लुम्बिनी कांग्रेसको दोस्रो वरीयतामा सभापतिमा पराजित उम्मेदवार शाह

रूपन्देही । नेपाली कांग्रेस लुम्बिनी सभापतिमा संस्थापनइतर समूहबाट निर्वाचित अमर पुनले प्रत्यासी भरत कुमार शाहलाई दोस्रो वरीयतामा राखेका छन् । समितिको पहिलो बैठकले सभापतिमा पराजित बनेका शाहलाई प्रदेश समितिको दोस्रो वरीयतामा राख्ने निर्णय गरेको हो।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत गत मंसिर १८ गते भैरहवामा प्रथम प्रदेश अधिवेशन सम्पन्न भएको थियो। सोही अधिवेशनबाट रोल्पाका अमर सिंह पुन सभापतिमा निर्वाचित हुँदा संस्थापन समूहका उम्मेदवार रुपन्देहीका शाह पराजित बनेका थिए।

कांग्रेस लुम्बिनी प्रदेशको निर्वाचित पहिलो कार्यसमितिको बैठकले शाहलाई प्रदेश समितिको दोश्रो वरीयतामा राख्ने निर्णय गरेको हो। शुक्रबार प्रदेश समितिको पहिलो बैठकका निर्णयहरु जानकारी गराउँदै सभापति पुनले पार्टीको आन्तरिक प्रतिस्पर्धामा एकजना विजयी हुँदा अर्को प्रतिस्पर्धी पराजित हुनु स्वभाविक भए पनि नेतृत्व चयन भएपछि सबैको सहकार्य र सहमतिबाट पार्टीलाई अगाडि बढाउन शाहलाई दोश्रो वरीयतामा राख्ने निर्णय गरिएको जानकारी दिए।

भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर समग्र प्रदेशको विकासको योजना अगाडि सार्ने कांग्रेसको योजना रहेको सभापति पुनले बताए। पुनले पछिल्लो समय युवाहरुमा राजनीतिप्रति वितृष्णा देखिएको अवस्थामा उनीहरुलाई आकर्षित गर्ने खालका कार्यक्रम अगाडि सार्ने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *