धितोपत्र बोर्ड अध्यक्ष छनोटमा सकस, फेरि दरखास्त मागियो

काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न सकेको छैन । यसअघि विज्ञापन खुलाएर निवेदन माग गरिएकोमा पुन: सार्वजनिक सूचना निकालेर दरखास्त आव्हान गरिएको छ ।

बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गरेर दुई महिना अघि नै नयाँ नियुक्तिको प्रक्रिया अगाडि बढे पनि फेरि शून्यमा पुगेको हो ।

११ कात्तिकको विज्ञापनअनुसार अध्यक्षका लागि १२ जनाले उम्मेदवारी दिए पनि छनोट तथा सिफारिस समितिले तीनजनाको नाम सिफारिस गर्न सकेन । फेरि नयाँ विज्ञापन खोलिएको छ ।

छनोट समितिले विहीबार अर्को सूचना जारी गरेर २९ पुसभित्र आवेदन मागेको छ । यसअघि आवेदन दिएकाहरूलाई पनि फेरि आवेदन दिन वा आवेदन फिर्ता लिन चाहेमा म्यादभित्र फिर्ता लिन सूचनामा भनिएको छ ।

यसअघि बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र उपकार्यकारी निर्देशक नवराज अधिकारी, बोर्डकै पूर्वकर्मचारी जीवन अमगाई, बीमा समितिका निवर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल स्टक एक्सचेञ्जका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, कर्मचारी सञ्चय कोषका पूर्वप्रमुख कृष्ण आचार्य, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा पुँजीबजार विज्ञ गोपाल भट्ट, वित्तीय विज्ञ रमेश हमाल, सहरी विकास कोषका उपनिर्देशक अनिल पौडेल, अम्बिका शर्मा, केशव श्रेष्ठ र हेमन्त बस्यालले आवेदन दिएका थिए ।

धितोपत्र बोर्डको अध्यक्ष छनोटको लागि छनोट समितिले ३ जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ । अर्थमन्त्रीले मन्त्रिपरिषदमा प्रस्ताव लगेर तीनमध्ये एकजनालाई नियुक्ति दिने व्यवस्था छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *