एमाले रुपन्देही अध्यक्षका लागि यी हुन् दावेदार, दौडधुप सुरु

रूपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसाललगायतका गृहजिल्ला रूपन्देही जिल्ला पार्टी नेतृत्वका लागि नेताहरूको दौडधुप सुरू भएको छ ।

अध्यक्षका लागि आधा दर्जनभन्दा धेरै आकांक्षी आआफ्नो दावीसहित माथिल्लो तहका नेताहरू तथा समकक्षीसमक्ष पुग्न थालेका छन्। जिल्ला अधिवेशनको मिति नजिकिँदै गर्दा अध्यक्षका आकांक्षीहरुको दौडधुप र सक्रियता बढ्दै गएको हो।

उनीहरु कोही नेताको घरमा भेटघाटमा ब्यस्त छन् भने केही जिल्ला अधिवेशनका लागि छनोट हुने प्रतिनिधिहरु आफ्नो पक्षका बढाउने अभियानमा लागिरहेका छन्।

केन्द्रीय सदस्य निर्वाचित भएका हुनाले अहिलेका अध्यक्ष शिवराज सुवेदीले बिदा लिने निश्चित भइसकेकाले अरूलाई बाटो खुलेको हो ।

अध्यक्ष सुवेदीले बिदा लिने भएपछि उनकै कमिटीका उपाध्यक्ष पुरुषोत्तम घिमिरे आफूलाई स्वभाविक रुपमा अध्यक्षको दावेदार मान्दै आएका छन्। यसअघि घिमिरेले अध्यक्षमा दावी गरेर नेतृत्वले सहमतिका लागि दवाव दिएपछि उपाध्यक्ष पदमा समेटिएका थिए। उनी त्यो बेला माधव नेपाल समूहमा थिए ।

तर करीव २ बर्षदेखिको पार्टी विवादमा मौनजस्तै बसेका उनी पार्टीबाट माधव नेपाल समूह अलग भए पनि एमालेमै रहेका छन्। घिमिरेलाई अध्यक्ष बनाउन एमाले लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले लविङ गरिरहेका छन् ।

त्यसैगरी जिल्ला कार्यालय सदस्य तेजेन्द्र केसी नेकपा एमाले रुपन्देहीको अध्यक्ष पदका दावेदार हुन् । एमाले र माओवादी एकीकरण भएपछि सहसंयोजकको भूमिका पाएका केसी आफूलाई स्वभाविक रुपमा अध्यक्षको दावेदार भन्दै आएका छन्।

पार्टी संकटमा पर्दा मैले सहसंयोजकको जिम्मेवारी पाएको थिएँ अब स्वभाविक रुपमा अध्यक्षको दावेदार म नै हो, केसीले भने।

त्यसैगरी एमाले रुपन्देहीका उपसचिव गोपाल रानाले समेत अध्यक्षमा दावी गरेका छन्। रानाले अब पार्टी युवा पुस्तामा हस्तान्तरण हुनुपर्ने बताउँदै आएका छन्।

तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले अध्यक्षमा आकांक्षा व्यक्त गरेका छन्। दशौं महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्यमा आकांक्षा देखाएर प्रचार गरेका उनी सहमतिका लागि पछाडि हटेको बताउँदै आएका छन्।

त्यसैगरी सुकुम्वासी आयोग रुपन्देहीका अध्यक्ष भइसकेको बलबहादुर आचार्य सहमति हुन सके अध्यक्ष हुने आशामा छन् । ‘म निर्वाचन गरेर अध्यक्ष हुने पक्षमा छैन सर्वसम्मत हुन्छ भने म अध्यक्षको दावेदार हो,’ उनले भने।

त्यसैगरी सिद्धार्थनगरमा पार्टीको काम गर्दै आएका हितराज पन्थी र अखिल नेपाल किसान महासंघको जिम्मेवारीमा रहेका यज्ञ गैरेसमेत अध्यक्षका हुन् ।

पुस २३ गते हुने जिल्ला अधिवेशनका लागि एमाले रुपन्देहीले पुस १७ गते सबै पालिकामा एकैदिन प्रतिनिधि छनौट हुने मिति तय गरेको छ।

केन्द्रीय नेताहरू उपाध्यक्ष पौडेल, सचिव विश्वकर्मा, नेता भुसाल, नेताहरू खिमलाल भट्टराई, राधा ज्ञवाली, लिला गिरीलगायतका नेताहरूको गृहजिल्ला भएकाले पनि यहाँको जिल्ला नेतृत्वमा उनीहरूको प्रभाव बढी रहने गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *