लाखौं रकम चिठ्ठा परेको भन्दै डीएसपीलाई नै ठगी गिरोहको म्यासेज

काठमाडौं । भाइबर, ह्वाट्स अप नम्बरमा लक्की ड्रमा तपाईंलाई हजारौँ डलरको चिठ्ठा परेको छ भन्दै ठगी गर्ने गिरोह पछिल्लो समय सक्रिय भएको पाइएको छ ।

मंगलबार आफूलाई ५० हजार अमेरिकी डलरको चिठ्ठा परेको छ भन्दै विदेशी नम्बरबाट ह्वाट्स एपमा अडिओ म्यासेज पठाएको डीएसपी किरणजङ्ग कुँवरले उल्लेख गरेका छन् । आफूलाई प्राप्त भएको अडिओ म्यासेज उनले सामाजिक सञ्जाल फेसबुकमा सेयर पनि गरेका छन् ।

‘मलाई समेत ठगहरूले आज यस्तो अडिओ म्यासेज पठाए । धेरै नेपालीहरू यस्ता ठगहरूको फन्दामा परेका छन्’, अडिओ म्यासेज सेयर गर्दै कुँवरले लेखेका छन्, ‘तपाईंहरूलाई पनि यस्तो प्रकारको म्यासेज कसैले पठाएमा नेपाल प्रहरीलाई जानकारी गराउनु होला। भाइबर, फेसबुक, ह्वाट्स एप आदिमा यस्ता मेसेजहरू प्राप्त भएमा कुनै प्रलोभनमा नपर्नुहोला ।’

कुँवरलाई पठाएको म्यासेजमा उनको ह्वाट्सअप नम्बरलाई ह्वाट्स एप कम्पनीले ५० हजार अमेरिकी डलरको पुरस्कारका लागि छनोट गरेको र त्यसका लागि नेपाल, भुटान, भारत, दुबई र अमेरिकाका नम्बरलाई प्रतिस्पर्धा गराइएको सुन्न सकिन्छ। विश्वास दिलाउन हरेक देशबाट ५०/५० वटा नम्बरबीच प्रतिस्पर्धा गराइएको पनि गिरोहको अडिओ म्यासेजमा छ ।

अडिओ म्यासेजमा चिठ्ठावापतको रकम स्टेट बैंक अफ इन्डियामा पठाइएको र त्यो रकम लिनका लागि धर्मेन्द्रकुमार भन्ने व्यक्तिलाई सम्पर्क गर्न भनेर उनको ह्वाट्स एप नम्बर दिइएको छ । धर्मेन्द्र बैंक म्यानेजर रहेको उनले उक्त रकम नेपालमा कसरी प्राप्त गर्न सकिन्छ भनेर बताउने छन् भनिएको छ ।

गिरोहले चिठ्ठामा परेको पैसा प्राप्त गर्न करवापतको पैसा चाहिने भन्दै अकाउन्ट नम्बर दिएर त्यसमा पैसा जम्मा भए चिठ्ठा परेको रकम प्राप्त गर्न सकिने बताएर सर्वसाधारणलाई ठग्ने गरेका छन् ।

‘गिरोहहरूले अन्धाधुन्द यस्ता अडिओ म्यासेज पठाउने गर्छन् । जो कोहीले पनि यस्तो म्यासेज प्राप्त गर्न सक्छन्’, महानगरीय अपराध महाशाखाका एक अनुसन्धान अधिकारीले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *