अध्येताको प्रश्न- ‘मिथिला’ किन लत्याइयो ? ‘मधेश’ ले कसको पहिचान बोक्यो ?

काठमाडौं । चार वर्षदेखि किचलो पन्छाउँदै प्रदेश २ ले हिजो आफ्नो नामाकरण गर्न सफल भएको छ । प्रदेश सभाको दुई तिहाइ मतले ‘मधेश’ नाम पारित गरेसँगै विभिन्न खाले मतहरू प्रकट भइरहेका छन् ।

सामाजिक सञ्जालमा एकथरिले नामाकरणको स्वागत गरेका छन् त अर्कोथरीले आलोचना । आलोचकहरूले ‘मधेश’ शब्द नै गलत भएकाले नामाकरण त्रुटीपूर्ण भएको बताएका छन् । समर्थकहरूले यो शब्दले ‘पहिचान’ झल्किएको र संघीयता सार्थक बनेको दाबी गरेका छन् । प्रदेश सरकारले खुसीयाली मनाउन भन्दै सार्वजनिक बिदा नै दियो ।

हामीले नेपालको इतिहास, संस्कृति तथा संविधानका ज्ञाता दुई हस्तीलाई प्रदेश २ को नामाकरणबारे प्रश्न गर्‍यौं । संस्कृतिविद् जगमान गुरुङ र संविधानविद् डा. युवराज संग्रौलाले ‘मधेश’ शब्द प्रदेश २ को पहिचानसँग तादाम्य नराख्ने बताए । यो प्रदेशको नाम ‘मिथिला’ राखिएको भए सर्वस्वीकार्य र तार्किक हुने उनीहरूको भनाइ छ ।

डा. युवराज संग्रौला भन्छन्-

मधेश भन्ने शब्दको नेपालमा कुनै एतिहासिक मूल्य छैन । न यो भाषासँग जोडिएको छ, न संस्कृतिसँग, न भूगोलसँग । त्यसैले मधेश नामले प्रदेश २ को पहिचान बोक्यो भन्नु बेतुकको कुरा हो ।

नेपाल कहिले ठूलो, कहिले सानो थियो । पहिले भारतको उत्तर प्रदेशको धेरै ठूलो भाग नेपालमा पर्थ्यो । म त्यता जान चाहन्नँ । तर, मधेश भन्ने शब्दले ती ८ जिल्लाका जनतालाई के गौरव दिन्छ ? मलाई लाग्छ केही पनि दिँदैन । प्रदेश नामाकरण राजनीतिक हिसाबबाट भएको छ । कसैलाई खुसी पार्न खोजिएको छ ।

नेपालमा मधेशी भाषा भन्ने छैन । मधेशी सभ्यता भन्ने छैन । मधेशी संस्कृति पनि छैन । पहिलेदेखि मैले भन्दै आएको हो, प्रदेश २ को नाम मिथिला राख्दा राम्रो हुन्छ । नेपालमा विकास भएका केही महत्वपूर्ण सभ्यतामध्ये एउटा मैथिल सभ्यता हो । त्यो नेपालको आफ्नो सभ्यता हो । भारतबाट आयातित होइन । उहाँहरूले मिथिला नामाकरण गरेको भए नेपालको सभ्यताको प्रतिनिधित्व हुन्थ्यो । त्यहाँका बासिन्दाले गौरव गर्न सक्थे ।

मिथिला प्रदेश नाम राखेको भए मैथिली भाषा, मिथिला सभ्यता, त्यसको एउटा अत्यन्त लामो इतिहास, कौशिकी ब्राम्हणहरूको राज्य, हिजो जनकको त्यो क्षेत्र सबै समेटिन्थ्यो । आजको मोरङ, झापा, सिन्धुलीदेखि रामेछापसम्म पर्थ्यो हिजो त्यो सभ्यता । संसारको एउटा सभ्यताको प्रतिनिधित्वि हुन्थ्यो । भारत जेमा चुकेको थियो, त्यो उहाँहरूले पाउनुहुन्थ्यो । तर, उहाँहरू पनि चुक्नुभयो । भोलि मान्छेहरूले जतिबेला थाहा पाउँछन् यो सबै कुरा, त्यतिबेला उहाँहरूको इतिहास नकारात्मक हुन्छ ।

मधेश भन्ने त बाहिरका शक्तिहरूले नेपाललाई कमजोर बनाउनका लागि कथेको एउटा कहानी मात्रै न हो । कुनै बेला भारतमा ‘मध्यदेश’ भन्ने थियो, जुन अहिलेको लखनउतिर पर्छ । दक्षिण र उत्तरको बीचको टेरिटोरीलाई मध्यदेश भनिएको हो । मध्यदेशबाट भारतको मध्यप्रदेश नामाकरण भएको हो । त्यसको कुनै ऐतिहासिक मूल्य भने छैन । त्यो हलुका शब्द हो ।

मध्येदेशबाट आएकाहरूले आफूलाई मधेशी भन्छन् । तर, त्यसको कहीँ पनि रिसर्च छैन । रिसर्च नभएको कुराको कुनै अर्थ पनि छैन । मध्यदेशको एउटा टुक्रा त्यतिबेला नेपालको तराई पनि पर्थ्यो होला । विहारको कुनै भागमा पनि पर्थ्यो होला । उत्तर प्रदेशको तल पनि पर्थ्यो होला । त्यसो हो भने त इन्डियाको धेरै ठूलो भागलाई मधेश भन्नुपर्ने हुन्छ ।

अर्को कुरा, नेपालमा मेचीदेखि महाकालीसम्म समथल भूभाग छन् जसलाई उहाँहरू मधेश भन्ने गर्नुहुन्छ । अहिले आएर ८ जिल्लालाई मधेश नामाकरण गरियो । बाँकीलाई अब के भन्नुहुन्छ भन्ने प्रश्न पनि उब्जिन्छ । अब ८ जिल्ला बाहेककालाई मधेश भन्न मिल्दैन ।

कुनै तर्क नभएको कुरालाई खण्डन गर्न पनि सकिँदैन र पुष्टि गर्न पनि सकिन्न । मधेश शब्दले उहाँहरूको कुनै पनि भावनालाई, सभ्यतालाई, भाषा र संस्कृतिलाई, जमिनलाई प्रतिनिधित्व गर्दैन । मन परेर राख्नु खुसीको कुरा हो । तर, जनताले सोध्दा उहाँहरूले जवाफ दिन सक्नुहुन्न ।

संस्कृतिविद् जगमान गुरुङ यसो भन्छन्-

नेपालमा मधेश भनेर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको समथल भूभागलाई जनाउँछ । अहिले ८ जिल्लाको प्रदेशलाई मधेश भनेर नामाकरण गर्नु धेरै हिसाबले त्रुटीपूर्ण हुन्छ ।

वास्तवमा मिथिला नाम राखिएको भए त्यसमा गौरव हुन्थ्यो । मैथिल भाषाभाषी र संस्कृतिका अनुयायी नेपालमा भन्दा भारतमा धेरै छन् । तर, जनकको राजधानी नेपालको जनकपुरमा छ । जनकपुरलाई राजधानी भन्नु राम्रो भयो । प्रदेशको नाम पनि मिथिला राखिनुपर्थ्यो । तर, बहुमतको बलमा गलत निर्णय भएको छ ।

तराईमा मधेशीहरू मात्रै पनि छैनन् । त्यहाँ पहाडी समुदाय पनि छन् । क्षेत्री, बाहुन, राई लिम्बु, दमाईं कामी सबै छन् । थारु र मुसलमान पनि मधेशी होइनन् । त्यसैले मधेश शब्द राखेर जातीय भावनालाई प्रश्रय दिइएको छ ।

Comments

4 responses to “अध्येताको प्रश्न- ‘मिथिला’ किन लत्याइयो ? ‘मधेश’ ले कसको पहिचान बोक्यो ?”

  1. सत्य नारायण यादव । Avatar
    सत्य नारायण यादव ।

    तपाईं हरु जस्तै कथित बुद्धिजीवी हरुले तराईवासीहरुलाई पहिला मर्सिया वा मधेसी को पहिचान दिनु भयो। अहिले मधेस नामाकरन हुन्दा रन्थिनुपर्दैन।

    1. देवेन्द्र Avatar
      देवेन्द्र

      अब मर्स्या बस्ने मधेस भन, त्यसैमा गाैरव गरेर बस , अरू सव गाैरवमय संस्कृति लाई धाेती लगाई देउ ।

  2. Mukesh Jha Avatar
    Mukesh Jha

    नेपालीहरु को छाती माथि बम पड़कियो मधेश प्रदेश नामकरणले !! हाहाहा हाहाहा !!

  3. रन्जन पाठक Avatar
    रन्जन पाठक

    इतिहासविद ले मन्तब्य दिनुपर्नेमा यो कथित संस्कृतिविद र कथित संविधानविद को विचार किन छापेको होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *