तमु ल्होसारको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

काठमाडाैं । नयाँ वर्षको स्वागत गरी गुरुङ समुदायले मनाउने ल्होसारको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश जारी गरेका छन् ।

राष्ट्रपति भण्डारीको सन्देशमा तमु ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने उल्लेख छ ।

उनले यस पर्वबाट सम्पूर्ण नेपालीमा नयाँ उत्साह तथा उमङ्ग छर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् । ‘मुलुकको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा संवद्र्धन गर्दै पर्यटन प्रवद्र्धनमार्फत आर्थिक र सामाजिकरूपमा समृद्ध मुलुक निर्माण गर्नसमेत गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय छ’, सन्देशमा भनिएको छ ।

गुरुङ समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, कास्की, पर्वतलगायत जिल्लामा यो पर्व उल्लासपूर्वक मनाइन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गुरुङ समुदायले मनाउने ल्होसार पर्व हाल एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा देशभर मनाइने गरिएको भन्दै शुभकामना दिएका छन् ।

‘नेपाली संस्कार र संस्कृतिमा आआफ्नै विशिष्ट पहिचान र विशेषता रहेको छ, विविधता भित्रको एकता र समाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण पनि हुन्,’ सन्देशमा भनिएको छ, ‘यही सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने उदाहरणीय पर्वमध्येको एक ल्होसार पनि हो ।’

प्रधानमन्त्री देउवाले सन्देशमा कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि अवलम्बन गरिएका नीति प्रभावकारी देखिए पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै हर्षोल्लाहपूर्वक पर्व मनाउन आग्रह गरेका छन् ।

उनले यस पर्वबाट पारस्परिक सद्भाव र सहिष्णुताको भावना अझ प्रगाढ र सुदृढ बनाउने प्रेरणा प्रदान गरोस् भनी कामना पनि गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *