लिङदेनलाई कमल थापाको पत्र : राजसंस्थामाथि छानविन गर्न समिति बनाउनुस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले पूर्व राजा र निर्मल निवासमाथि पार्टीले छानविन गर्नुपर्ने माग गरेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई पत्र लेख्दै थापाले राजसंस्थाद्वारा पार्टीको महाधिवेशनमा हस्तक्षेप गरिएको आरोपसहित छानविन माग गरेका हुन् ।

थापाको तीन पृष्ठ लामो पत्रमा राजसंस्थाको हस्तक्षेपको भत्र्सना गर्दै निष्पक्ष छानविन समिति बनाउन माग गरिएको छ ।

‘राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउने चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीभित्र बहस सुरु गर्नुहोस,’ थापाले पत्रमा भनेका छन् ।

यो विषयको निराकरण नभएसम्म पार्टीले कुनै गति लिन नसक्ने थापाको भनाइ छ ।

पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने राजालाई बोकेर हिँड्ने नैतिक धरातल समाप्त भएको पनि थापाले बताएका छन् ।

उनको पत्रमा भनिएको छ, ‘पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासको पछिल्लो कारवाहीले मेरो मूल्य मान्यताको आधार र धरोहर एकैपटक तहसनहस भएको छ । राजा बोकेर हिँड्ने राप्रपाको नैतिक धरातल समाप्त भएको छ ।’

पार्टीको आन्तरिक मामिलामा निर्मल निवासको हस्तक्षेप यो पहिलो घटना नभएको थापाले बताएका छन् । २०७४ सालमा पार्टी फुटाउन र विगत केही समयदेखि भजनमण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने तथा राप्रपाका बारेमा भ्रम सिर्जन गराउने कार्य निर्मल निवासबाट हुँदै आएको उनको आरोप छ ।

‘निर्मल निवासको अगाडि अब कोही पनि सुरक्षित छैन,’ थापाले भनेका छन्, ‘तपाई पनि हुनुहुन्न ।’

अब पार्टी नेतृत्वमा आउन चाहनेले पार्टी संगठनमा योगदान पुर्याएर वा कार्यकर्ताको मन जितेर भन्दा निर्मल निवासका सचिवहरुको चाकडी गर्नुपर्ने अवस्था सिर्जना गर्न खोजिएको उनको आरोप छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *