हिउँमा फसेपछि सडक खन्न गएका १४ मजदुर ७ दिनदेखि ओडारमा, हेलिकप्टरबाट उद्धार गरिँदै

सुर्खेत । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका- २ पेल्माको घुसदुङमा सडक निर्माणमा खटिएका १४ मजदुर हिउँमा फसेका छन् । बाक्लो हिउँ परेका कारण उनीहरू एक सातादेखि ओडारमा बसिरहेका छन् ।

हिउँमा फसेकाहरूमा १० जना पुरुष र ४ जना महिला रहेका छन् । वडा नम्बर २ पेल्मा गाउँका जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानि बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेबी झाँक्री, प्रेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा, नान्तेन पुन ओढारमा कष्टप्रद दिन बिताइरहेका छन् ।

‘उनीहरू काम गर्ने ठाउँमै फसेको भनेर हिजो आइतबारमात्रै खबर आएको थियो । गाउँपालिकाबाट परेको योजनाअन्तर्गत बाटो निर्माणमा खटिएका उनिहरु बाक्लो हिउँका कारण आउन नसकेका हुन् ’, वडासदस्य मनराम झाँक्रीले नेपाल प्रेसलाई बताए ।

रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले हिजो बेलुकामात्रै खबर आएकाले उनीहरूको उद्धारको पहल भइरहेको जानकारी दिए ।

‘हिउँमा फसेका मजदुरको उद्धारका लागि गृहमन्त्रालय, प्रदेश मन्त्रालयमा हेलिकोप्टर पठाउन आग्रह गरिएको छ र आजै उहाँहरू बसेको ठाउँ पहिचान गरेर उद्धार गर्छौं ।’

सीडीओ बास्कोटाका अनुसार त्यसका लागि सुर्खेतमा हेलिकप्टर तयारी राखिएको छ ।

स्थानीय सडक निर्माणमा खटिएका उनीहरू गत १३ र १४ गते बाक्लो हिउँ परेर जमेपछि बसिरहेकै ठाउँमा फसेका हुन् । साथमा लगेको खाद्यान्न पनि सकिएपछि उनीहरूलाई अहिले उद्धारको तयारी भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *