पूँजी बजारबारे प्रचण्डको टिप्पणी : संसारकै धन एकठ्ठा गर्ने योजना छ, माओवादीले लड्नुपर्छ (भिडिओ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पूँजीको लगानी पूँजीबजारमा हुनु साम्राज्यवादको विकसित रुप भएको टिप्पणी गरेका छन् । पूँजी बजारको विषयमा पार्टीको दस्तावेजमा नै समावेश गराउने योजना रहेको उनले बताए ।

नेपालको सेयरबजार निरन्तर ओरालो लागिरहेको समयमा प्रचण्डले यस्तो सार्वजनिक अभिव्यक्ति दिएका हुन् । माओवादी केन्द्रका सबै प्रदेशको सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै उनले असान्दर्भिकरुपमा सेयरबजारबारे टिप्पणी गरेका थिए ।

एकाधिकार पूँजीवाद र संशोधनवाद जोडिएर वित्तीय एकाधिकार पूँजीवादमा भूमण्डलीकृत पुँजीवाद बन्दै गएको भन्दै उनले यसलाई निस्तेज गर्नुपर्नेमा जोड दिए । यसविरुद्ध लड्ने जिम्मेवारी माओवादीको भएको उनले बताए ।

अध्यक्ष प्रचण्डले शेयर बजारप्रति लक्षित गर्दै पहिले पहिले पूँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुने गरेको तर, अहिले पूँजी वा दोश्रो बजारमा हुनु वित्तीय पूँजीवादको विशेषता भएको उल्लेख गरे ।

नेपाललगायत विश्वभर नै पूँजीको लगानी धितोपत्र, सट्टाबजार, आईएमएफ, विश्व बैंक र एसियाली बैकहरुमा हुने गरेको उनको भनाइ छ ।

प्रचण्डको भनाइको सार यस्तो थियो

पूँजीको लगानी पूँजीमा हुनु साम्राज्यवाद विकसित हुनु हो । उद्योग र उत्पादन क्षेत्रमा पूँजीको लगानी नहुनु नै वित्तीय पूँजीवादको विशेषता भएको छ । अहिले धितोपत्र बोर्ड, सत्ता बजार, आईएमएफ, विश्व बैंक, एसियाली बैंक लगायतमा लगानी हुन्छ ।

हामीले यी बैंकहरुले पैसा जम्मा गरेर यताउता लगानी गर्दछन् भन्ने गरेका छौं । तर, त्यस्तो होइन । यसरी शेयर बजारमा लगानी गर्नु साम्राज्यवादका विकसित रुप हुन् । यसरी वित्तीय एकाधिकार पूँजीवादलाई बलियो बनाएर विश्वका सीमित पूँजीपतिहरुको हातमा संसारकै धन एककठ्ठा गर्ने योजना हो ।

यसरी विश्वको पैसा सीमित पूँजीपतिहरुले हातमा लिएर ८० प्रतिशत जनतालाई भोको र नाङगो राख्ने प्रणाली पूँजीबजार हो । पूँजीबजारमा लगानीको विकास र विस्तारलाई हामीले परास्त गर्नु सक्नु पर्छ ।

पूँजीबजारबाट पूँजीपतिहरुले सिधै पूँजीबाट पूँजी लिने गर्दछ । अब पूँजीको लगानी उत्पादनमा हुँदैन । धितोपत्रमा र सत्ता बजारमा हुन्छ । बैंकहरुले सिधै घरजग्गा किनबेचमा लगानी लगाउँछन् । घरजग्गाको कारोबारबाट सिधै पैसा आउने गर्दछ । थोरै लगानीमा छोटो समयमा अबौ कमाउने गरेका छन् । अहिले विश्वभर नै शेयर बजारमा लगानी बढ्न थालेको छ ।

विश्वभर नै यो क्षेत्रमा पूँजी लगानी बढ्दै गएकाले यसको अध्ययन अनुसन्धान र विश्लेषण गर्नु जरुरी छ । यस प्रकारमा विकृतीको विष्लेषण गरेर यससँग लड्ने तरिका खोज्ने अभिभारा माओवादीको हो । यसको अनुसन्धान नगरेसम्म देशमा, मुलुकको अर्थतन्त्रमा उज्यालो पनि आउँदैन । 

Comments

2 responses to “पूँजी बजारबारे प्रचण्डको टिप्पणी : संसारकै धन एकठ्ठा गर्ने योजना छ, माओवादीले लड्नुपर्छ (भिडिओ)”

  1. Mohan panta Avatar
    Mohan panta

    Maobadi parti ko binas kal aaun lagexa.

  2. Anugya panta Avatar
    Anugya panta

    Binas kal ma yestai buddhi aauxa, party binas ko lagi ajhai 2/4 wota yestai kura garnu hola . Hamro hisab kitab election ma hunexa prachanda jiu.

Leave a Reply

Your email address will not be published. Required fields are marked *