सर्वदलीय बैठकबारे कुनै जानकारी छैनः विष्णु रिमाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको भनिएको सर्वदलीय बैठकबारे पार्टीलाई जानकारी नै नभएको बताएका छन् ।

‘प्रधानमन्त्रीले आज बिहान सर्वदलीय बैठक बोलाउनु भएको भन्ने समचार संचारमाध्यममा देखियो, सुनियो’, उनले भनेका छन्, ‘एमालेको सहभगिताबारे धेरैले प्रश्न गर्नुभयो। बैठकबारे अहिलेसम्म पनि प्रमको सचिवालयबाट हाम्रो पार्टीलाई कुनै सूचना आएको छैन ।’

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक अहिले ९ बजे बालुवाटारमा बस्दैछ । शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सर्वदलीय बैठक बोलाउनुअघि कांग्रेस सभापतिसमेत रहेका देउवाले शुक्रबार साँझ पार्टीका नेताहरूसँग छलफल गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले समसामयिक विषयमा भोलि पत्रकार सम्मेलन गर्दैछन् । प्रधानमन्त्रीले देशबासीका नाममा गरेको सम्बोधन, स्थानीय तह निर्वाचनलगायतका विषयमा भोलि पत्रकार सम्मेलनमार्फत् एमालेले आफ्नो आधिकारिक धारणा सर्वाजनिक गर्ने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *