भरतपुर । आफूलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गर्न लागेको टिप्पणी गरिरहेका माओवादी अध्यक्ष प्रचण्डले एमाले महाधिवेशनका पूर्व सन्ध्यामामा आफ्नो शक्ति प्रदर्शन गर्दैछन् ।
पछिल्लो समय निर्वाचन क्षेत्रमै केन्द्रित रहेका प्रचण्डले छोरी रेणु मेयर रहेको भरतपुर महानगरपालिकाको आयोजनामा आज ‘समृद्ध भरतपुरको लागि विकास बहस’मार्फत ‘राज्यशक्ति’को प्रदर्शन गर्न लागेका हुन् ।
प्रचण्डको निर्वाचन क्षेत्रमा संघीय सरकार र वागमती प्रदेशका समेत गरी आधादर्जनभन्दा बढी मन्त्री उपस्थित भएर विकास बहसमा भाग लिँदैछन् भने दुईवटा प्रदेशका प्रमुखसमेत अहिले चितवनमै छन् ।
अर्थमन्त्री जनार्दन शर्मा, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, उर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा, महिला वालवालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मी, विना विभागीयमन्त्री उमेश श्रेष्ठ र वागमती प्रदेशका आन्तरिक मामिलामन्त्री कृष्ण खनाल प्रचण्डको निर्वाचन क्षेत्रमा पुगेका छन् ।
त्यस्तै गण्डकी र लुम्बिनी प्रदेशका प्रमुखहरु पृथ्वीमान गुरुङ र अमिक शेरचनसमेत चितवनमै छन् । उनीहरु दुवैजना चितवनका बासिन्दा हुन् ।
विकास बहसमा मन्त्रीहरुका साथै सरोकारवाला मन्त्रालयका सचिव, विभागीय महानिर्देशकसहित उच्च पदस्थ सरकारी अधिकारीहरु समेत सहभागी हुँदैछन् ।
भरतपुरको विकासका लागि विभिन्न योजनाहरुको कार्यान्वयन, वजेट व्यवस्थापन लगायतका विषयमा बहस हुने सो कार्यक्रमलाई प्रचण्डको निर्वाचन केन्द्रित शक्ति प्रदर्शनका रुपमा लिइएको छ ।
भरतपुरकी मेयर रेणु दाहालले विस्तारको प्रक्रियामा रहेको भरतपुर विमानस्थल, नारायणी तटबन्धन, क्रिकेट रङ्गशाला, महानगरको प्रशासनिक भवन, शक्तिखोर औद्योगिक क्षेत्रलगायत महत्वपूर्ण पूर्वाधारका विषयमा छलफल गर्न लागिएको बताएकी छन् ।

Leave a Reply