साथी मार्ट’को दूतमा राजेश हमाल नियुक्त, भन्छन् : स्वदेशी उत्पादन विदेशीभन्दा गुणस्तरीय

काठमाडौं। छोटो समयमा देशका विभिन्न ठाउँमा ८५ भन्दा बढी आउटलेट विस्तार गरिसकेको ‘साथी मार्ट’ को ब्रान्ड एम्बेस्डरमा अभिनेता राजेश हमाल नियुक्त भएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा ‘साथी मार्ट’ का फाउन्डर तथा सीइओ सागर पोखरेल र हमालबीच कागजी सम्झौता भएको हो । अब हमालले विभिन्न माध्यमबाट ‘साथी मार्ट’ को प्रचारप्रसार गर्नेछन् ।

मार्टका सीइओ पोखरेलले हमालका कारण ‘साथी मार्ट’ लाई ब्रान्डिङ गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने- ‘रिटेल व्यवसायको एउटा ब्रान्डले फिल्म क्षेत्रको एउटा ब्रान्डससँग सहकार्य गर्न पाउनु खुसीको कुरा हो । नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको रिटेल व्यवसायको बजार छ भन्ने सन्देश दिनका लागि पनि उहाँ राजेश हमालको माध्यमबाट ठूलो सहयोग पुग्छ भन्ने हामीले विश्वास लिएका छौं ।’

त्यस्तै, अभिनेता हमालले सार्वजनिक व्यक्ति भएपछि कुनै उत्पादन र कम्पनीमा जोडिँदा त्यसको विश्वसनियता र उद्देश्य के हो भन्ने कुराले महत्त्व राख्ने बताए । ‘साथी मार्ट’सँग आफू जोडिनुको कारणबारे उनले कार्यक्रममा भने, ‘यो कम्पनीको उद्देश्य र विश्वसनियता राम्रो भएकाले नै म ब्रान्ड एम्बेस्डरको रुपमा आवद्ध भएको हुँ । अहिलेको अवस्थामा रिटेलिङ सपिङ्ग हरेक व्यक्तिको आवश्यकतामा पर्छ । कसरी सबैको आवश्यकतालाई सहज र सजिलोसँग परिपूर्ति गर्ने भन्नेमा ‘साथी मार्ट’ को उद्देश्यबाट म प्रभावित छु ।’

‘स्वदेशी उत्पादन भनेपछि क्वालिटीमा कम्प्रोमाइज हुन्छ भन्ने हामी नेपालीहरुको सोचाइ छ । तर, त्यो धेरै ठूलो भ्रम हो । स्वदेशमा उत्पादन हुने कति चिजहरु विदेशमा उत्पादन हुने चिजभन्दा धेरै गुणस्तर हुन्छन् । यसैले हामी सबैले स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नुपर्छ,’ हमालले भने ।

काठमाण्डौमा मात्र मार्ट सफल हुन सक्छ भन्ने परम्परालाई हटाउँदै ‘साथी मार्ट’ सुरुवातको १६ महिनामा सातै प्रदेशका शहरमा सात दर्जन बढी आउटलेट सञ्चालन गर्दै काकडभित्तादेखि जिरीसम्म पुग्न सफल भएको ‘साथी मार्ट’ ले यस वर्षभित्र तीन सय प्रतिशत विक्री बढाउने लक्ष्य लिएको छ । आगामी तीन वर्षभित्र एक हजार आउटलेट खोल्ने लक्ष्य राखेको यो मार्टले ‘मेड इन नेपाल’ कलेक्सनलाई जोड दिएको सिइओ पोखरेलले बताए ।

‘साथी मार्ट’ ले विनालगानी व्यापार गर्न सकिने गरी ‘साथी मार्ट एफिलिट स्टार्टअप’ प्लान पनि सुरु गरेको छ । यसबाट कम्तीमा ३० हजारदेखि ५० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य ‘साथी मार्ट’ को छ । जस अन्तर्गत साथी प्रडक्सनका उत्पादन र साथीमार्टमा उपलब्ध अन्य सामान रेफर गरि तिस प्रतिशतसम्म आम्दानी गर्न सकिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *