अदालतले न्याय नदिएको भन्दै फेसबुक लाइभमा ‘कुमारी आमा’को रोदन (भिडिओसहित)

जनकपुरधाम । अविवाहित आमा निहारिका राजपुतले अदालतबाट समेत न्याय पाउन नसकेको भन्दै फेसबुक लाइभमा आएर वेदना पोखेकी छन् । जिल्ला अदालत धनुषाले आरोपी शिवराज श्रेष्ठलाई सफाइ दिएपश्चात उनले यस्तो गुनासो पोखेकी हुन् ।

अदालतको इजलास ५ का न्यायाधीश पशुराम भट्टराईले मुद्दामा अभियोग दावी नपुगेको ठहरसहित आरोपी श्रेष्ठलाई सफाई दिएका थिए् । अदालतका सूचना अधिकारी गंगाप्रसाद मिश्रले आरोपीले कसरी सफाई पाए भन्ने कुरा फैसलाको पूर्णपाठ आएपछि मात्र भन्न सकिने बताए ।

आरोपी श्रेष्ठ सफाई पाएपछि पीडित राजपुत फेसबुक लाइभमा आएर विलौना गरिन् ।

उनले रुँदै भनिन्, ‘मेरो बच्चाले न्याय पाएन । मैले अदालतमाथि अब कसरी विश्वास गर्ने ? मैले यदि आत्महत्या गरेँ भने यसको जिम्मेवार जिल्ला प्रहरी कार्यालय र अदालतका न्यायाधीश हुनेछन् ।’

उनले अदालतका न्यायाधीशमाथि आर्थिक चलखेलको आरोप लगाइन् ।

‘अन्तिम पेशी भनेर म अदालत आउन खोजेकी थिएँ । तर सरकारी वकिलले मलाई रोके,’ उनी भन्छिन्, ‘पेशी सारिदिने भनेको थियो । तर सारेनन् । सरकारी वकिल र न्यायाधीश सबैले पैसा खाएर अपराधीलाई सफाई दिए ।’

महोत्तरीको जलेश्वर घर भएकी निहारिका हाल ३ वर्षीय छोरा लिएर काठमाडौंमा बस्छिन् । उनी न्याय पाउने आशा बोकेर कैयौं पटक जनकपुर अदालत धाएकी थिइन् । उनले उनको अपेक्षाविपरित फैसला अदालतबाट आएको छ । जसले गर्दा उनी विक्षिप्त बनेकी छन् । उनलाई छोरा कसरी पाल्ने र आफू कसरी गुजारा गर्ने भन्ने चिन्ताले सताएको छ ।

निहारिकाको दावी अनुसार करिब ३ वर्ष अगाडी श्रेष्ठले उनलाई प्रेमजालमा पारेर शारीरिक सम्वन्ध राखेका थिए । त्यसपछि नाबालिग उमेरमै उनको गर्भ बसेको थियो । आफू गर्भवती भनेपछि श्रेष्ठले विवाह गर्न नमानेको निहारिकाको भनाइ छ । आफूलाई आर्थिक प्रलोभन देखाएर गर्भको बच्चा फाल्न दवाव दिएको समेत उनले बताएकी छन् ।

तर निहारिकाले मानिनन् । उनले बच्चा जन्माइन् । अहिले उनका छोरा ३ वर्षको भइसकेका छन् । उनी आफूलाई अविवाहित आमाको रूपमा चिनाउने गर्छिन् । आफ्नो वास्तविक नाम र तस्वीर सार्वजनिक गर्न उनले मिडियालाई अनुमति समेत दिएकी छन् ।

अविवाहित आमा बनेरै बाँच्ने तर अपराधीलाई कानूनी कठघरामा उभ्याएर छाड्ने भनेर उनी अदालत पुगेकी थिइन् । तर, अदालतको फैसलाले उनलाई निराश बनाएको छ ।

आरोपी श्रेष्ठले भने निहारिकाबाट जन्मेको बच्चा आफ्नो नभएको बताएका छन् । अदालतमा मुद्दा परेपछि उनी करिब डेढ वर्षसम्म फरार भए । त्यसपछि प्रहरीमार्फत हाजिर भएका उनी थुनामा रहेका थिए । अदालतको फैसलापछि उनले उन्मुक्ती पाएका छन् ।

फेसबुक लाइभ के भनिन् निहारिकाले ?

म अविवाहित आमा निहारिका राजपुत । ३ वर्षदेखि आफ्नो पेटमा बच्चा बोकेर अदालत धाइरहेको थिएँ । जुन मान्छेले मलाई बलात्कार गर्यो, त्यसले आज सफाइ पायो । हाम्रो देशको मरेको न्याय । कसरी म अब कानूनमाथि विश्वास गर्नु रु कसरी सफाई पायो मलाई जवाफ चाहियो । कानूनबाट चाहियो, नेपालको सरकारबाट चाहियो ।

यदि मैले सुसाइड गरेँ भने मेरो बच्चा अनाथ हुन्छ । त्यसको जिम्मेवार कानून हुन्छ, जिल्ला प्रहरी कार्यालय धनुषा हुन्छ । म कसैलाई पनि छाड्दिनँ । सबैले मिलेर पैसा खाएर मलाई अन्यायमा पारेका छन् । मलाई जवाफ चाहियो ।

त्यो मान्छे सात महिनादेखि थुनामा थियो । डेढ वर्षदेखि फरार थियो । यदि अपराधि थिएन भने किन फरार भयो रु किन लुक्यो डेढ वर्ष रु आज उसले सफाई पायो । मेरो बच्चालाई न्याय खोई रु आज म पिडित भएँ, भोली अर्को निहारिका हुनेछ ।

हिजोसम्म मेरो भोलि पेशी छ, आउँ कि नआउँ भन्दा मेरो वकिलले समेत मलाई रोक्यो । सबैले पैसा खाएका छन् । सबैले रोके मलाई, तिमी नआउ, भोलिको पेशी सारिदिन्छु भनेर । जब म त्यहाँ पुग्न सक्दिनँ भनेपछि फैसला गराइयो ।

Comments

One response to “अदालतले न्याय नदिएको भन्दै फेसबुक लाइभमा ‘कुमारी आमा’को रोदन (भिडिओसहित)”

  1. Shree lal Avatar
    Shree lal

    न्याय पाउनु हुनेछ ।don’t worry sarboch ma yachika dair garnu?

Leave a Reply

Your email address will not be published. Required fields are marked *