‘गठबन्धनका सूत्रधार रामचन्द्र हुन्, एमालेविरुद्ध तीनै तहका चुनावमा संयुक्त लड्नुपर्छ’

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले अहिलेको सत्ता गठबन्धनलाई राष्ट्रियसभासम्म मात्र नभएर आगामी तीनै तहका निर्वाचनसम्म लैजानुपर्ने बताएका छन् । एमालेको दम्भ र अधिनायकवादी शासन रोक्न अहिलेको गठबन्धन संघ र प्रदेशसम्म मात्र नभएर स्थानीय तहको चुनावसम्मै लैजानुपर्ने बताएका हुन् ।

नेपाल प्रेससँगको नेपाल टकमा भिडिओ अन्तर्वार्ताका क्रममा नेपाली कांग्रेसका नेता समेत रहेका नेपालीले सत्ताका लागिमात्र गठबन्धन गरेको भन्ने कुराले जनतामा नकारात्मक सन्देश जाने भन्दै चुनावसम्म गठबन्धन कायम राख्नुपर्ने बताए ।

उनले भने, ‘नेकपा एमालेको विरुद्ध बनेको यो गठबन्धन सत्ताको लागिमात्र हो भन्ने पार्नु हुँदैन । अहिले पनि एमालेले लोकतन्त्रको आवरणमा अधिनायकवादको प्रयास गरिरहेको छ । त्यसलाई रोक्न पनि अहिलेको गठबन्धनलाई कायमै राख्नुपर्छ । आउने तीनै तहका चुनावमा गठबन्धन गर्नुपर्छ । यद्यपि यो सजिलो विषय होइन ।

कांग्रेसभित्र चुनावसम्म गठबन्धन गर्ने कि एक्लै एमालेसँग प्रतिस्पर्धा गर्ने भन्ने दुईधार रहेको भन्दै मुख्यमन्त्री नेपालीले सभापतिमा जसले जिते पनि गठबन्धन भने कायमै रहने दाबी गरे । उनले देउवा नजिते गठबन्धन भत्किने र केपी ओली पुनः सत्तामा फर्किने भन्ने देउवानिकट नेताहरुको दावी भने चुनावी खपतका लागिमात्र भएको बताए ।

नेपालीले भने, ‘हाम्रो सभापति त सुरूमा कम्युनिष्टहरूमा गठबन्धन गर्ने कुराको विपक्षमै उभिनुभएको हो नि । रामचन्द्र पौडेलले नै हो प्रतिनिधिसभा विघटनविरुद्ध ओलीविरुद्ध गठबन्धन गर्ने प्रस्ताव राखेको । त्यसमा देउवाजी पछि प्रधानमन्त्री बन्ने बेलामामात्र आउनुभएको हो । त्यसैले देउवा हारे गठबन्धन भत्किन्छ भन्ने कुरा चुनावी स्टन्टमात्र हो ।

मुख्यमन्त्री नेपालीले गठबन्धनलाई राष्ट्रियसभा चुनावसम्म वा सरकार गठनमा मात्र सिमित राख्दा माओवादी र नेकपा एसमाथि धोखा हुने बताए । माधव नेपालले ठूलो जोखिम मोलेर सत्ता गठबन्धन बनेकोले गठबन्धन चुनावसम्म नलैजादा उनको दल संकटमा पर्ने नेपालीको भनाइ छ ।

कांग्रेसको पहिलो मुख्यमन्त्री नेपालीले कम्युनिष्ट पार्टीहरूसँग कांग्रेसको सहकार्य लामो भए पनि अहिले माओवादी र नेकपा एससँगको गठबन्धन कम्फरटेबल रहेको बताए । एमाले कांग्रेसको मुख्य प्रतिस्पर्धी समेत भएकाले एमाले भन्दा अरु कम्युनिस्ट पार्टी कांग्रेसलाई सहज भएको उनले बताए ।

कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार बनिरहेका नेपाली रामचन्द्र पौडेलनिकट नेता हुन् । उनले संस्थापनइतर पक्षबाट साझा उम्मेदवारको प्रयास जारी नै रहेको भन्दै पौडेलमाथि न्याय हुनुपर्ने बताए । शशांक कोइरालाले समेत पौडेललाई छाडेकाले त्यहिँबाट सहमति खोजिनुपर्ने बताए ।

प्रस्तुत छ,

गण्डकीका मुख्यमन्त्री पोखरेलसँगको भिडिओ अन्तर्वार्ता

Comments

3 responses to “‘गठबन्धनका सूत्रधार रामचन्द्र हुन्, एमालेविरुद्ध तीनै तहका चुनावमा संयुक्त लड्नुपर्छ’”

  1. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    जनता एकातिर यस्ता महत्वकांक्षी अर्कोतिर समय बलवान् छ है ।

  2. Darshan Nepali Avatar
    Darshan Nepali

    khoi ta रामचन्द्र poudel budha?

  3. ksp pyl Avatar
    ksp pyl

    यी नालायक काम केही नगर्नेलाई जनताले छाेडनेवाला छैनन्। गठबन्धन नभए एमालेले सिध्याउँछ भनेर यिनकाे साताे गएछ । अब बुझ कि मिलेर आए पनि एमालेले तिमीहरूलाई सिध्याउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *