काठमाडौं । काठमाडौंवासीका लागि हिउँ अझै पनि ‘रोमाञ्च’ कै विषय हो । हिउँ हेर्नकै लागि काठमाडौंका युवायुवतीहरु चन्द्रागिरीदेखि दामनसम्म पुग्ने गर्छन् ।
तर, आज बिहान काठमाडौंको कुलेश्वरका वासिन्दाले आश्चर्यजनक दृष्य देखे । बिहान उठ्दा सडकदेखि खुला मैदान सबै बाक्लो हिउँ जस्ताे वस्तुले छपक्कै छोपिएका थिए ।
काठमाडौंमा अन्यत्र कतै पनि नदेखिएको हिउँ कुलेश्वरमा कसरी पर्यो ? स्थानीयवासी अचम्ममा परेका छन् ।
कुलेश्वरमा करिब २० बर्षदेखि बसोवास गर्दै आएका सिभेक अग्रवालले यस ठाउँमा पहिलोपटक हिउँ देखेको बताए ।
उनले नेपाल प्रेससँग भने, ‘आजको दिनसम्म यहाँ कहिले पनि हिउँ देखिएको थिएन । अरु ठाउँमा हिउँ पर्दा पनि यहाँ पर्दैनथ्यो ।’

केही दिनअघि चन्द्रागिरीमा हिउँ पर्दा राष्ट्रिय समाचार नै बनेको थियो । काठमाडौंबाट हिउँ हेर्न र खेल्नका लागि धेरै युवायुवती चन्द्रागिरीमा भिड लागेका थिए । त्यसबेला कुलेश्वरमा हिउँ देखिएको थिएन ।
तर, आज अचानक हिउँ परेकाे भन्दै बच्चादेखि किशोरकिशोरीहरु रमाएका थिए । यस विषयमा हामीले कालिमाटी प्रहरीसँग कुरा गर्दा पनि हिँउ नै परेकाे भनाइ आयो । प्रहरी स्राेतकाे दावी अनुसार कालिमाटी कुलेश्वर र टेकु क्षेत्रमा मध्यरातमा हिउँ परेकाे थियाे ।
माैसमविदले भने साे क्षेत्रमा हिँउ परेकाे नभइ असिना परेकाे बताएका छन् ।
मौसमविद वरुण पौडेलले आफुले पनि हिउँ भनिएको तस्वीर हेरेको तर, त्यो हिँउ नभइ असिना भएको बताए ।
‘भारी मात्रामा असिना परेर थुप्रिएपछि हिउँजस्तै देखिन्छ,’ उनले भने, ‘स्थानीयवासी झुक्किएका हुन्, त्यो हिउँ होइन । हिँउ परेको भए कुलेश्वर–कालिमाटीमा मात्रै पर्ने थिएन ।’

Leave a Reply