एक सचिव बढुवाका लागि तीन सहसचिवकाे नाम सिफारिस

काठमाडौं । सरकारले केहि दिन अघि मात्रै बसेको मन्त्रिपरिषद् बैठकले थपेको एक सचिवको दरबन्दीमा बढुवा गर्नका लागि तीन सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीको अध्यक्षतामा सिंहदरबारमा बसेको बढुवा समितिको बैठकले बरिष्ठताका आधारमा तीन सहसचिवको नाम सिफारिस गरेको बढुवा सिफारिस समितिले जनाएको छ ।

एक सचिवमा बढुवाका लागि बढुवा समितिले पहिलो नम्बरमा सहसचिव रामेश्वर दंगाल, दोस्रो नम्बरमा मुकुन्दप्रसाद निरौला र तेस्रो नम्बरमा शंकरप्रसाद खरेलको नाम सिफारिस गरेको हो । सहसचिव दंगाल अर्थ मन्त्रालयमा, निरौला गृह मन्त्रालयमा र खरेल लोक सेवा आयोगमा कार्यरत छन् ।

सहसचिव दंगालको नाम यसअघि दुईपटक र निरौलाको नाम एकपटक सचिव बढुवाका लागि बढुवा सिफारिस समितिले मन्त्रिपरिषद्मा सिफारिस गरिसकेको छ । तर, खरेलको नाम भने पहिलो पटक सचिव बढुवाका लागि सिफारिस भएको हो ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले तीन जनामध्ये एक जनालाई सचिवमा बढुवा गर्नेछ । यदि मन्त्रिपरिषद् बैठकले बरिष्ठताका आधारमा सचिव बढुवा गर्ने हो भने दंगालको बढुवा हुनेछ । बढुवा भएका सचिवको पदस्थापन रिक्त रहेको बागमती प्रदेश वा सुदूरपश्चिम प्रदेशमा हुनेछ ।

तर खरेललाई नै सचिव बनाउनकै लागि प्रशासन सेवातर्फको पद सिर्जना गरिएकाले यस पटक तेस्रो नम्बरमा बढुवाका लागि सिफारिस भएका खरेलको बढुवा हुने सम्भावना बलियो छ । सहसचिव खरेलले माघ ४ गते निजामती सेवाबाट अवकाश पाउँदैछन् । २०४४ साल साउन एक गते निजामती सेवा प्रवेश गरेका उनी ५८ वर्षे उमेरहदका कारण निवृत्त अनिवार्य अवकाश पाउदैँछन् ।

खरेल २०६९ फागुन २६ गते उपसचिवबाट सहसचिवमा बढुवा भएका थिए । खरेललाई केही दिनकै लागि भए पनि सचिव बनाउन प्रधानमन्त्री कार्यालयमा प्रशासन सेवातर्फ सचिवको दरबन्दी सिर्जना गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । यदि खरेल अहिले सचिव बढुवा नभएको अवस्थामा भने सहसचिवबाटै उमेर हदका कारण अनिवार्य अवकाश पाउनेछन् ।

Comments

2 responses to “एक सचिव बढुवाका लागि तीन सहसचिवकाे नाम सिफारिस”

  1. ksp pyl Avatar
    ksp pyl

    एउटा व्यक्तिलाई सचिव बनाउन आवश्यक नै नभएकाे पद बनाएर सचिव बनाउनु भनेकाे सरकारकाे चरम भ्रष्टाचार हाे । यसकाे लागि क कसले पैसा खाएका छन् छानबिन हाेस् ।

  2. Devendra Raj lamsal Avatar
    Devendra Raj lamsal

    सरकर चलाउनेनै दोषी हुनुपर्ने हो जिम्वेवारी लिने हो भने मेरो विचारमा!

Leave a Reply

Your email address will not be published. Required fields are marked *