जग्गा भोगचलन गरेको ५१ वर्षपछि लालपूर्जा

रुपन्देही । ५१ वर्ष अगाडिदेखि भोगचलन गरेर बसेकी बुटवल वडा नं. २ भिमसेन टोलकी कमलामाया शाक्यले लालपूर्जा पाउँदा खुसीको सीमा छैन ।

आँखाको कमजोर दृष्टिका कारण सहयोगीको हात समाउँदै पूर्जा लिन पुगेकी कमलाको अनुहारमा अन्य दिनको भन्दा भिन्दै चमक देखिन्थ्यो ।

साविक बुटवल ४ कित्ता नंं. १११ मा घर बनाएर बसेकी कमलामायाले उक्त जग्गाको लालपूर्जा पाउँछु भन्ने आशै मारिसकेकी थिइन् । २०२७ सालमा नापी भएपनि ५१ वर्षपछि बल्ल लालपूर्जा पाएकी शाक्यलाई यसरी पूर्जा पाउँदा आश्चर्यमा परेकी हुन् ।

सोही वडाको भिमसेनटोलकै ईन्दु बज्राचार्यलाई पनि आमाले उपहार स्वरुप दिएको जग्गाको लालपूर्जा नपाउँदा दिक्क लागेको थियो । ईन्दुका चारैजना दिदीबहिनीलाई विवाह भएपछि आमाले भिमसेन टोलमा रहेको जग्गा बराबर भाग लगाएर दिएकी हुन् ।

जग्गा पाएपनि लालपूर्जा नपाउँदा ईन्दुले पनि घर बनाएर बस्नेबाहेक जग्गाको अन्य उपयोग गर्न पाएकी थिइनन् । तर लालपूर्जा पाएपछि अरु काममा पनि उपयोग गर्न पाइने भन्दै इन्दुले खुसी छन् ।

उनले भनिन्- पूर्जा भएपछि बैंकमा राखेर केही रकम निकाल्न पनि भयो, आफ्नो आधार पनि बलियो भयो, यो नहुँदासम्म कोही बलियो प्रमाण लिएर आएर हटायो भने भन्ने त्रास हुन्थ्यो ।

रुपन्देहीका अरु पालिकाहरुमा जस्तै बुटवल उपमहानगरपालिकामा पनि गाउंब्लकमा बसोबास गरेकाहरुले वर्षौंसम्म पनि लालपूर्जा पाउन सकेका थिएनन् । अहिले भने बुटवलको एउटा गाउँव्लकमा बसोबास गर्ने ३५ घरपरिवारलाई मात्र भएपनि लालपूर्जा वितरण गरिएको हो ।

नापी कार्यालय भैरहवाले पुरानो बटौंली भनेर चिनिने भिमसेन टोलमा रहेका ३५ घरपरिवारलाई जग्गाधनी पूर्जा वितरण गरिएको बताएको छ ।

नापी कार्यालयका प्रमुख अजित कुँवरले पुरानो शहरी ब्लक भएपनि गाउँब्लकको रुपमा रहेको बस्तीलाई नयाँ निर्देशिका नै जारी गरेर लालपुर्जा वितरण गरिएको जानकारी दिए ।

कुँवरका अनुसार रुपन्देही जिल्लामा अझैं १ हजार २ सय ५० गाउँब्लक जग्गाको लालपूर्जा वितरण गर्न बांकी रहेको छ ।

चालु आर्थिक वर्षको साउनयता १ हजार ५ सय लालपूर्जा वितरण गरिएको र अहिलेपनि ३० वटाभन्दा बढी ब्लकमा काम भइरहेको कुँवरले बताए ।

पुरानो बटौलीमा मात्रै १ सय ६ घरपरिवारले लालपूर्जा पाउन नसकेकोमा अहिले ३५ घरपरिवारले मात्र लालपूर्जा पाएका छन् । उनीहरुले जग्गा भएपनि लालपूर्जा नपाउँदा बैंकिङ कामको लागि प्रयोग गर्न र बेचविखनसमेत गर्न पाएका थिएनन् ।

उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले कतिपय कानुनी र सरकारी जटिलताका कारण ढिलाई भएपनि लालपूर्जा वितरण गर्न सकिएको भन्दै लालपूर्जालाई कागजी प्रमाणको रुपमा मात्र नभई व्यवसायीक वृद्धिको काममा लगाउन सुझाव दिएका छन् ।

उपप्रमुख गोमादेवी आचार्यले लालपुर्जाको सहि सदुपयोग गर्दै आर्थिक उत्पादनको क्षेत्रमा प्रयोग गर्न आग्रह गरेकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *