ओमिक्रोनको जोखिमबाट जोगाउन १५ दिन विद्यालय बन्द गर्नुपर्ने कांग्रेस नेता महरको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य नैनसिंह महरले ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नु पर्ने बताएका छन्।

थारु विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने संकट विषयक अन्तरक्रियाका प्रमुख अतिथिसमेत रहेका महरले देशमा फेरि कोरोना जोखिम बढेकाले बालबालिकालाई त्यसको सम्भावित खतराबाट बचाउनुपर्ने बताएका हुन्।

नेविसंघका पूर्वअध्यक्ष समेत रहेका महरले भने–हामीले १८ वर्ष मुनीका सबै बालबालिकालाई खोपको उपलब्धता गराउन सकेका छैनौं। छिमेकी मुलुक भारतमा कोरोना तीव्र बनेसँगै नेपाल पनि त्यसको उच्च जोखिममा छ। र, पछिल्ला दिनमा नेपालमा समेत कोरोना बढ्दो छ। यस्तो अवस्थामा बालबालिकालाई जोगाउन १५ दिन शैक्षिक संस्था बन्द गर्नु उत्तम देखिन्छ, ।

नेता महरले १५ दिन पहिलाको जस्तै वैकल्पिक विधि अपनाएर वा १५ दिनलाई हिउँदे बिदामा मिलाएर भए पनि शैक्षिक संस्था बन्द गर्नुपर्ने बताए ।

सरोकारवालाहरूसँगको परामर्शका आधारमा स्थानीय, प्रदेश र केन्द्रीय सरकारले नै चाँडो कोरोना रोकथामको नीति अवलम्बन गर्न आवश्यक रहेको महरले औँल्याए।

कार्यक्रममा सहभागी शिक्षा विद् एवं शिक्षा क्षेत्रका सरोकारवालाहरूले पनि कोरोनाको अर्को लहरबाट बालबालिकालाई जोगाउनका लागि केही दिन विद्यालय बन्द गर्नु नै उत्तम विकल्प हुने सुझाव दिएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *