दैलेख एमालेमा झन् किचलो : उपाध्यक्ष बस्नेतविरुद्ध उजुरी, अध्यक्ष मण्डलको नियतमाथि नै शंका

दैलेख । नेकपा एमाले दैलेखको सातौं अधिवेशनबाट निर्विरोध उपाध्यक्षमा निर्वाचित नन्दकिशोर बस्नेतविरुद्ध उजुरी परेको छ । विधिविपरीत अध्यक्ष मण्डलले बस्नेतलाई उपाध्यक्ष निर्वाचित गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको हो ।

बस्नेत एक कार्यकाल मात्रै जिल्ला कमिटी सल्लाहकार सदस्य भएकाले पदाधिकारी हुन नपाउने भन्दै परेको उजुरी पार्टी प्रदेश इन्चार्ज यामलाल कँडेलसम्म आइपुगेको छ । बस्नेतविरुद्ध निर्वाचन आयोगमा पुस २६ गते नै उजुरी परेको हो । उजुरीमा बस्नेतको पद खारेजीको पनि माग गरिएको छ ।

नारायण नगरपालिका– १ का प्रतिनिधि हरिबहादुर थापाले गरेको उजुरीमा भनिएको छ, ‘नेकपा एमालेको सातौ जिल्ला अधिवेशनको उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएका नन्दकिशोर बस्नेत ‘एनके’को पदाधिकारी हुन पार्टीले तोकेको मापदण्ड नपुगेको हुँदा उक्त उम्मेदवारी छानबिन गरी खारेज गरिदिनु हुन अनुरोध छ ।’

नेकपा एमालेको सातौ अधिवेशन पुस २३ गते दैलेखमा उद्घाटन भएको थियो । बस्नेतको पदमा आठबीस नगरपालिकाका नगरप्रमुख खड्गराजले उपाध्यक्षका लागि मनोनयन दर्ता गराएका थिए ।

एमाले पार्टी केन्द्रले एक सर्कुलर जारी गरी दुई कार्यकाल जिल्ला कमिटी सदस्य भएका मात्रै पदाधिकारी बन्न पाउने मापदण्ड तोकेको छ ।

‘खासमा भुगोलमा काम गरेको, पार्टीका लागि योगदान दिएको र जनताका लागि काम गर्नसक्ने व्यक्तिलाई पदाधिकारीमा ल्याउनु पथ्र्यो’ एक जिल्ला कमिटी सदस्यका आकांक्षीले भने, ‘अध्यक्ष मण्डलकै लापरवाहीका कारण ३१ मत फर्जी भएको छ । यसले देशभर दैलेख एमालेको बदनाम भएको छ ।’

अध्यक्ष मण्डलले मिलेमतो र आर्थिक चलखेलका कारण मापदण्डविपरीत पदाधिकारी निर्वाचित गरेको कतिपयको आरोप छ ।

नेकपा एमाले दैलेखको अध्यक्ष मण्डलको अध्यक्षमा लक्ष्मी पोखरेल छन् । यस्तै सदस्यहरुमा राजबहादुर बुढा, विष्णु रिजाल, सूर्यकुमारी श्रेष्ठ, मिनासिंह रखाल, धर्मराज रेग्मी र प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाह रहेका थिए ।

बस्नेतले भने आफू पदाधिकारी हुन योग्य भएको दाबी गरेका छन् ।

Comments

2 responses to “दैलेख एमालेमा झन् किचलो : उपाध्यक्ष बस्नेतविरुद्ध उजुरी, अध्यक्ष मण्डलको नियतमाथि नै शंका”

  1. ksp pyl Avatar
    ksp pyl

    बढी मत किन आयाे छानबिन हुनुपर्छ । बाँकी कुरा त दलालहरूकाे काम नै नेताबीच फाटाे ल्याएर एमालेलाई कमजाेर बनाउन दलाली पेशा गर्ने छन् ।

  2. Katak chand Avatar
    Katak chand

    यहाँ यीनीहरू लाई कसरी सुसोचित गरौ दैलेखी जनता को मताधीकार को दुरुपयोग नहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *