जनकपुरधाम । जनमत पार्टीले आन्दोलन गरिरहेको विषयमा प्रहरी प्रशासनलाई चुनौती दिँदै सिराहाका ६ राजनीतिक दलले निकालेको संयुक्त प्रेस विज्ञप्ती जिल्ला प्रशासन कार्यालय सिराहाको आधिकारिक सामाजिक सञ्जालबाट सार्वजनिक भएको छ ।
औरही गाउँपालिकाको विवादमा प्रहरीले पक्राउ गरेका व्यक्तिलाई रिहाई गर्न भन्दै राजनीतिक दलहरुले निकालेको विज्ञप्तिमा हेलो जिल्ला प्रशासन सिरहा नामक फेसबुक पेजबाट ५ बजेर ४ मिनेटमा सार्वजनिक गरिएको हो ।
प्रशासन कार्यालयले आफ्नै विरुद्ध राजनीतिक दलहरुले निकालेको विज्ञप्ती सार्वजनिक गरेपछि घटनामा प्रशासनकै संलग्नता हुनसक्ने भन्दै प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको आलोचना भइरहेको छ ।
विज्ञप्तीमा नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, लोसपा लगायतका ६ दलले पक्राउ परेका किसान र जनमतका कार्यकर्तालाई रिहा गर्न चेतावनी दिएको थियो ।
विज्ञप्तीमा भनिएको छ – पक्राउ परेकाहरुलाई रिहा नभए सृजना हुने परिस्थितिको जिम्मेवारी प्रशासनले लिनुपर्छ ।
प्रजिअ कवारीले गल्तिले राजनीतिक दलको विज्ञप्ती सामाजिक सञ्जालमा सेयर भएको बताए ।
उनले भने – मिस्टेकले आधिकारिक पेजमा सार्वजनिक हुन गएको राजनीतिक दलको विज्ञप्ती हटाइसक्यौं । गल्ती भएकै हो । त्यसका लागि सरी है ।’
औरही गाउँपालिकाले किसानको लागि किनेको गहुँको बीउ वितरण नगरी लामो समय गोदाममा राखेको भन्दै केही दिनअघि स्थानीय किसानहरूले कब्जामा लिएका थिए । तर गाउँपालिकाले गहुँको बीउ लुटेको भन्दै चार जनामाथि मुद्दा दर्ता गराएको थियो । मुद्दा दर्ता भएकामध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका व्यक्तिको रिहाईको लागि गएको चार दिनदेखि जनमत पार्टीले सिरहामा चक्काजामको आह्वान गर्दा जिल्लाको परिस्थिति असामान्य बनेको छ ।
किसानहरूको समर्थनमा जनमत पार्टीले बन्द आव्हान गरेको र बन्दमा सर्वसाधाणको सवारी तोडफोड, आगजनीदेखि प्रहरीसँग पटक पटक झडप भएको थियो ।
आन्दोलनको प्रभाव पर्न नदिन जिल्ला प्रशासनले आज र भोलीका लागि निषेधाज्ञा समेत जारी गरेको थियो । यद्दपी आन्दोलनको प्रभाव परेपछि प्रशासन बाध्य भएर पक्राउ परेका किसान मिथिलेश यादव र जनमतका १८ कार्यकर्तालाई रिहा गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कवारीले ६ राजनीतिक दल र सुरक्षा अधिकारीहरुको संयुक्त बैठकमा भएको सहमती अनुसार उनीहरुलाई रिहा गरेको बताएका छन् । उनले निषेधाज्ञा फिर्ता लिएको सूचना समेत जारी गरेका छन् । जनमत पार्टीले भने अहिलेसम्म आन्दोलन फिर्ता लिएको छैन ।

Leave a Reply