माओवादी हराउन कांग्रेस बनेका पार्कीलाई बम्पर : राष्ट्रियसभा र माओवादी केन्द्रीय सदस्य एकैपटक

काठमाडौं । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) ले आफ्नो भागमा परेका उम्मेदवारहरू मंगलबार टुंग्यायो ।

गठबन्धन मिलेर चुनाव लड्न लागेकाले माओवादीले ५ सीट पायो जसमा उम्मेदवार टुंग्याउने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाएका थिए।

प्रचण्डले छानेका पाँचजनामा डडेलधुराका जगत पार्की पनि छन् । हालैको माओवादीको आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा समेत चयन भएका पार्की दलित कोटामा सिफारिस भएका हुन् ।

पार्की नेपाली कांग्रेसबाट माओवादीमा कहिले फर्किए भन्ने धेरैजसोलाई जानकारी नै थिएन । तर, एकाएक केन्द्रीय सदस्यमात्र होइन राष्ट्रियसभाको निश्चित जित्ने सीटमा उम्मेदवार समेत बनेपछि माओवादी नेताहरू नै चकित भएका छन् ।

पार्कीको छवि भने विवादास्पद छ । पार्कीमाथि काठ तस्करीमा संलग्न भएको आरोप छ । उनलाई २०७१ मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सालका ६२ थान गोलियासहित पक्राउ गरेको थियो ।

अख्तियारको सुदूरपश्चिम क्षेत्रीय सम्पर्क कार्यालय महेन्द्रनगरबाट गएको टोलीले पार्कीको गाउँ आलीताल इलाका वन कार्यालयमा काठ तस्करी गरेको आरोपमा पक्राउ गरेको थियो ।

पार्कीको छवि विग्रेको यही मामिलमा मात्रै होइन् । उनीमाथि बहुविवाह गरेको आरोप पनि छ । विवाहित पत्नी रहेकै बेला उनले डान्स बारमा जाँदा जाँदै बार गर्ललाई दोस्रो श्रीमती बनाएका थिए ।

सांस्कृतिक विचलनमा लाग्नेहरूमाथि माओवादीमा कारबाही हुने गरेको भए पनि उनी भने पुरस्कृत भएका छन् ।

पार्टीमा योगदान गरेका अन्य नेता हुँदाहुँदै पनि विवादास्पद पार्कीलाई राष्ट्रियसभाको उम्मेदवार बनाएको प्रति माओवादी सुदूरपश्चिममा पनि असन्तुष्टि प्रकट भएको छ ।

डडेलधुरामा आफ्नै नेता हराउन लागेको समेत उनीमाथि आरोप छ । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उठेका माओवादी नेता खगराज भट्टले २०७४ को चुनाव जित्ने अवस्था भएकोमा पार्की अन्तिम समयमा कांग्रेस प्रवेश गरेर हराउन भूमिका खेलेको माओवादीकै नेताहरू बताउँछन् ।

माओवादीको सुदूरपश्चिम इन्चार्जसमेत रहेका भट्ट देउवासँग निरन्तर तीनवटा चुनाव लडिसकेका छन् र तीनवटैमा हार व्यहोरेका छन् । २०७४ मा एमाले र माओवादीको गठबन्धन बनेकाले उनले जित्ने सम्भावना भए पनि पार्कीले अन्तिम समयमा कांग्रेस प्रवेश गरेर खेल खेलेको आरोप उनीमाथि छ ।

२०६४ मा भट्ट देउवासँग जम्मा १३ सय मतले पराजित भएका थिए । त्यस्तै ०७० मा साढे ८ हजार मतले हारेका थिए । २०७४ मा भने ६ हजार ९ सय ४८ मतले भट्ट पराजित भए । देउवाले २८ हजार ४ सय ४६ ल्याउँदा भट्टले २१ हजार ४ सय ९८ मत पाएका थिए । पार्की कांग्रेसमा नगइ सहयोग गरेका भए भट्टले चुनाव जित्ने माओवादी नेताहरू बताउँछन् ।

उनले देउवाबाट पैसा लिएर कांग्रेसमा लागेको अरोप समेत सुदूरपश्चिमका नेताहरू बताउँछन् । ‘माओवादी पैसाका कारण विग्रिएको अरोप लगाएका उनी उल्टै पैसामा विकेर कांग्रेस गएका थिए,’ माओवादीका एक नेताले भने, ‘त्यस्ता मान्छेलाई पार्टीले फेरि अगाडि बढाउनु दु:खद हो ।’

गठबन्धनको तर्फबाट २०७४ को निर्वाचनमा समानुपातिक सूचीमा समेत परेका पार्की चुनावको मुखैमा कांग्रेसमा प्रवेश गरेका थिए ।

उनको गृहनगर अलितालमा आयोजित कांग्रेसको चुनावी सभामा पार्कीसहित माओवादी केन्द्र, डडेल्धुराका पूर्व इन्जार्च एवं केन्द्रीय सदस्यहरू जनक कलौनी, लक्ष्मी उप्रेती लगायत माओवादी कार्यकर्ता कांग्रेस प्रवेश गरेका थिए।

उनीहरूलाई कांग्रेस सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले टीका लगाएर कांग्रेसमा स्वागत गरेका थिए । उनले माओवादी छोड्नुको कारण चाहिँ एमालेसँग एकीकरणलाई निहुँ बनाएका थिए ।

पार्की २०७४ को स्थानीय तहको निर्वाचनमा आलिताल गाउँपालिका अध्यक्षमा कांग्रेसकै बलबहादुर गुरुङसँग पराजित भएका थिए ।

सर्वोच्चको गत फागुन २३ को फैसलापछि एमाले र माओवादी छुट्टिएपछि उनी पुनः माओवादीमै फर्किएका हुन् ।

(तस्बिर क्याप्सन : २०७४ को चुनावको मुखमा कांग्रेस रोजेका पार्कीलाई स्वागत गर्दै शेरबहादुर देउवा)

Comments

One response to “माओवादी हराउन कांग्रेस बनेका पार्कीलाई बम्पर : राष्ट्रियसभा र माओवादी केन्द्रीय सदस्य एकैपटक”

  1. prem Avatar
    prem

    समय र परिस्थिति अनुसार चल्नुनै समाजबाट को मुल सिद्धान्त हो ।नैतिकता कै कुरो गर्ने हो भने पनि क जगत पार्कि जत्तिकै समाजसेवी ब्यक्ति डडेल्धुरा मा अरु कोहि छैन जस्तो लाग्छ ।जित को अग्रिम शुभकामना कम्रेड।

Leave a Reply

Your email address will not be published. Required fields are marked *