भावी आईजीपीको समीकरणमा प्रभाव पार्ने गरी सशस्त्रमा एआईजी थप्ने तयारी

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफमा) अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्ने प्रक्रिया सुरू भएको छ ।

एपीएफले एआईजीको एकवटा दरबन्दी थपका लागि संगठन तथा व्यवस्थापन सर्भेक्षण (ओएनएम) गरेर फाइल गृहमन्त्रालयमा पठाएको छ । यसका लागि सशस्त्रले गृहमन्त्रालयसँग समेत पूर्वस्विकृती लिएको स्रोतले बतायो ।

एआईजीको दरबन्दी थप भए यसको प्रभाव सशस्त्रको भावी आईजीपीको समीकरणमा पर्नेछ । हाल सशस्त्र प्रहरीमा एआईजीको दुई वटा दरबन्दी छ ।

कार्य र सीमा सुरक्षा विभागलाई अलग गरेर एआईजी दरबन्दीको प्रस्ताव गरिएको हो । प्रशासन तथा मानव स्रोत विभाग भने यथावत रहने छ ।

वर्तमान आईजीपी शैलेन्द्र खनालले ४ वर्षे पदावधिका कारण आगामी चैत २८ गते अनिवार्य अवकाश पाउँदैछन् । उनकै ब्याची एआईजीद्वय पुष्पराम केसी र रामशरण पौडेलले ३० वर्षे सेवा अवधिका कारण आगामी बैशाख १८ गते अवकाश पाउने छन् ।

हालका एआईजीबाट आईजीपी बनाउँदा एक महिना पनि कार्यकाल नहुने भन्दै प्रस्तावित थप दरबन्दीमा बढुवा हुने एआईजीलाई नै आईजीपी बनाउने तयारी रहेको स्रोत बताउँछ ।

वरिष्ठतम् दुईजना नायब महानिरीक्षक (डीआईजी) मन्दिप श्रेष्ठ र खड्गजित राईले पनि आगामी माघ २६ गते अवकाश पाउँदैछन् । स्रोतका अनुसार दरबन्दी थप भए श्रेष्ठ र राईको अवकाशपछि मात्र त्यसमा बढुवा हुनेछ ।

एआईजी दरबन्दी थप भए डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतममध्ये एकजना बढुवा हुनेछन् । यीमध्ये अर्याल वरीयतामा पहिलो नम्बरमा छन् ।

यसैबीच मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा एआईजी दरबन्दी थपका लागि गठन तथा व्यवस्थापन सर्भेक्षण (ओएनएम) पुनरावलोकनको सैद्धान्तिक सहमति दिएको छ । नेपाल प्रहरीमा तीनजना एआईजी दरबन्दी थपको तयारी भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *