विष्णु पौडेलको निर्वाचन क्षेत्रबाट दर्जन नेताहरु केन्द्रीय सदस्य आकांक्षी

रूपन्देही । नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलको निर्वाचन क्षेत्र रूपन्देही-२ बाट करिव एक दर्जन नेताहरू केन्द्रीय सदस्यका लागि आकांक्षी भएर प्रचारमा लागेका छन् ।

रूपन्देही-२ बाट महाधिवेशन प्रतिनिधि बनेका नेताहरू भोजप्रसाद श्रेष्ठ, भूमिश्वर ढकाल, शिवराज सुवेदी, सावित्रा अर्याल, कमल गौतम, गोमा आचार्य, बासुदेव घिमिरे, नेत्र पन्थी, कमला विश्वकर्मालगायतका नेताहरु दशौं महाधिवेशनमा केन्द्रीय सदस्यका लागि प्रचारमा जुटेका हुन् ।

अहिले केन्द्रीय कमिटीमा रहेका लिला गिरी, दधिराम न्यौपाने, एकराज बिश्वकर्मा र खिमलाल भट्टराई पनि दोहोरिने भएपछि कसलाई अगाडि बढाउने भनेर नेतृत्वलाई सकस परेको छ । आकांक्षीहरू आफूलाई अगाडि बढ्न स्वीकृति माग्न नेता विष्णु पौडेललगायतका नेताहरूलाई पछ्याइरहेका छन् ।

एकैठाउँबाट धेरै नेताहरू प्रतिस्पर्धामा जाँदा समेटिन अफ्ट्यारो पर्ने भन्दै नेतृत्वले मिलेर अगाडि बढ्न सुझाव दिएको छ ।

उपमहासचिव पौडेल महासचिवमा जाने पूर्ण तयारी गरेका छन् । त्यसैले पनि आफ्नो उम्मेदवारीलाई समस्या नहुने गरी नेताहरूलाई अगाडि बढ्न सुझाएका छन् ।

रूपन्देहीबाट अहिले उपमहासचिव रहेका नेता घनश्याम भुसाल उपाध्यक्ष, स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा र राधा ज्ञवाली पनि दलित तथा महिला प्रतिनिधित्व पदाधिकारीमा हुनुपर्ने भन्दै अगाडि बढ्ने तयारी गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *