नारायणी किनारमा चहलपहल, यसरी भइरहेको छ तयारी (तस्बिरहरू)

चितवन । नेकपा एमाले महाधिवेशनस्थल चितवनमा नेताहरुकाे चहलपहल बढेकाे छ । १० म‌ंसिरमा उद्घाटन हुने महाधिवेशनमा सहभागी हुन नेताहरु चितवन पुग्ने क्रम जारी छ ।

संघीय राजधानीसहित देशका विभिन्न भागबाट आएका नेता-कार्यकर्ताको नारायणी किनारमा भीड लागेको छ ।

एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्र हुने नारायणी नदी किनारमा अस्थायी संरचना निर्माणको काम ७५ प्रतिशत सकिएकाे छ ।

स्वयमसेवक परिचालन समितिका संयोजक तथा मञ्च व्यवस्थापनमा खटिएका नेता विनोद श्रेष्ठले मञ्च सजावटको काम धमाधम भइरहेको बताए ।  उनका अनुसार करिब ५ सय जना बस्न मिल्ने गरी ४ खण्डको आकर्षक मञ्च निर्माण भैरहेको छ ।

मञ्च निर्माणमा १० जना इञ्जिनियर सहित करिब २ सय जना खटिएका छन् । डिजाइनर महेन्द्र श्रेष्ठले मञ्चको डिजाइन गरेका हुन् । १६ फिट अग्लो भागमा आर्क डिजाइन गरिएको छ ।

लंग लाइभ सिपिएन युएमएल लेखिएको ठुलो फ्लेक्समा चितवन राष्ट्रिय निकुञ्जमा पाइने गैँडा, हात्ती,बाघ, जरायो लगायतका चित्रहरु राखिएका छन् । कुर्सीहरु राख्न प्लाई राख्ने काम भैरहेका छन् । अग्रभागमा जनताको बहुदलीय जनवाद–जिन्दावाद लेखिएको छ ।

मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको टिमले १० दिन लगाएर गैँडाको मस्कट तयार पारेको छ । चितवन एकसिंगे गैँडाका लागि परिचित भएकाले महाधिवेशनको लोगोमा गैँडाको मस्कट राखिएको एमालेले जनाएको छ ।

नारायणी पुलमा ‘एमाले जिवन्त रहोस्’ लेखिएका फ्लेक्सम राखिएका छन् । तस्बिर खिच्दा जनताको बहुदलीय जनावाद-जिन्दावादलाई फ्रेममा राख्न मिल्ने गरी सेल्फी प्वाइन्टहरु बनाइएका छन् ।

नारायणी किनारमा २५ वटा सेल्फी प्वाइन्टहरु हुनेछन् । बाढीले खाल्डाखुल्डी पारेको चौरमा बालुवा, माटो राखेर सम्याउने काम भइरहेको छ ।

उद्घाटनसत्रमा देशभरबाट ५ लाख जनता सहभागी गराउने एमालेको तयारी छ । बन्दसत्र हुने सौराहा स्थित होटल सेभेन स्टार अस्थायी हल (डोम) निर्माण कार्य भइरहेको छ । करिब ३ हजार सो हलमा बस्न मिल्नेछ ।

मञ्च व्यवस्थापन, उद्घाटन स्थल र बन्दसत्र हुने क्षेत्रमा बनाइने अस्थायी संरचनाहरु निर्माणमा करिब ५० लाख खर्च लाग्ने अनुमान गरिएको श्रेष्ठले बताए ।

 

Comments

One response to “नारायणी किनारमा चहलपहल, यसरी भइरहेको छ तयारी (तस्बिरहरू)”

  1. Manus Avatar
    Manus

    पचास लाख खर्च गरेर अधिवेशन गर्नु भन्दा त्यो पैसा के निकट गाउँ को व्यवस्था गर्नु, कर्णाली नदीमा पुल लगाई दिनु, दुखी गरीब को रोजीरोटीको व्यवस्था मिलाउनु , अहिले हुम्ला जुम्ला को ठाउँमा खाना पुगेको छैन त्यसको व्यवस्था गर्नु अधिवेशन को जरूत छैन जनता को मन जित्यो भने सरकार कहिले नी ढल्दैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *