रिक्त एक सचिव बढुवाका लागि तीनजनाको नाम सिफारिस

काठमाडौं । रिक्त रहेको राजपत्रांकित विशिष्ट श्रेणीको एक सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस गरिएको छ । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले पहिलो, दोस्रो र तेस्रो नम्बरमा क्रमश: सहसचिवहरू रामेश्वर दंगाल, मुकुन्दप्रसाद निरौला र विनोदप्रकाश सिंहको नाम सिफारिस गरेको हो ।

यसअघि दंगाललाई चौथ, निरौलालाई तेस्रोपटक बढुवाका लागि मन्त्रिपरिषद्मा सिफारिस गरिसकिएको छ । सिंह भने पहिलोपटक सिफारिस भएका हुन् ।

सहसचिव दंगाल अर्थमन्त्रालयको राजश्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा छन् । निरौला गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख र सिंह सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सञ्चार महाशाखा प्रमुख छन् । सम्भवत: सोमबारको मन्त्रिपरिषद्ले बढुवासम्बन्धी निर्णय गर्नेछ ।

अधिकांश सहसचिव तेस्रोपटक सचिवमा बढुवाका लागि सिफारिस भइसकेपछि सचिवमा बढुवा हुने गरेकोमा दंगाल भने भएनन् । यसअघि तेस्रो पटक पहिलो नम्बरमा दंगालको नाम सिफारिस भएको थियो । तत्कालीन सहसचिव शंकरप्रसाद खरेल सहसचिवबाटै अनिवार्य अवकाशमा जाने भएपछि उनलाई यसअघि सचिवमा बढुवा गरेर दंगाल रोकिए ।

सरकारले चार दिनका लागि भए पनि सचिव बनाउनका लागि तेस्रो नम्बरमा पहिलोपटक सचिव बढुवाका लागि सिफारिस भएका खरेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो । यसपटक भने दंगाल प्रबल दाबेदार हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *