काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले गुणस्तरहीन विषाक्त मह उत्पादन तथा विक्रीवितरणमा संलग्न व्यवसायी नरेश श्रेष्ठको फोटो सन्चारमाध्यम र सामाजिक सन्जालमा राखेर चरित्रहत्या गरिएको भन्दै मानहानीको अभियोगमा कानूनी उपचार खोज्ने चेतावनी दिएको छ ।
नेकपा एसका सिन्धुपाल्चोक जिल्ला अध्यक्ष नवराज पौडेलले आइतवार प्रेस वक्तव्य जारी गर्दै सन्चारमाध्यम र सामाजिक सन्जाल प्रयोगकर्तालाई तत्काल माफी माग्दै समाचारका क्रममा राखिएको फोटो हटाउन अनुरोध गरेका छन् ।
गत शुक्रवार करीव ७ हजार किलोग्राम विषाक्त मह र नक्कली मह बनाउने कच्चा पदार्थसहित महानगरीय प्रहरी अपराध महाशाखाले ज्याठाका मह उत्पादक व्यवसायी नरेश श्रेष्ठलाई पक्राउ गरी प्रमाणसहित तस्बिर सार्वजनिक गरेको थियो ।
प्रहरीले आफ्नो फेसबुक पेजमा राखेको विवरण र तस्बिरका आधारमा सन्चारमाध्यमले समाचार प्रकाशन प्रसारण गरेका थिए भने सामाजिक सन्जालमा पनि तिनै तस्बिर र समाचार भाइरल भएका छन् ।
पक्राउ परेका व्यवसायी श्रेष्ठ नेकपा एस सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष हुन् । नेकपा एसका जिल्ला अध्यक्ष पौडेलले कुनै पनि व्यवसायमा आबद्ध व्यक्तिको पार्टी रोज्न पाउने नैसर्गिक अधिकार रहेको र व्यक्तिगत तथा व्यवसायिक क्रियाकलापलाई जोडेर पार्टीका नेतृत्वको फोटोसहित प्रचार गर्नु अनैतिक तथा गैरकानूनी तथा पत्रकार आचारसंहिता विपरीत रहेको बताएका छन् ।
पौडेलले दलाल पुँजिवादी समाजमा एकाधिकार पुँजिवादी वर्गले प्रतिस्पर्धात्मक प्रणालीलाई कमजोर पार्न साना व्यवसायीको मनोवल गिराउने हिसाबले गरिने षडयन्त्रप्रति सचेत हुन समेत आग्रह गरेका छन् ।
पौडेलले भनेका छन्- ‘घटनाको सत्य तथ्य खोजी हुँदैछ । यो विषयले समग्र मह उत्पादक र वितरकको समेत उत्पादन परीक्षण गर्न र जनस्वास्थ्य मापदण्डअनुसार कारोवार गर्ने गराउनेतर्फ राज्यको ध्यानाकर्षण हुनुपर्दछ । दलाल पुँजीवादी समाजमा एकाधिकार पुँजीवादी वर्गले प्रतिपर्धात्मक प्रणालीलाई कमजोर पार्न साना व्यवसायीको मनोवल गिराउने हिसावले गरिने षड्यन्त्रप्रति सचेत हुँदै गलत गर्नेमाथि सजायसहित वास्तविक न्याय स्थापित गर्न प्रहरी प्रशासन र नेपाल सरकारकै ध्यान जानुपर्ने यस घटनाले देखाएको छ ।’
यी पनि पढ्नुस्
गुणस्तरहीन मह बेचेर पक्राउ परेका श्रेष्ठ भन्छन्- यसो नगरे व्यवसाय नै चल्दैन
७ हजार लिटर नक्कली महसहित एकजना पक्राउ

Leave a Reply