काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले काेराेना महामारीको नयाँ लहरमा सरकार गैरजिम्मेवार र निष्प्रभावी देखिएको बताएकाे छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले कोभिड महामारीको नयाँ लहरले जनजीवन फेरि आक्रान्त हुँदा समेत सरकार गैरजिम्मेवार भएको बताएका हुन् ।
एमाले अध्यक्ष ओलीले २४ लाखभन्दा बढी मात्रा खोप हराएको चरम गैरजिम्मेवार र लज्जास्पद अभिव्यक्ति सरकारी अधिकारीहरूले दिएको र खोप कसले बेच्यो भन्दै प्रश्न गरेका छन् ।
उनले विज्ञप्तीमा भनेका छन्,‘ २४ लाखभन्दा बढी मात्रा खोप हराएको चरम गैरजिम्मेवार र लज्जास्पद अभिव्यक्ति सरकारी अधिकारीहरूले नै दिइरहेका छन् । कहाँ गयो त्यति धेरै मात्राको खोप ? कसले लुकायो वा बेच्यो? यसका लागि को जिम्मेवार छ? एकातिर यति ठूलो मात्रामा खोप गायब पारिएको छ भने अर्कातिर भण्डारमा भएको खोपको सही वितरण हुन नसक्दा हजारौं नागरिकहरू खोपबाट बञ्चित छन् ।’
उनले खोप लगाउन आवश्यक सिरिन्ज रसिटामोलसमेत उपलब्ध गराउन नसक्नुले सरकार कति गैरजिम्मेवार छ भन्ने स्पष्ट भएको बताए ।
पूर्ववर्ती सरकारले शून्यबाट सुरू गरेर ८० भन्दा बढी कोभिड प्रयोगशाला, दर्जनौं कोभिड अस्पताल, हजारौं शैयाहरू, अक्सिजन प्लान्ट, थप पूर्वाधारहरू एवम् पर्याप्त खोपको प्रबन्ध गरेको बताउँदै वर्तमान सरकारले अकारण स्वास्थ्य क्षेत्रको बजेट समेत कटौती गरी जनस्वास्थ्यको विषयमाथि खेलवाड गरिरहेको आरोप लगाए ।

Leave a Reply