लागूऔषध प्रकरणमा मुछिएका लाउरेले रोडिजकाे पाँचौ सिजन गुमाउन सक्ने

काठमाडौं । चर्चित र्‍यापर आशिष राना लाउरे लागूऔषध प्रकरणमा पक्राउ परेपछि उनका प्रशंसक स्तब्ध बनेका छन् । उनी निर्णायक रहेको टिभी रियालिटी सो हिमालय रोडिज पनि तरंगित बनेको छ ।

लाउरे यस्तो समयमा पक्राउ परेका छन् जतिबेला रोडिजको चौंथो सिजनको प्रसारण सुरु भएको छ । अहिले तेस्रो एपिसोड प्रसारण भैरहेको छ । चौंथो सिजनको १८ वटै एपिसोड सुटिङ भैसकेकाले सिजन अवधीभर दर्शकले लाउरेलाई निर्णायकको रुपमा हेर्न पाउनेछन् ।

तर, निर्देशक सिमोस सुनुवारले लाउरेको पक्राउपछि टिभी रियालिटी सोको गुडविलमा असर पर्न सक्ने बताए । ‘लाउरेको केसले सोको गुडविलमा असर पर्न सक्नेबारे हामी सचेत छौं’ निर्देशक सुनुवारले नेपाल प्रेसलाई भने, ‘सुटिङ नै सकिएकाले अन्य असर तत्काल पर्ने देखिँदैन ।’

तर, हिमालय रोडिजको पाँचौ सिजनमा लाउरेले निरन्तरता पाउने वा नपाउने भन्ने कुरा प्रश्नको रुपमा अगाडि आएको छ । निर्देशक सुुनुवारले टेलिभिजन प्रशासन र विज्ञापनदातासँगको छलफलपछि मात्र लाउरेलाई आगामी सिजनमा निरन्तरता दिनेबारे छलफल हुने बताए ।

‘हामी केही दिनमै टिभी प्रशासन र स्पोन्सरसँग बसेर लाउरेलाई आगामी एसिपोडमा निरन्तरता दिने कि नदिनेबारे छलफल गर्नेछौं’ सुनुवारले नेपाल प्रेसलाई भने ।

रोडिजका अघिल्ला एपिसोडमा लागूऔषध प्रयोग गरेर पछिल्लो समयमा सुध्रिएका प्रतिस्पर्धी पनि आएकाले सकारात्मक रुपमा हेर्नुपर्ने सुनुवारको भनाई छ । ‘कतिपय प्रतिस्पर्धी सुध्रन्छु भनेर आएका पनि छन् । त्यो कोणबाट पनि हेर्न सकिन्छ’ उनले भने, ‘अन्तिम निर्णय चाहिँ टिभी प्रशासन र स्पोन्सरको बैठकले निर्णय गर्नेछ ।’

कानूनी व्यवस्थाअनुसार प्रहरीले लाउरेलाई ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *