पूर्वयुवराज पारस ५० वर्षमा, यस्ता छन् उनका चर्चित प्रकरण

काठमाडौं । विवादित छविका पूर्वयुवराज पारस शाहले आज आफ्नो ५० औं जन्मदिन मनाउँदैछन् । यदि नेपालमा राजतन्त्र कायम रहेको भए, उनको जन्मदिन भव्य हुने थियो । तर, गणतन्त्रपछि नागरिकको हैसियतमा झरेकाले यो उनको निजी विषय बनेको छ ।

स्वभावगत हिसाबले पारस नागरिक जीवनमै रमाउने खालका व्यक्ति हुन् । राजकीय अनुशासनका सीमाभित्र बस्ने खालको उनको आचरण छैन । युवराज छँदा नै अनेकथरि विवादमा आइरहन्थे । राजतन्त्र उखेलिएर गणतन्त्र आएपछि पनि पारस विवादबाट टाढा रहेनन् । खासगरि लागू औषध र मदिरा सेवनको कुलतमा परेर उनले कैयेन उद्दण्ड हर्कतहरु गरे भने  आफ्नो निजी जीवनलाई अस्तव्यस्त बनाए ।

पारस धेरै वर्षदेखि आफ्नो परिवारसँग अलगथलग छन् । पत्नी हिमानीसँग उनको सम्वन्ध राम्रो छैन । औपचारिक सम्वन्धविच्छेद नभए पनि उनीहरु एक–अर्कासँग टाढिएको धेरै भइसक्यो । छोराछोरीहरुसँग चाहिँ पारससँग अहिले पनि नजिक छन् ।

५० वर्षको यात्रालाई फर्केर हेर्दा पारसले कैयन गल्तिहरु पाउनेछन्, जसले उनको छवि मात्रै धुलिसात भएन, स्वास्थ्य पनि नराम्ररी बिग्रियो । उनी मृत्यूको मुखमा पुगेर फर्किएका व्यक्ति हुन् । लागूऔषध सेवनले गर्दा अहिले पनि उनको शारीरिक अवस्था जिर्ण छ । बोलीसमेत राम्ररी बुझिँदैन । तत्कालीन युवराज पारस र अहिलेका पारसको व्यक्तित्वमा पत्याउनै नसकिने अन्तर छ ।

पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलका जेठा छोराका रुपमा पारसको जन्म २०२८ सालको पुस १५ गते थियो । उनले काठमाडौंको बुढानिलकण्ठ र दार्जिलिङको सेन्ट जोसेफ कलेजमा पनि अध्ययन गरेका थिए । बेलायत र अमेरिकामा अन्डरग्राजुयट अध्ययन गरे पनि पढाइ पूरा गर्न सकेनन् । २८ वर्षको उमेरमा भारतको राजस्थान राजघरानाकी हिमानीसँग उनको विहे भएको हो ।

पारसको जन्मदिनका अवसरमा यहाँ पारसको जीवनकालका ६ विवादित घटनाहरुबारे चर्चा गरिएको छ :

१. गायक प्रविण गुरुङको ‘हत्या’

यो २०५७ सालको घटना हो यो जतिबेला राजतन्त्र नेपालमा निर्विवाद र लोकप्रियसमेत थियो । राजगद्दीमा थिए, श्री ५ वीरेन्द्र । राज परिवारसँग टाढाको साइनो पर्नेहरुको पनि बेग्लै चुरीफुरी हुने समयमा शाहज्यादा पारसको शानशौकत कम्ति थिएन ।

राजसंस्थामाथि सहजै प्रश्न उठाउन नसकिने बेलामा भएको थियो, प्रवीण गुरुङ ‘हत्याकाण्ड’ । कालजयी गीत ‘यो नानीको मिर्मिरे आँखा’ का गीतकार तथा संगीतकार गुरुङलाई पारसले चलाएको गाडीले किचेको थियो । २०५७ साल साउन २२ गतेका दिन नारायणहिटी राजदबारको दक्षिणी गेटबाट पारसको गाडी निस्कियो । उक्त गाडीले बाटोमा एउटा मोटरसाइकललाई ठक्कर दियो । घटनास्थलमै मोटरसाइकलचालकको मृत्यू भयो । मारिने व्यक्ति थिए प्रवीण गुरुङ ।

यो घटनालाई दवाउन निर्मल निवासले निकै प्रयास गर्यो तर सफल भएन । पहिलोपटक यो समाचार साप्ताहिक जनआस्थाले लेख्यो । घटना सञ्चारमाध्यममा आइसकेपछि पारसलाई कारवाही गर्नुपर्ने मागसहित विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिए । तत्कालीन माले निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष रविन्द्र अधिकारीले पारस विरुद्धको आन्दोलनको नेतृत्व गरेका थिए । उनकै नेतृत्वमा हस्ताक्षर अभियान चलाइयो । ५ लाख २३ हजारको हस्ताक्षर संकलन गरी दरबारमा बुझाइएको थियो ।

राजा वीरेन्द्रले आफू यस विषयमा गम्भीर भएको भन्दै अधिकारीलाई लिखित जवाफ पठाएका थिए । तर, पारसले कारवाही भने भोग्नुपरेन । पछि खड्कबहादुर भुजेल नामका एक नक्कली ड्राइभर खडा गरियो । उनले पारसको ठाउँमा प्रविण हत्याको जिम्मेवारी लिएर जेल गए ।

२. सुजाताका ज्वाईंसँग लफडा

पारसको अर्को चर्चित काण्ड हो, कांग्रेस नेतृ सुजाता कोइरालाका बंगलादेशी ज्वाईंसँग भएको लफडा । यो घटना २०६७ सालको मंसिर २५ गते भएको हो ।

पूर्वयुवराज पारस आफ्नी छोरी पूर्णिकाको जन्मदिन मनाउन पत्नी हिमानी र छोराछोरी लिएर चितवन राष्ट्रिय निकुञ्जमा रहेको टाइगर टप्स रिसोर्टमा पुगेका थिए । तत्कालीन उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाईं रुबेल चौधरी पनि आफ्ना दुई छोराछोरीसहित सोही होटलमा थिए ।

त्यसबेला सञ्चारमाध्यमहरुमा आएको विवरणअनुसार पारसले टाइगर टप्स होटलमा २६ मंसिरसम्मका लागि कोठा बुक गरेका थिए । पूर्णिकाको जन्मदिन २५ मंसिरमा थियो । टाइगर टप्स होटलमा नै पारस र रुबेलको भेट भयो । औपचारिक चिनजान भएको केहीबेरमै उनीहरुबीच झगडा सुरु भयो । झगडाकै क्रममा पारसले फायरिङ समेत गरेका थिए ।

रुबेलले त्यसबेला दिएको बयान अनुसार पारसले उनलाई बाघको शिकार खेल्न जाने प्रस्ताव गरेका थिए । तर, आफूले अस्वीकार गरेपछि पारस क्रोधित बनेको उनको दावी छ ।

त्यसबेला ‘मिरर न्यूज’ नामक म्यागजिनमा प्रकाशित रुबेलको बयानको अंश यस्तो छः

‘पारसले आफ्नो ज्याकेटको गोजीबाट पेस्तोल निकाली मेरो निधारमा ताकी गालीगलौज गर्दै नराम्रा अपशब्द बोल्न थाले । मलाई गोली ताकेकै अवस्थामा उहाँले निकै आक्रोशित भएर ‘म सुट गर्न गइरहेको छु, कसैले एक शब्द भन्न सक्ने छैन, यो मेरो एरिया हो । तिम्री श्रीमती र छोरालाई ल्याउन आदेश दिइसकेँ, म तिमीहरूलाई लाइन लगाएर मारिदिन्छु’ भने । गोली ताकेकै अवस्था भएकाले म डरले काँपिरहेको थिएँ ।

‘पारसको साथमा भएको बन्दुक कसैले हटाइदिए हुन्थ्यो, खोसिदिए हुन्थ्यो’ भनेर मेरो दिमागले हजारौँ कुरा आफ्नो बचावटका लागि सोचिरहेको थियो । ‘तेरो श्रीमती र बच्चालाई समेत ल्याई सँगै मारिदिन्छु’ भनी निज पारस शाह घुमेजस्तो गरेको अवस्थामा म त्यहाँबाट भागी बाहिर गई झाडीमा लुकेँ । सोही बखतमा गोलीको ठूलो आवाज सुनेँ । निजले मेरी श्रीमती र छोरालाई मारिसक्यो भन्ने लाग्यो । ‘मेरो सबै बर्बाद भयो’ भनी दुई घन्टासम्म भगवान्को प्रार्थना गरेँ । म सोही झाडीमा लुकिरहेको अवस्थामा सोही होटेलका कर्मचारी र निज पारसका सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले मलाई झाडीबाट सुरक्षित साथ मेरी श्रीमती र छोरा बसेको होटेलको कोठाको बरन्डामा पुर्‍याए ।’

पारसले भने बयानमा आफूले गोली नचलाएको बताएका छन् । नेपाल र नेपालीलाई होच्याउने कुरा गरेपछि भनाभन भएको तथा भनाभनका क्रममा रुबेलले नै आफूलाई अश्लिल गाली गरेको उनको दावी थियो ।

उक्त घटनाको भोलिपल्टै पारस काठमाडौं फर्के र पक्राउ पर्न सक्ने भयले तत्काल हेलिकोप्टरमार्फत पोखरा प्रस्थान गरे । तर, प्रहरीले उनलाई २७ मंसिरमा पोखराको फुलबारी रिसोर्टबाट पक्राउ गर्यो । जिल्ला अदालनमा पेश गरेको पर्सीपल्ट उनी धरौटीमा रिहा भए ।

पारसले होटलमा गालीगलौज र हुलहुज्जत गरेको तथा गोली पड्काएर आतंक फैलाएको भन्दै उनीविरुद्ध प्रहरीले केही सार्वजनिक अपराध र सजाय ऐनअन्तरगत कारवाहीका लागि मुद्दा दायर गर्यो । रुबेल चौधरीले आफूलाई गोली हानेर मार्ने प्रयास पारसले गरेको बयान दिएका थिए ।
अन्त्यमा अदालतले पारसलाई घटनामा गल्ति देखिए पनि माफी दिने निर्णय गर्यो । अब यस्तो घटना नदोहोर्‍याउन अदालतले पारसलाई भनेको थियो । तर, त्यो निर्णयको एक महिना नबित्दै पारसले क्यासिनो रोयलका प्रबन्ध निर्देशकलाई कुटेका थिए ।

३. रामकृष्ण ढकालबारेका अफवाह

गायक रामकृष्ण ढकालसँग पारसको विवाद पनि लामो समयदेखि चर्चामा छ । यद्यपि, यस घटनालाई लिएर धेरै किसिमका अफवाहहरु फैलाइएका छन् ।

घटनाको वास्तविकता भने अनलाइनखबरमा प्रकाशित एक अन्तरवार्तामा रामकृष्ण ढकाल आफैंले बताएका थिए । ढकालका अनुसार उनको विवाद पारससँग नभएर उनका एडीसीसँग भएको हो ।

रामकृष्णको भनाइ यस्तो छः

यो ०६० सालको घटना हो । हामी श्रीमान-श्रीमती आफ्नो विवाहको पहिलो वाषिर्कोत्सव मनाउन नगरकोटको क्लव हिमालयमा पुगेका थियौं । हामी आफ्नो टेबलमा खानपिन गरिरहेका बेलामा ह्वार्र राजपरिवारका सदस्यहरु ठूलो डफ्फासहित आउनुभयो । उहाँहरु सबैजसो मसित परिचित नै हुनुहुन्थ्यो । पारसले ‘के छ राम ?’ भन्नुभयो । हामीबीच अनौपचारिक गफगाफ सुरु भयो । हाँसोठट्टा हुन थाल्यो ।

तर, राजतन्त्रकालमा राजपरिवारसँग एउटा नागरिकले यसरी खुलस्त कुराकानी गर्नु स्वाभाविक मानिँदैनथ्यो । राजपरिवारका सुरक्षाकर्मीले यसलाई सहजरुपमा लिँदैनथे ।

हामी गफ गरिरहँदा युवराजको एडीसी हो कि को हो, एकजनाले मलाई बोलाए । अनि कानमा भने, ‘सरकारसित डिन्स्टान्स मेन्टेन गर्नू’ ।

उनको त्यो भनाइले मेरो पनि पारो तात्यो । अनि मैले पारस सरकारलाई नै सुनाइदिएँ, तपाईंको एडीसीले यस्तो भन्यो भनेर । पारस सरकारले ती एडीसीलाई सम्झाउनुभयो । यो कुराले ती एडीसी मसित नराम्रोसित चिढिए ।

यता, राजपरिवार र हामी दम्पत्ति गफगाफमा रमाइरह्यौं । मैले केही गीतहरु पनि उहाँहरुलाई सुनाएँ । मैले गीत गाउँदा पारसले पनि साथ दिनुभयो । मेरा खासै नचलेका गीत पनि उहाँले सुन्नुभएको रहेछ । खुशी लाग्यो ।

मैले ‘ईश्वर तैंले रचेर फेरि’ गीत गाउँदा हिमानी भावुक भएर रुनुभएको थियो । गीत सकिएपछि उहाँले ‘वान्स मोर’ भन्नुभयो । तर, पारस सरकारलाई त्यो मन परेन । उहाँ रिसाउनुभयो । ‘कलाकारलाई एउटै गीत रिपिट गरिरहने मुड हुन्छ रु’ भनेर उहाँले हिमानी सरकारलाई हप्काउनुभएपछि केहीबेर उहाँहरुबीच भनाभन भयो । अनि, हिमानी सरकार रिसाएर हिँड्नुभयो । हिँड्ने क्रममा उहाँले एउटा वाइनको गिलास धकेलेर लडाइदिनुभएको थियो ।

त्यसपछि पारस पनि उठ्नुभयो । उहाँले मलाई हग गर्दै भन्नुभयो, ‘तिम्रो पहिलो वर्ष हो, ५र६ वर्षपछि तिमीहरुको पनि यस्तै हुन्छ ।’ अनि, सबैजना हिँड्नुभयो ।

केहीबेरमा हामी पनि उठ्यौं । त्यहाँबाट काउन्टरमा जाँदा अघिका एडीसी उभिएका रहेछन् । उनले फेरि विवाद सुरु गरे । विवादकै क्रममा मलाई हातले छातिमा धकेलेर लडाइदिए । मलाई पनि झेंक चल्यो । नजिकै एउटा गमला थियो । त्यो समातेर मैले उनलाई प्रहार गरेँ । उनको नाकबाट रगत बग्न थाल्यो । त्यसपछि अन्य व्यक्तिहरु आएर हामी दुबैलाई सम्हाले । थप लफडा हुन पाएन । त्यसपछि हामी आफ्नो बाटो लाग्यौं । भएको यत्ति नै हो ।

यो घटना भएको केही दिनपछि एउटा सन्ध्याकालीन पत्रिकाले ‘पारसको कुटाइले रामकृष्ण ढकाल गम्भीर, बीएन्डबीमा भर्ना’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । रामकृष्ण मारिएको हल्ला समेत चल्यो । समाचार आएपछि रामकृष्ण आफैं बाटुलेघरमा रहेको सो पत्रिकाको कार्यालयमा पुगेर आपत्ति जनाएका थिए । उनले एउटा पत्रिकामा ‘म जिउँदै छु’ भनेर अन्तरवार्ता समेत दिए ।

थाइल्यान्डमा लागूऔषधसहित पक्राउ

नेपालमा राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापनाको केही समयपछि पारसले देश छोडे । उनी पहिले सिंगापुर र त्यसपछि थाइल्यान्डमा बस्न थाले । थाइल्यान्डमा पनि उनले उपद्रो मच्चाउन बाँकी राखेनन् ।

श्रीमती हिमानीसँग सम्वन्ध बिगारेका पारस थाइल्यान्डमा कन्निका चाइसार्न नामक युवतीसँग अफेयरमा थिए । उनीहरु लिभिङ टुगेदरमा बस्थे । थाइल्यान्ड बसाइकै क्रममा पारस लागू औषधको दुव्र्यसनमा नराम्ररी जाकिन पुगे । उनी थाई प्रहरीबाट पटक–पटक पक्राउ परेका थिए ।

२०६९ कात्तिक ७ गते थाइल्यान्डको फुकेटमा आफंै बस्ने अपार्टमेन्टभित्र तोडफोड गरेको तथा साथमा १२ ग्राम गाँजासमेत भेटिएपछि पारसले मुद्दा खेप्नुपर्यो । उक्त मुद्दामा थाई अदालतबाट उनले सफाई पाए । तर, त्यसको एक साता नबित्दै उनी थाइल्यान्डमै पक्राउ परे । असोज २३ गते उनी ५.८ ग्राम गाँजाको पार्सलसहित पक्राउ परेका थिए ।

थाई प्रहरीले पारस गाँजा र मेथाम्फेटामिन नामक लागूऔषधसहित पक्राउ परेको तस्वीर सार्वजनिक गरेको थियो, जुन नेपाली सञ्चारमाध्यममा छ्याप्छ्याप्ती भयो । तस्वीरमा पारसको शारीरिक अवस्थाले धेरै नेपालीहरुलाई स्तब्ध तुल्याएको थियो । नेपालमा छँदा हृष्टपुष्ट र आकर्षक व्यक्तित्वका पारस उक्त तस्वीरमा अत्यन्तै जिर्ण र विसुद्ध गँजडीजस्ता देखिएका थिए ।

पारस र लागूऔषधको सम्वन्ध पुरानै हो । पारसले घटाएका अधिकांस घटना यात मादक पदार्थ वा लागूऔषध सेवनका बेला भएका छन् । नमातेका बेला उनी निकै भद्र र अनुशासित देखिने निकटस्थहरु बताउने गर्छन् ।

थाइल्यान्डमा छँदा नै पारस झण्डै मृत्यूको मुखमा पुगे । हृदयघात भएर उनी ११ दिनसम्म अस्पतालमा अचेत बनेका थिए । धेरैले आशा मारिसकेको अवस्था थियो । केही सञ्चारमाध्यमले उनको मृत्यू भएका समाचार समेत प्रकाशित गरेका थिए । यद्यपि, उनी कठिन अवस्थाबाट बाँचे । उपचारपछि उनी नेपाल फर्किएका हुन् ।

सोनिका रोकायासँग अफेयर

यो कुनै काण्ड त होइन, तर पारसको छवि थप विगार्ने प्रकरण चाहिँ हो । युट्युवमा छाडा अन्तरवार्ता लिएर चर्चामा आएकी युवती सोनिका रोकायासँग पारसको एकताका निकै घनिष्ठता बढेको थियो । घरमा हिमानीजस्ती सुन्दर र सुशील श्रीमती हुँदा हुँदा बाहिर अफेयर चलाएको भनेर पारसले निकै आलोचना खेप्नुपर्यो ।

थाइल्यान्डकी प्रेमिका कन्निकालाई उतै छोडेर नेपाल फर्किएका पारस सोनिकासँग नजिकिएका थिए । सोनिकाले चलाएको रेस्टुरेन्टमा उनीहरुको भेट भएको थियो । त्यसयता उनीहरु बारम्बार एकसाथ देखिन थाले । टिकटकमा सोनिकाले नै पारससँगका भिडियोहरु पोष्ट गरेर चर्चाका लागि गरम मसलाहरु दिइरहिन् । डुंगा चढेर रमाइलो चढकोदेखि पारसले सोनिकालाई पिङमा धकेलिरहेका भिडियोसम्म टिकटकमा आए ।

पारस र सोनिकाले आफूहरुबीच अफेयर रहेको भनेर कहिले पनि स्वीकारेनन् । यद्यपि, उनीहरुबीच देखिएको निकटता मित्रवत मात्रै थिएन । पारस सोनिकालाई लिएर मनाङसम्म घुम्न पुगे ।

@manishachhetri83sonika ra paras sarkar enjoying each other 🙄🙄♬ original sound – Manisha Chhetri

पारससँगको समन्धबारे एक अन्तरवार्तामा सोनिकाले यस्तो भनेकी छन्ः

म नेपाली हुँ । त्यसैले ममा नेपाली संस्कार हुनुपर्छ । तर मेरो आत्मा भड्किरहेको थियो । लाज, इज्जत नभएको, आफ्नै दुनियाँमा रमाउने, संस्कार नभएको, बुबा–आमाको कुरा नमान्ने अवस्थामा म पुगेको थिएँ ।

मेरो आत्मा भड्कीएको थियो, म छाडा भएकी थिएँ । समाजले मलाई ‘। भन्थे । तर मलाई आफू के गरिरहेको छु भन्ने हेक्का नै थिएन ।

सायद भाग्यले होला मेरो पारस शाह सरकारसंग भेट भयौं । उहाँ मलाई सुधार्ने प्रयासमा हुनुहुन्छ । तिमी जस्तो युवा बिग्रनु हुन्न भनेर उहाँ मलाई ढाडस दिई रहनु भएको छ । हाम्रो भेट भगवानले जुराएको जस्तो लाग्छ ।

म पनि नकारात्मक विगत भएको मान्छे । पारस शाह पनि विवादित मान्छे । पारस शाह किन बिग्रिए भनेर मैले खोज्न थाले, उहाँ पनि म जस्तो युवा किन बिग्रियो ? भनेर खोज्न थाल्दा मिलनबिन्दु भेटियो । म शिक्षीत केटी हुँ तर अहिले उहाँबाट दीक्षा पाईराखेको छु ।

सोनिकासँग अफेयरको चर्चा गरम भएको बेला खबरहब नामक वेवसाइटले पारसको अन्तरवार्ता छापेको थियो । त्यसमा उनले सोनिकालाई सफा मनकी युवती भन्दै प्रशंसा गरेका छन् । तर प्रेम स्वीकारेका छैनन् ।

अहिले पारस र सोनिकाबीच ब्रेकअप भइसकेको छ ।

हेल्मेट नलगाई मोटरसाइकल चलाउँदा

पारसको हेल्मेट काण्ड चाहिँ सबैभन्दा ताजा हो, जुन धेरैले बिर्सेका छैनन् । गत १५ साउनमा पारसको ड्यूटीमा खटिएका प्रहरीसँग घम्साघम्सी परेको थियो ।

हेल्मेट नलगाइकन मोटरसाइकल चलाइरहेका पारसलाई महाराजगञ्जिस्थित नारायणगोपाल चोकमा प्रहरीले रोकेर सोधपुछ गरे । मादकपदार्थ सेवन गरेका पारसले प्रहरीसँग जाइलाग्न खोजेको भिडियो भाइरल बनेको थियो । प्रहरीले पारसलाई नियन्त्रणमा लिन खोज्दा उनले भनाभन गरेको भिडियोमा देखिएको छ ।

उक्त घटनामा प्रहरीले पारसलाई कुनै कारवाही भने गरेन । उनलाई सम्झाइबुझाइ हेल्मेट लगाउन लगाएर छाडिएको थियो । घटना धेरै ठूलो नभए पनि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यसले निकै चर्चा पायो । पारसले फेसबुकमा आफ्नो बचाउ गर्दै हार्ली डेभिड्सन बाइक चलाउँदा हेलमेट लगाउन नपर्ने तर्क गरेका थिए।

उनले लेखेका छन्, ‘यो मेरो जीवन हो । अमेरिकामा पनि हार्ली चलाउँदा कसैले हेलमेट लगाउँदैनन् ।’

पारसको हेलमेट काण्ड सेलाइसक्दा यसलाई फेरि चर्चामा ल्याइदिए कमेडियन भरतमणी पौडेलले । रियालिटी शो कमेडी च्याम्पियनमा उनी पारसको हुलियामा प्रस्तुत हुँदै हेल्मेट काण्डमाथि चोटिलो हास्यव्यंग्य प्रस्तुत गरेका थिए । सोही प्रस्तुतिले लोकप्रियता बढाएका पौडेल अन्ततः कमेडी च्याम्पियनका विजेता नै बने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *