कर्णाली एमालेले पायो पहिलोपटक भूगोलकै इन्चार्ज, कार्यकर्ता खुशी

सुर्खेत । नेकपा एमालेको इतिहासमा पहिलोपटक कर्णालीले प्रदशकै भूगोलबाट इन्चार्ज पाएको छ । एमालेको केन्द्रीय समितिको बैठकले एमालेका नेता यामलाल कँडेललाई प्रदेश इन्चार्ज तोकेसँगै कर्णालीले पहिलोपटक भूगोलकै इन्चार्ज भएको हो ।

यसपटक कर्णालीबाट पार्टीको स्थायी कमिटीमा दुइजना पर्न सफल भएका छन् । एमाले नेता गोरख वोगटी र कँडेल दुवैजना स्थायी कमिटीमा परेपछि पदाधिकारी खोजेका कर्णालीका एमाले कार्यकर्ता खुशी भएका छन् ।

‘हामीले पदाधिकारी नै मागेका थियौं । कर्णालीको इतिहासमा हामीले यामलाल कमरेडलाई सचिव भएर रेकर्ड राख्न चाहेका थियौं’, एमालेका केन्द्रीय सदस्य दल रावल भन्छन्, ‘तर पहिलोपटक कर्णालीमा हामीले आफ्नै भूगोलको नेताबाट परिचालित हुने अवसर पाएका छौं । यो गर्वको कुरा हो ।’

पार्टीको स्थायी कमिटीमा परेका नेता कंडेल इन्चार्जसमेत भएपछि विजेता भएको महसुस गरिएको राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्य एवम सुर्खेत इन्चार्ज कमल खड्का बताउँछन् ।

‘पार्टी एकताको मर्म र भावनाअनुसार कर्णालीले पदाधिकारी पाएन तथापि इन्चार्ज पाएपछि हामीलाई पार्टीले न्याय दिएको महसुस गरेका छौं’, उनी भन्छन्, ‘त्यागी, कर्तव्यनिष्ठ, इमान्दार नेता इन्चार्जको रुपमा पाउनु हाम्रो लागि खुशीको कुरा हो ।’ उनले कर्णालीमा इन्चार्ज कंडेल भएसँगै एमाले गुटविहीन रुपमा अघि बढ्ने दाबी समेत गरे ।

महाधिवेशनअघि कर्णालीबाट ११ जना केन्द्रीय सदस्य थिए । तीमध्ये यामलालको पक्षमा १० जनाले पदाधिकारीमा जानुपर्ने भनेर लविङ गरेपनि एक जनाले भने यामलाललाई सचिव बनाउन हुँदैन भनेर लविङ गरेका थिए ।

‘कर्णाली एमालेले आफ्नै भूगोलबाट इन्चार्ज पाउनु यसअघि फलामको चपाएसरह थियो । योपालि नेता कंडेल इन्चार्ज बन्नु हाम्रो लागि गौरवको कुरा हो’, एमाले केन्द्रीय सदस्य मोहनमाया ढकाल भन्छिन् ।’

यसअघि कर्णालीमा अन्य प्रदेशका एमाले नेताहरुले इन्चार्जको भूमिका निर्वाह गर्दै आएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *