‘ह्यारीकी प्यारी’ सुटिङलाई पर्वत पुगिन् साम्राज्ञी : हिमपात र ठन्डीले सुटिङ प्रभावित

कुस्मा । फिल्म ह्यारीकी प्यारी सुटिङमा भाग लिन नायिका साम्राज्ञी शाह पर्वतको भुका देउराली पुगेकी छिन् । उनले सोमबारदेखि सेट ज्वाइन गरेकी हुन् ।

यो रोमान्टिक कमेडी ड्रामामा साम्राज्ञीले जितु नेपालसँग अनस्क्रिन रोमान्स गर्नेछिन् । १२ दिनदेखि सुटिङ भैरहेको भुका देउरालीमा हिउँ परेपछि बढेको ठन्डीले शुक्रबार भने फिल्मको छायांकन प्रभावित बनेको छ ।

नेपाल प्रेसलाई प्राप्त तस्बिरमा सुटिङ सेट वरपरका डाँडामा हिमपात भएको देख्न सकिन्छ । ‘हिँउ परेपछिको चिसोले शुक्रबारदेखि काममा समस्या भएको छ’ अभिनेता विजय बरालले नेपाल प्रेससँग भने, ‘काम गर्दै रोक्दै अघि बढेका छौं ।’

अझै डेढसाता भुका देउरालीमै छायांकन हुने फिल्म त्यसपछि बाँकी दृश्यांकनलाई पोखरा र काठमाडौं फर्कनेछ । सेलेव्रिटी डाक्टर भोला रिजालका छोरा कपिलको डेब्यु निर्देशन रहेको फिल्मलाई सुदीप बरालले छायांकन गरिरहेका छन् ।

फिल्ममा जितु, साम्राज्ञी र विजयसहित लक्ष्मी गिरी, सुवास गजुरेल र डिल्ली खनालको मुख्य भूमिका छ । यो फिल्मका लागि साम्राज्ञीले राम्रो पारिश्रमिक लिएको बुझिएको छ । छक्का पञ्जा सिरिजमा रहने वा नरहने अन्यौलबीच जितुले यो फिल्मलाई अघि बढाएका हुन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *