धुर्मुस–सुन्तली फाउन्डेसनले भन्यो : आम्दानी–खर्च सार्वजनिक गर्छौं, सहयोगको दुरुपयोग भएको छैन

काठमाडौं । धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको आम्दानी–खर्चको विवरण चाँडै सार्वजनिक गरिने बताएको छ ।

आधिकारिक रिपोर्ट नआउञ्जेल परियोजनामा भएको खर्चलाई लिएर कपोलकल्पित आरोप नलगाइदिन फाउन्डेसनले आग्रह गरेको छ ।

आर्थिक कारणले अवरुद्ध बनेको परियोजनालाई लिएर विभिन्न टिकाटिप्पणीहरु हुन थालेपछि फाउन्डेसनले प्रष्टीकरण दिएको हो ।

फाउन्डेसनका प्रमुख सिताराम कट्टेल धुर्मसले वास्तविकता नबुझी सम्प्रेषण गरिएका समाचार र टिकाटिप्प्णीबाट आफूहरु दुखी बनेको बताएका छन् ।

‘सहयोगी मनहरुबाट प्राप्त रकमको दुरुपयोग हामी सोच्न पनि सक्दैनौं । परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कार्यको गुञ्जायस नरहेकोमा सबैलाई आश्वस्त तुल्याउन चाहन्छौं,’ धुर्मुसले एक अपिल जारी गर्दै भनेको छन् ।

विज्ञप्तिमा जनाइएअनुसार फाउन्डेसनले युवा तथा खेलकुद मन्त्रालय, अर्थ मन्त्रालय र भरतपुर महानगरपालिकासँग पटकपटक छलफल गरी भरतपुर महानगरपालिकामा गत पुस २ गते स्वामित्वग्रहणको लागि अनुरोधपत्र बुझाएको हो ।

सोभन्दा पहिले फाउन्डेसनको तर्फबाट २०७८ साल मङ्सिर २३ गतेसम्मको आम्दानी–खर्चको विवरण, भुक्तानी दिनुपर्ने रकम र सोको विवरण तथा २०७८ साल असार मसान्तसम्मको लेखापरिक्षण प्रतिबेदन र भौतिक प्रगति प्रतिवेदन बुझाइएको विज्ञप्तिमा उल्लेख छ ।

गत पुस २ गतेको निर्णयपश्चात भरतपुर महानगरपालिकाको तर्फबाट दुवै प्रतिवेदनको मुल्यांकन शुरु गरी भौतिक प्रगतिको प्रारम्भिक प्रतिवेदन आएको र त्यसलाई पुर्ण बनाउन थप मुल्यांकन भइरहेको जानकारी गराइएको छ ।

‘आर्थिक प्रगति सम्वन्धमा फाउन्डेसनको तर्फबाट शुरूवाति दिनदेखि ०७८ पुस मसान्तसम्मको सम्पूर्ण खर्चको लेखापरिक्षण धमाधम भइरहेको र सोको प्रतिवेदन आजभोलिमै फाउन्डेसनमा उपलब्ध हुने जानकारी गराउन चाहन्छौं । उक्त प्रतिवेदन सम्वन्धित पक्षलाई बुझाएर फाइनल भएपछि परियोजनाको वास्तविक आम्दानी–खर्च सार्वजनिक गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

यसअघि विभिन्न सञ्चारमाध्यमहरुमा सार्वजनिक भएको खर्चको विवरण पुरानो भएको फाउन्डेसनले जनाएको छ । हस्तान्तरण प्रक्रिया सम्पन्न भएपश्चात हामी सबै विवरण सार्वजनिक गरिने भन्दै त्यतिञ्जेल भ्रामक समाचार सम्प्रषण नगर्न अनुरोध गरिएको छ ।

हेर्नुस विज्ञप्तिको पूर्णपाठ
हाम्रो अनुरोध
राष्ट्रिय गौरवको परियोजनाका रुपमा क्रिकेट र समग्र खेल क्षेत्रको विकासका लागि धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा तीन वर्षअघि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण परियोजनाको थालनी भएको सर्वविदितै छ । २०७५ साल माघ १६ गते राष्ट्रिय सभा गृह काठमाडौंबाट तत्कालीन प्रधानमन्त्री एवं विभिन्न दलका शीर्ष नेताका साथै विभिन्न विधाका राष्ट्रिय व्यक्तित्वहरुको समुपस्थितिका बिच सम्झौतापत्रमा हस्ताक्षर भएर काम सुरु गरिएको थियो ।

कोरोना महामारी तथा अनेकौं आरोह–अवरोहका बाबजुद पनि रंगशाला निर्माणको काम निरन्तर अघि बढिरहँदा स्रोत व्यवस्थापनको पाटो भने चुनौतिपूर्ण बन्दै गयो । अपेक्षित जनसहयोग जुट्न सकेन । विगत ५ महिनादेखि निर्माण सामग्री उपलब्ध गराउन नसकेको अवस्था र विभिन्न कम्पनीहरुलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम बढ्दै गएपछि अन्ततः संरचना अन्तरगतको निर्माण कार्य स्थगित गर्न वाध्य हुनु पर्यो ।

यसको उचित निकासका लागि फाउन्डेसनले युवा तथा खेलकुद मन्त्रालय, अर्थ मन्त्रालय र भरतपुर महानगरपालिकासँग पटकपटक छलफल गरी भरतपुर महानगरपालिकामा गत पुस २ गते स्वामित्वग्रहणको लागि अनुरोधपत्र बुझाइएको हो । सोभन्दा पहिले २०७८ साल मङ्सिर २१ गते भरतपुर महानगरपालिकाले फाउन्डेसनलाई पत्राचार गरेअनुरुप फाउन्डेसनको तर्फबाट २०७८ साल मङ्सिर २३ गतेसम्मको अनुमानित आम्दानी–खर्चको विवरण, भुक्तानी दिनुपर्ने रकम र सोको विवरण तथा २०७८ साल असार मसान्तसम्मको लेखापरिक्षण प्रतिबेदन र भौतिक प्रगति प्रतिवेदन बुझाइएको थियो ।

गत पुस २ गतेको निर्णयपश्चात भरतपुर महानगरपालिकाको तर्फबाट दुवै प्रतिवेदनको मुल्यांकन शुरु गरी भौतिक प्रगतिको प्रारम्भिक प्रतिवेदन आएको छ भने त्यसलाई पुर्ण बनाउन थप मुल्यांकन भइरहेको छ । आर्थिक प्रगति सम्वन्धमा फाउन्डेसनको तर्फबाट शुरूवाति दिनदेखि ०७८ पुस मसान्तसम्मको सम्पूर्ण खर्चको लेखापरिक्षण धमाधम भइरहेको र सोको प्रतिवेदन आजभोलिमै फाउन्डेसनमा उपलब्ध हुने जानकारी गराउन चाहन्छौं । उक्त प्रतिवेदन सम्वन्धित पक्षलाई बुझाएर फाइनल भएपछि परियोजनाको वास्तविक आम्दानी–खर्च सार्वजनिक गरिनेछ ।

स्वदेश तथा विदेशमा रही परियोजनालाई सहयोग गर्नुहुने सहयोगी मनहरुका कारणले नै रङ्गशाला निर्माण यो अवस्थासम्म आइपुगेको छ । सहयोगी मनहरुबाट प्राप्त रकमको दुरुपयोग हामी सोच्न पनि सक्दैनौं । परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कार्यको गुञ्जायस नरहेकोमा सबैलाई आश्वस्त तुल्याउन चाहन्छौं ।

हाल सरकारी मूल्यांकनको कार्य चलिरहेको र परियोजना विधिवतरुपमा हस्तान्तरण भइनसकेको हुनाले उक्त हस्तान्तरण प्रक्रिया सम्पन्न भएपश्चात हामी सबै विवरण सार्वजनिक गर्ने नै छौं । अहिलेलाई हामी मूल्यांकनको सहयोगी बनेर अघि बढेका छौं ।

पछिल्लो समय परियोजनासम्बन्धी वास्तविकता नबुझी भ्रमपूर्ण रुपमा प्रकाशन÷प्रशारण गरिएका समाचार, टिकाटिप्पणी तथा अन्य गतिविधिलाई लिएर हामी अत्यन्त चिन्तित र दुखी छौं । हाम्रोतर्फबाट आर्थिक लगायतका सबै विवरण सार्वजनिक नहुञ्जेलसम्म कपोलकल्पित आरोपहरु बन्द गरी परियोजनालाई माया गरिदिनुहुन हार्दिक अपिल र अनुरोध गर्दछौं ।

Comments

One response to “धुर्मुस–सुन्तली फाउन्डेसनले भन्यो : आम्दानी–खर्च सार्वजनिक गर्छौं, सहयोगको दुरुपयोग भएको छैन”

  1. जगत बान्तावा (खिम्बुले राई) Avatar
    जगत बान्तावा (खिम्बुले राई)

    अत्यन्त गाैरब पुर्ण कार्य प्रति कसैबाट नकारात्मक भ्रम फैल्याएर दुरुत्साहन गर्न खाेज्नेहरु खेदजन्य कार्य हाे भन्न चाहन्छु । यतातर्फ ध्यान नदिन पनि फाउण्डेसन समूह अाग्रह गर्द छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *