक हुनुभयो । त्यो एकदिने सहयात्रा एउटा सिंगो जिन्दगी बाँच्नुभन्दा सुन्दर थियो । अथवा एउटा सिंगो जिन्दगी बाँचेजस्तै थियो ।

हिँड्दाहिँड्दै तपाईंहरु छुट्टिने दोबाटो आइपुग्यो । तपाईंहरु छुट्टिनु भयो । तर, तपाईंहरुले नम्बर साट्नुभएन । ठेगाना साट्नुभएन । छुट्टिएपछि दुवैले एकअर्कालाई सम्पर्क नगर्ने निर्णय लिनुभयो ।

तर, आउँदो छ महिना ठ्याक्कै त्यही दिन, त्यही ठाउँमा फेरि भेट्ने सहमति गर्नुभयो ।

दिन बिते, महिना बिते । फेरि भेट्ने भनिएको समय आयो । तर, तपाईंहरुको भेट भएन । एकैपटक नौ वर्षपछि भेट भयो । तपाईंले विवाह गरिसक्नुभयो । तपाईंसँग श्रीमती छे । चार वर्षीय छोरो छ । युवतीले विवाह गरेकी छैनन्, तर पनि सम्बन्धमा छिन् ।

तपाईं आफ्नो वैवाहिक जीवन त्यो एक दिने सहयात्रा झैं होस् भन्ने चाहनुहुन्छ । युवती पनि त्यो एक दिने सहयात्रा झैं सम्बन्ध चाहन्छिन्् । तर, तपाईंहरु दुवैको त्यो चाहना पूरा भएको छैन ।

यो कथा हो, रिचर्ड लिंनलेटरद्वारा निर्देशित ‘बिफोर’ त्रिलोजी फिल्मको । ‘बिफोर सनराइज’, ‘विफोर सनसेट’ र ‘बिफोर मिडनाइट’ गरी तीन श्रृंखलामा विभाजित फिल्म नौ–नौ वर्षको अन्तरालमा बनाएका छन् लिंकलेटरले । एकै कलाकारलाई लिएर बनाएको यस फिल्मले उमेरको फरकपन मात्रै देखाउँदैन, उमेरअनुसार सम्बन्धलाई हेर्ने, बुझ्ने दृष्टिकोणलाई पनि देखाउँछ ।

उमेरअनुसार मानिसको जीवनप्रतिको बुझाइ फरक हुन्छन् । उमेरअनुसार मानिसको सम्बन्ध, प्रेम, जिम्मेवारीलाई अथ्र्याउने तरिका फरक हुन्छन् । यो त्रिलोजीले यही कुरा दृश्यमा बताइदिन्छ ।

०००

अमेरिका फिरेका एक युवक जेस्सी (एथन हवेक) र फ्रान्स हिँडेकी एक युवती सेलिन (जुली डेप्ली) ट्रेनमा अष्ट्रियाको भियना जाँदैछन् । त्यहाँबाट जेस्सी अमेरिका उड्नेछन् । सेलिन पेरिस लाग्नेछिन् । दुवैको यात्राको गन्तव्य र सपना फरक छ ।

तर, एकचिज मिल्छ,– दुवै पुस्तकप्रेमी हुन् ।

पुस्तकको प्रसंगले जोडेको उनीहरुको गफ छुटिने ट्रेन स्टेसनसम्मै पुग्छ । छुटिसकेका पनि हुन्छन् । तर, जेस्सी फर्केर सेलिनलाई एक रात भियनाको गल्लीमै बिताउने प्रस्ताव गर्छन् । अनि भोलिपल्टको फ्लाइटमा अमेरिका उड्ने बताउँछन् ।

सेलिन पनि सहमत हुन्छिन् ।

उनीहरु भियनाको गल्लीमा हिँड्न थाल्छन् । कहिले बर्थ डान्सिङ भइरहेको ठाउँमा पुग्छन् । युरोपियन संस्कृतिअनुसार गर्भवती महिलाले बच्चा जन्माउनुअघि एक प्रकारको डान्स गर्छन् । जसको अर्थ हुन्छ, उसले बच्चालाई सहज जन्म देओस् । बच्चालाई जन्म दिँदै गर्दा कुनै तनाव नहोस् ।

हिँड्दै गर्दा साँझ पर्छ । रात पर्छ । तर, उनीहरुले सोचेका हुँदैनन् कि त्यो एक रातको सनकी घुमाइ त्यति यव्य हुनेछ । त्यति सम्झनलायक हुनेछ । एक दिनमै कोहीसँग यत्ति क्लोज होइन्छ भनेर पनि सोचेका हुँदैनन् ।

एउटा दृश्य छ– सेलिनले जेस्सीको आँखामा लामो समय नियालेर सोध्छे, ‘तिमी मलाई किस गर्न चाहन्छौ ?’ जेस्सी ‘हँ ?’ भनेर तर्सिन्छन् । र टाउको हल्लाउँछन् ।

तर, सेलिनलाई ‘लङ डिस्टान्स रिलेसनसिप’ मन पर्दैन । जे हुन्छ, अहिले नै होस् भन्ने मान्यता छ उनको ।

भियनाको गल्ली, पार्क, रेस्टुराँमा बरालिँदैमा उनीहरुको एउटा रात सकिन्छ ।

भोलिपल्ट बिहान उनीहरु छुट्ने दिन आउँछ । दुवै विस्तारै स्टेसनतिर अगाडि बढ्छन् । त्यहाँबाट सेलिन पेरिस र जेस्सी अमेरिका जानुछ । दुवैको एकै सर्त छ, अब फेरि नभेट्ने, सम्पर्कसम्म नगर्ने ।

तर, फेरि पनि भेट्ने । कसरी भेट्ने ?

एक वर्षपछि त्यही ठाउँमा भेट्ने । होइन, होइन, एक वर्ष त धेरै लामो समय हो । छ महिनापछि भेट्ने । त्यही स्टेसनमा भेट्ने । ठिक १६ डिसेम्बरमा भेट्ने । तर, बीचमा कुनै पनि माध्यमबाट सम्पर्कमा नरहने ।

यसपछि उनीहरु छुट्छन् ।

पहिलो श्रृंखला लिंकलेटरले यहीँ सकाइदिएका छन् । १९९५ को यो अष्ट्रियन फिल्म त्यस समय ब्लकबस्टर भयो । साथै दर्शक अर्को श्रंखलाको प्रतीक्षामा रहे ।

दर्शकको त्यो प्रतीक्षा नौ वर्षपछि पूरा भयो, २००४ मा ।

जेस्सी त्यही रातको कथा लेखेर प्रसिद्ध उपन्यासकार बनिसकेका छन् । सेलिन पेरिसमै छिन् । जेस्सी किताबको प्रमोसनका लागि पेरिस जाँदा फेरि भेट हुन्छ । जेस्सी र सेलिन अलि बुढो पनि भएका छन् । जेस्सी विवाहित भइसकेका छन् । चार वर्षको छोरो छ । सेलिनको पनि जर्नालिस्ट फोटोग्राफरसँग अफेयर छ । तर, उनीहरुले आ–आफ्नो सम्बन्धमा त्यो खुसी भेटाएका छैनन्, जो उनीहरुले भियनाको गल्लीमा बिताएको रातमा भेटाएका थिए ।

१६ डिसेम्बरमा किन भेट भएन ? कस्ता परिबन्धहरु थिए ? यस्तै प्रश्नका जवाफको खोजीमा अगाडि बढ्छ फिल्म ।

संवादको एउटा दृश्य छ– जेस्सीले सेलिनलाई सोध्छ, ‘किन कोही जोडी खुसी हुँदैनन् ?’ सेलिन भन्छिन्, ‘तिमी मलाई यो सवाल किन गरिरहेका छौ ?’

जेस्सीले भन्छन्, ‘त्यो रातको सम्झना यस्तो बन्यो कि मैले मेरी श्रीमतीसँग हरेक रात त्यही केमेस्ट्रीको अपेक्षा गरेँ । उसको (श्रीमती) केही गल्ती थिएन, तर म अहिले सिर्फ ड्युटी मात्रै निभाइरहेको छु सम्बन्धमा ।’

अर्को दृश्य छ– जेस्सीको फ्लाइट छ । तर, उसलाई छुटिहाल्न मन छैन । जेस्सीले सोध्छ, ‘के तिमी जीवनमा खुसी छौ ?’ सेलिन भन्छिन्, ‘नौ वर्षपछि मिलेका छौ तिमी, तर विवाहित छौ । तिमीले नै नियम बनाएका थियौ, नम्बर नलिने, सम्पर्क नगर्ने । आज पनि मसँग धेरै केटाहरु भेटिन्छन्, तर त्यो भियनामा भेटिएको तिमीजस्तो भेटिँदैन ।’

छुटिने बेला सेलिन अफैंले लेखेर कम्पोज गरेको गीत जेस्सीलाई सुनाउँछिन् । र भन्छिन्, ‘तिमीले त आफ्नो कुरा उपन्यासको माध्यमबाट दुनियाँलाई भन्यौ । तर, म कसलाई भनुँ ?’

यहाँसम्मको कथा भनेका छन् लिंकलेटरले । यसपछि अर्को सिरिज छ, २०१३ मा आएको ‘बिफोर मिडनाइट’ । त्यहाँ जेस्सीले डिभोर्स गरिसकेका छन् । सेलिनले पनि ब्वाइफ्रेण्ड छाडिसकेका छन् । र उनीहरुसँग दुईवटा ट्वीन्स छोरीहरु छन् । उनीहरु चाहेकै व्यक्तिसँग छन्, तर सँगै रहेपछि सम्बन्धमा दरार जरुर आइहाल्छ । त्यही दरारहरुबीचमा फिल्म सकिएको छ ।

०००

फिल्ममा दर्शकलाई इंगेज गराउन लिंकलेटरले लामालामा सटहरुको प्रयोग गरेका छन् । वर्तमान काल महसुस गराउन गल्लीहरुमा क्यामेरालाई बेपर्वाह दौडाएका छन् । रातको महसुस गराउन त्यसरी नै खिचिएको छ । लाइटको प्रयोग उस्तै सुन्दर तरिकाले गरिएको छ ।

दर्शकलाई वर्तमानकै कथा हो भन्नका लागि क्यामेरा जति सुरुचिपूर्ण तरिकाले चलाएका छन्, त्यसरी नै लोकेसन र कस्टमको प्रयोग गरेका छन् । लगभग एकै ड्रेसमा सकाएको यो त्रिलोजी जति सुन्दर छ, उत्ति नै मिठो कथावाचन पनि छ । साधारण कथालाई कसरी सुरुचिपूर्वक भन्न सकिन्छ, एउटा उदाहरण हो यो फिल्म ।

यस फिल्मको स्क्रिप्ट सेलिन उर्फ जुली डेप्ली आफैं सक्रिय भएर लेखेकी छन् । नौ–नौ वर्षको अन्तरालमा खिचिएको यो फिल्मको अर्को सिरिज बन्यो भने २०२२ मा प्रदर्शनमा आउनुपर्छ ।

२०२२ पनि आइसक्यो । लिंकलेटरले यसका लागि पनि तयारी गरिसकेका छन् । तर, सेलिनको भूमिकामा रहेकी डेप्लीले अबको श्रृंखला नखेल्ने बताएकी छन् । तर, ५१ वर्षकी डेप्लीको स्क्रिप्ट र अभिनयले एउटा बताउँछ, सौन्दर्य भन्ने चिज उमेर अनुसार फरक–फरक बिन्दुमा उभिन्छ ।

बैंसको बेला रुप हो सौन्दर्य । म्याच्युर्ड हुँदै गएपछि करियर सौन्दर्य भएर आउँछ । र बुढेसकालमा अनुहारको चाउरीमा छोपिएको हाँसो सौन्दर्य हो । ‘बिफोर सनराइज’ मा २१–२२ कि सेलिन ‘बिफोर मिडनाइट’सम्म आइपुग्दा बुढी हुँदै जान्छिन् । जति बूढी हुँदै जान्छिन्, दर्शकलाई उनी उत्तिकै सुन्दर लाग्दै जान्छ । जति बूढो हुँदै जान्छ, उत्ति नै प्रिय बन्दै जान्छ जेस्सी ।

‘युरोपा युरोपा’, ‘थ्री कलर्स ह्वाइट’ जस्ता सिनेमा खेलेकी डेप्लीलाई फेरि हेर्न पनि दर्शकले पर्खिरहेकी छन् । उनले त्यो चाहना पूरा गर्लिन् या नगर्लिन् त्यसको प्रतीक्षा रह्यो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *